कर्णाली प्रदेशमा पछिल्लो समय स्याउ उत्पादनमा बृद्धि हुन थालेको छ । केही वर्षयताका तथ्यांक हेर्ने हो भने कर्णाली स्याउ उत्पादनको हब बन्दै गएको देखिन्छ । कर्णालीका माथिल्ला जिल्लाहरुमा सडक सञ्जाल पुगेसँगै किसानहरु विस्तारै स्याउ खेतीमा आकर्षित हुँदै गएका छन् । स्याउ खेतीको सम्भावना राम्रो भएपनि किसानले भने उपूक्त प्राविधिक ज्ञान तथा सीपको अभावले लगानी लगानी अुनसारको प्रतिफल लिन सकेका छैनन् । कर्णालीका स्याउ उत्पादन हुने क्षेत्रका कृषकले पर्याप्त बजार र उचित मूल्य पाए पनि उत्पादन भने लिन सकेका छैनन् । कर्णालीमा उत्पादित स्याउले पर्याप्त रूपमा बजार पाए पनि असहज सडकका कारण समयमै पठाउन सहिने अवस्था छैन । कर्णालीका स्याउ उत्पादन हुने क्षेत्रमा चौबीसै घण्टा सवारी चल्न सक्ने सडक बनाउनतर्फ राज्यले ध्यान दिन सकेको भए स्याउमा लगानी गरेका कृषकहरूले राम्रो प्रतिफल लिनेमा दुई मत छैन ।
कर्णाली कृषिमा ठुलो सम्भावना बोकेको क्षेत्र हो । यहाँको ठुलो जनसंख्या कृषिमा निर्भर छ । तर, वास्तविकतामा भने अधिकांश किसान परम्परागत खेतीबाट माथि उठेन सकेका छैनन् । जसका कारण कर्णालीको कृषि निर्वाहमुखी भइरहेको छ । यस अवस्थामा, प्रविधिमा आधारित सीप सिकाएर किसानलाई सशक्त बनाउनु अपरिहार्य देखिन्छ । प्रविधिको सही प्रयोगले उत्पादन क्षमता वृद्धि मात्रै होइन उत्पादित वस्तुको गुणस्तरमा पनि सुधार आउँछ । प्रविधिमा आधारित सीप सिकाउने क्रममा किसानलाई आधुनिक खेती प्रणाली, जलवायु परिवर्तनको असर, मल–बीउको वैज्ञानिक प्रयोग, डिजिटल कृषि, अनलाइन बजार पहुँच र कृषि अनुसन्धान केन्द्रसँगको सम्पर्क बढाउने जस्ता विषयमा जानकारी दिनु आवश्यक हुन्छ । यसले गर्दा किसानलाई कृषि उत्पादनमा सुधार गर्न र बजारको प्रतिस्पर्धामा टिक्न मद्दत पुग्छ । उदाहरणका लागि, जैविक कृषि प्रविधि, साना र ठूला प्लान्टहरूमा प्रयोग हुने मेसिनरी, टनेल फार्मिङ, ड्रिप सिँचाई, मल÷बीउको डिजिटल प्रणाली र आधुनिक कृषि यन्त्रको प्रयोगबारे जानकारी गराउँदा उत्पादनलाई स्तरिय बनाउन मद्दत पुग्दछ ।
किसानलाई सीपमूलक तालिम दिनु, सरकारले स्थानीय तहमा कृषि विशेषज्ञ खटाउनु र आवश्यक स्रोत उपलब्ध गराउनु सरकारको दायित्व हो । कर्णालीका विभिन्न भूगोल र मौसम अनुसार कृषिको प्रकृति फरक छ । तसर्थ, प्रविधिमा आधारित सिप तालिम किसानको आवश्यकता र भूगोल अनुसार फरक हुनु जरुरी छ । यस्ता तालिमले विभिन्न मौसममा उत्पादन गर्न सकिने बालीहरूको छनौट, फसल संरक्षण, र रोग नियन्त्रणका उपायहरूबारे जानकारी दिन्छन् । यसले गर्दा खाद्यान्न अभावको समाधान गर्न पनि योगदान पुग्छ ।
यसका अतिरिक्त, युवा पुस्तालाई कृषिमा आकर्षित गर्नका लागि प्रविधिमा आधारित सीप तालिम अत्यावश्यक छ । आधुनिक युवा प्रविधिमा अब्बल छन् र उनीहरूलाई कृषि क्षेत्रमा प्रविधिको प्रयोग गर्न सिकाउने हो भने यसले कर्णालीको ग्रामीण अर्थतन्त्रमा पनि सकारात्मक सुधारमा सहयोग पु¥याउँछ । सरकारले कृषि बजेटमा वृद्धिका साथै कृषि क्षेत्रमा अनुसन्धान र विकासमा लगानी गर्नुपर्छ । प्रविधि र ज्ञानको आदानप्रदान गर्न सकेमा कर्णालीको कृषि क्षेत्रले छिट्टै उन्नतिको बाटो समाउनेछ ।
युग संवाददाता । सुर्खेत । २६ कार्तिक २०८१, सोमबार १४:२३