कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक ५८ जना विद्यार्थी दिक्षित भएका छन् । कर्णाली प्रदेशको जुम्ला जिल्लामा वि.सं. २०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक ५८ जना विद्यार्थी हुनुलाई कर्णाली प्रदेश तथा पश्चिमका लागि स्वास्थ्य क्षेत्रको हब बन्न सक्छ भन्ने सन्देश दिएको छ ।
पश्चिम नेपालको गौरवको संस्थाका रुपमा प्रतिष्ठानलाई लिन सकिने यहाँका नागरिक अगुवा र बुद्धिजीविहरुले बताउने गरेका छन् । पछिल्लो समयमा पश्चिम नेपालको चिकित्सकीय हब बन्दै गरेको प्रतिष्ठानले पहिलो पटक विद्यार्थी दिक्षित भएक छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वशासित तथा स्वतन्त्र स्वास्थ्य विश्वविद्यालय हो । यहाँ जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन् । तत्कालीन कर्णाली अञ्चल अस्पताललाई स्तरोन्नति गरी कर्णाली र सुदूरपश्चिमका दुर्गम तथा पिछडिएका क्षेत्रका बासिन्दाको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा पहुँच बढाउने उद्देश्यले प्रतिष्ठानका लागि संसदले ऐन बनाएर स्थापना गरिएको हो ।
प्रतिष्ठानले हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु, बझाङ, बाजुरा, अछाम, सुर्खेत, दैलेख, रुकुम र सल्यान जिल्लाका अस्पताल तथा स्वास्थ्य चौकीहरूसँग सहकार्य गरी स्वास्थ्य सेवाको विस्तार र गुणस्तर वृद्धिमा योगदान लक्ष्यसहित स्थापना गरिएको थियो ।
स्थापना भएको पाँच वर्षपछि प्रतिष्ठानले विसं. २०७३ सालबाट एमबिबिएस अध्ययन अनुमतिको लागि प्रयास गरेको र प्रतिष्ठानले विसं. २०७८ फागुनमा एमबिबिएसका लागि २० सिटको सम्बन्धन प्राप्त गरेको थियो । त्यसअघि विभिन्न नौ वटा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएका थिए । कर्णाली प्रतिष्ठानमा ३०० शैयाको अस्पताल पूर्णरुपमा सञ्चालनमै रहेको छ ।
प्रतिष्ठानले चिकित्सा शिक्षामा एमबिबिएस तह पढाउन थालेको तीन वर्ष भएको उपकुलपति डा. मंगल रावलले बताए । ‘भारतको हिमाञ्चल प्रदेशका दुई जना विद्यार्थी एमबिबिएस पढ्दै छन् । उनीहरु महिला हुन् ।’ उनले भने, ‘प्रतिष्ठानमा हाल विभिन्न कार्यक्रममा तीन सय ५१ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये एक सय ३० जना एमबिबीएस तहमा, ५९ जना जनस्वास्थ्यको स्नातक तहमा र पाँच जना जनस्वास्थ्यकै स्नातकोत्तर तहमा छन् ।’ फार्मेसीको स्नातक तहमा ६१ जना र स्नातकोत्तर तहमा दुई जना र नर्सिङतर्फ विभिन्न तहमा ९४ जना अध्ययनरत छन् ।
स्थापनाको इतिहाँस
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि जुम्लाका पूर्व सांसद नरेश भण्डारीके महत्वपूर्ण भूमिका रहेको छ । २०६४ सालमा भण्डारी संबिधानसभाको सांसद भएर संसदमा पुगेका थिए । उनले जुम्ला तथा कर्णालीको स्वास्थ्य सेवाको कसरी सुधार गर्ने भनेर २०६६ सालमा जुम्लामा विशेषज्ञ सेवा दिने अस्पताल स्थापना गर्नुपर्छ भनेर केही नेता, बुद्धिजिवी, नागरिक अगुवाले छलफल सुरु गरे ।
सुरुमा भण्डारीको संयोजकत्वमा ‘अस्पताल स्थापनार्थ पहल समिति’ बन्यो । त्यसको सहसंयोजकमा बुद्धिजीवी वर्गबाट दलबहादुर महत भए र समितिका अन्य सदस्यमा दलका प्रतिनिधि, नागरिक अगुवा र बुद्धिजीवीहरु सहभागी थिए । जुम्लामा समिति गठन भएपछि काठमाडौंसम्म छलफल विस्तार भयो । काठमाडौंमा अनेक चरणमा भएको छलफलबाट अस्पताल मात्र होइन स्वास्थ्य विज्ञान प्रतिष्ठान नै स्थापना गर्नुपर्ने निष्कर्ष त्यो समितिले निकाल्यो ।
बिषेश गरेर कर्णाली र सुदुर माथिल्लो क्षेत्रमा उपचार, जनशक्ति उत्पादन र स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धान गर्ने संरचना आवश्यक छ भन्ने निष्कर्षका साथ प्रतिष्ठानको अवधारणा अघि बढेको प्रतिष्ठान स्थापनाका संस्थापक संयोजक नरेश भण्डारीले बताए । ‘स्वास्थ्य जनशक्ति उत्पादन गरेरै अघि बढनुपर्छ भन्ने निष्कर्ष पुग्यौं,’ उनले भने,‘त्यही भएर हामीले प्रतिष्ठान नै बनाउनुपर्छ भनेर हामी लाग्यौं ।’
