अहिले गाउँमा नुन, तेल, खाद्यान्नलगायत आवश्यक बजारिया सामान किन्न धेरै टाढा जानै पर्दैन । सकभर गाउँघरको पसलमा पाइन्छ । त्यहाँ मिलेन भने अलि पर खुलेका ससानादेखि ठूला बजारमा सबै सामान किन्न पाइन्छ । धेरै टाढा जानै पर्दैन । यति मात्र होइन, अनलाइनमा अर्डर गरेका कुरियरको सहायताले सामान गाउँसम्म पु¥याउने गरेको देखिन्छ । हाम्रा गाउँहरु सडक सञ्जालमा जोडिएपछि उहिलेको ‘हाट’ भन्ने शब्द एकादेशको कथाजस्तै भएको छ । अनि ट्रक र ट्रयाक्टरबाट अनलोड गरिएका सामान ओसारपसार गर्ने जमानामा हटेरु पनि हराईसकेका छन् । बलिष्ठ जिउ भएका क्विन्टलभन्दा बढी सामान बोक्ने हटेरुको चर्चा हुन छोडेको पनि बर्षौं भइसकेको छ । अनि डोकोभरी घिउ लिएर जाने र नून, मट्टीतेल, जिरामसला र लुगाफाटो बोकेर फर्किने हटेरु हिँड्ने बाटोको झन् गन्ती नै छैन । सडक सञ्जाल नपुगेको त्यस बखतमा हटेरु हिँड्ने मार्ग हाम्रो लाईफ्लाइन नै थिए । हटेरु हराए । त्योसँगै पश्चिम नेपालको एउटा हटेरु हिड्ने बाटो पनि हराएको छ ।
त्यो हो ६० को दशकसम्म साविक कर्णाली र भेरी तथा सेती अञ्चलका अधिकांश नागरिकहरु गाउँमा उत्पादित वस्तुको बिक्रीदेखि आवश्यक सामान खरिद गर्न पैदलै हिडेर त्यहीँ चिसापानी पुग्ने हटारु बाटो । सडक निर्माणको गति पहाड र हिमालसम्मै पुगेपछि कुनै बेलाको चर्चित चिसापानी बजारको अस्तित्व नै धरापमा छ । पैदल मार्च गर्ने गोरेटो बाटोमा अचेल गाडी गुड्ने सडक बनेको छ । चिसापानी भएरै राजापुरसम्म आवश्यक सामग्री लिन जानेहरुलाई घर आँगनमै सामान गाडीले पु¥याइदिने सुविधा दिइरहेका छन् । सुदूरपश्चिमबाट कर्णाली र कर्णालीबाट सुदूरपश्चिम जाने छोटो मार्ग हो बड्डीचौर–बावियाचौर–कुइने–चिसापानी सडक । सुदूपश्चिमकै अछाम, बाजुराबाट तराई पुग्न होस् वा पहाड पुग्ने छोटो मार्गपनि यहीँ हो । चिसापानी–जंगलघाट–मंगलसेन सडकको शुरुवात अछामका पञ्चायतकालिन नेता स्व. हरिप्रसाद भण्डारीले गरेका हुन् । तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य अछाममा गाडी पु¥याउने प्रतिबद्धता गरेका थिए । उनैले सडक मार्फत गाडी पु¥याउन नसकेपनि २०२४ सालमा अछाममा त्यही राजापुर हुँदै अछामको मंगलसैनसम्म बोकाएर गाडी पु¥याएका थिए । पैदलमार्ग सुकेपछि दाणे, स्यालेकरा, गोदेको सेरोफेरो, राहबल्ने, बासपानी, रिङ्गना, असुणेनी, साल्म, रातिमाटे, बसन्ती कुन्टालाई बढी धक्का महसुस भएको छ ।
चिसापानीबाट कैलालीकै कुइनेसम्म १२ किलोमिटर सडक हो । चिसापानी क्षेत्रको दुई किलोमिटर सडक कालोपत्रे छ । बाँकी पाँच किलोमिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कञ्चनपुरले ठेक्का लगाईसकेको हो । तर, सडक किनारामा रुख परेकाले अपेक्षाकृत निर्माणको काम गर्न सकेको छैन् । संघ, प्रदेश र स्थानीय सरकारले चिसापानी–बावियाचौर, जंगलाघाट–बडिमालिका जोड्ने छोटो मार्ग निर्माणमा विलम्ब गर्दा स्थानीयहरुले बेला बेला सडक मर्मत जस्ता अभियान चलाएर दवाव दिने गरेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट कर्णाली भित्र्ने र बाहिरिने सबैभन्दा छोटो सडक हो, चिसापानी–बावियाचौर सडक । कुईनेस्थित कर्णाली नदी र जामुमा रहेको भेरी नदीमा पक्की पुल निर्माणपछि सञ्चालनमा आएपछि त्रिदेशीय जोड्ने सडक छिटो निर्माण गर्न सरकारलाई दवाव बढेको हो । यहीँ सडक भएर कर्णालीका सुर्खेतसहित दैलेख, कालिकोट, जुम्ला, हुम्लाका नागरिकलाई सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जान र फर्किन छोटो हुन्छ । बावियाचौर–जंगलघाट सडक अझै स्तरोन्नति नभए तत्कालका लागि बड्डीचौरबाट कर्णाली राजमार्ग भएर यात्रा गर्न सहज हुनेछ । हिउँदको समयमा कैलालीबाट अछाम जाने सवारीहरु चिसापानीबाट सुर्खेत–दैलेख भएर अछामको कमलबजार र मंगलसैन पुग्ने गरेका छन् । अन्य समयमा चिसापानी–कोहलपुर सुर्खेत भएर बाहिरिने गर्छन् । सुदूरपश्चिम सरकारले अछाम खण्डको ५० किलोमिटर सडकलाई प्रदेश गौरवको आयोजनामा समावेश गरेको छ । अछामको गैरीटार–कमलजबार, तुर्माखाँद–जंगलाघाट सडक निर्माण तिव्र गतिमा भइरहेको छ । यो राजमार्ग निर्माणले कर्णाली तथा सुदुरपश्चिम जोड्न सजिलो हुनेछ । त्यसैले तिनै तहका सरकार सरकार मिलेर यसको निर्माणमा तिब्रता देउ ।
युग संवाददाता । सुर्खेत । २९ कार्तिक २०८१, बिहीबार १६:१७