नेकपा (एमाले) ले दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । यद्यपि यसको औपचारिकता दिन भने बाँकी रहेको एमालेले जनाएको छ ।
शाही कात्तिक २७ गते मात्रै एमाले फर्किएका हुन् । उनी यसअघि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा थिए ।
एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका शाहीलाई गाउँपालिकाको अध्यक्षको टिकट दिने शर्तमा एमालेले पार्टीमा भित्र्याएको हो ।
शाही २०७४ सालमा पनि महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
शाही त्यतिबेला ३ हजार ५२२ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर शाहीले २ हजार ९०० मत ल्याएका थिए ।
शाही २०७९ को निर्वाचनमा पनि अध्यक्षका उम्मेदवार थिए । तर त्यो चुनावमा भने उनी तेस्रो भए । गत निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लक्ष्मण गुरूङ अध्यक्ष निर्वाचित भएका थिए । उनले २ हजार ९७९ मत ल्याए ।
निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत ल्याएका थिए ।
त्यतिबेला तेस्रो भएका शाहीले २ हजार २६८ मत ल्याए ।
यस पटक शाहीको सम्भावना बलियो देखेर जिल्ला कमिटीले उनैलाई सर्वसम्मत उम्मेदवार बनाएको केन्द्रीय सदस्य आचार्यले बताए ।
गाउँपालिका अध्यक्ष गुरूङको २०७९ माघ २७ गते निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
त्यहाँ कांग्रेसले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाशबहादुर बुढालाई उम्मेदवार बनाउने टुंगो लगाएको छ ।
आगामी मंसिर १६ गते ४४ स्थानका लागि स्थानीय तहको उपनिर्वाचन हुँदैछ । मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
एमालेले यसपटक सर्वसम्मत रुपमा उम्मेदवार छानेको केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।
एमालेले कात्तिक २८ गतेभित्र उम्मेदवार सिफारिस गरेर माथिल्लो कमिटीमा पठाउन भनेको थियो । तलबाटै अधिकांश ठाउँमा एकल नाम सिफारिस भएर आएकाले सर्वसम्मत उम्मेदवार छानिएको उनले बताए ।
युग संवाददाता । सुर्खेत । २९ कार्तिक २०८१, बिहीबार १५:११