हाल सर्वोच्च अदालतका न्यायाधीश रहेका टेकप्रसाद ढुंगाना त्यस बेला संसद सचिवालयमा सचिव रहेको र उनैले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन बनाउन विधेयकको अन्तिम खाका तयार पारेको भण्डारीले सम्झिए । ‘गैरसरकारी विधेयकका रुपमा २०६७ साउन २४ गते संसद सचिवालयमा दर्ता गराएका थिए,’ उनले भने, ‘उक्त विधेयकलाई पछि सरकारी विधेयकका रुपमा अघि बढाउने निर्णय भयो । तत्कालीन स्वास्थ्यमन्त्री कृष्णबहादुर महराले उक्त निर्णय गरेका थिए ।’
मन्त्रीपरिषदले २०६८ जेठ १८ गते उक्त विधेयकलाई शैद्धान्तिक स्वीकृति दिएको र विधेयकमाथि अनेक चरणमा छलफल भएको भण्डारीले बताए । ‘जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने कल्पना गर्नु पनि अनौठो थियो । कतिपयले त पागलपन ठानेका थिए,’ उनले भने, ‘धेरैले अति महत्वाकांक्षी योजना भनेका थिए । विधेयक पारित हुने विश्वास कसैलाई पनि थिएन ।’
अहिले आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएर कर्णाली तथा सुदुरपश्चिमका विभिन्न जिल्लामा स्वास्थ्य सेवाको पहुँच पुग्नु, यही नै एमबिबिएस तथा अन्य स्वास्थ्य क्षेत्रका बिषय अध्यायन भइरहेकोमा खुःसी लागेको भण्डारीले बताए । ‘यो सिङ्गो नेपाल, कर्णाली र सुदुरपश्चिमबासीको गौरबको बिषय हो,’ उनले भने,‘यसमा हामी सबैले कर्णालीमा स्वास्थ्य क्षेत्रमा फड्को मारेको रुपमा बुझ्न जरुरी रहेको छ ।’
कर्णालीवासीलाई घरमै उपचार सेवा पुगेको छः प्रधानमन्त्री ओली
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना भएर कर्णालीवासीको घर मै उपचार पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहको उद्घाटन कार्यक्रममा जुम्ला आइपुगेका प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रतिष्ठान जुम्लामा स्थापना भएसँगै बिरामीको उपचारका साथै अध्ययन गर्ने अवसर सृजना भएको छ । कर्णाली भनेको सुर्खेत मात्र नभएर त्यहाँभन्दा माथिल्लो भूभाग रहेको बताउदै कर्णाली अब निक्कै अगाडि बढी सकेको प्रधानमन्त्री ओलीले बताए ।
प्रतिष्ठानबाट कर्णालीका दश जिल्ला मात्र नभएर सुदूरपश्चिमका तीन जिल्ला गरी तेह्र वटा जिल्लाका बासिन्दाहरुले सेवा पाउने वातावरण तयार भएको उनले बताए । अब कर्णालीबासीले देशका ठूला शहरका सुविधा सम्पन्न अस्पतालमा सेवा लिन जान नपर्ने वातावरण तयार भएको बताउँदै प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीको इमानदारिताले गर्दा यो सफलता मिलेको प्रधानमन्त्री ओलीले बताए ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको राकम कर्णालीमा सय शैयाको अस्पताल चाँडै सञ्चालनमा ल्याइने बताएका छन् । ‘दैलेख लगायत आसपासका जिल्ला सेन्टर भएकाले अस्पताल बनाउने र प्रतिष्ठानले व्यवस्थापन गर्नेछ,’ उनले भने, ‘अस्पताल सञ्चालनमा आए सुदुपश्चिमका पाँच जिल्ला र कर्णालीका दैलेख, कालिकोट लगायतका जिल्लावासी लाभान्वित हुनेछन् ।’
कर्णाली राजमार्ग छेउमै पर्ने भएकाले पनि भइपरी आउने दुर्घटना लगायतका कुराहरुमा यथाशीघ्र घाइतेहरुले उपचार पाउने छन् । प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउन र गुणस्तरीय शिक्षा र सेवा प्रदान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए । ‘तपाईंहरुको मेहनतले आज यो सफलता सम्भव भएको छ, यसलाई दूरदराजका जनतालाई स्वास्थ्य सेवा पु¥याउन प्रयोग गर्नुहोस्,’ उनले भने,‘कर्णाली र सुदूरपश्चिमका जनतालाई यस प्रतिष्ठानले प्रभावकारी सेवामा योगदान गर्नेछ, जसले यस क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई सशक्त बनाउनेछ ।’
प्रतिष्ठानलाई विशिष्टकृत अस्पताल बनानुपर्छ : स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशषज्ञ जनशक्ति उत्पादन केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । ‘कर्णालीलाई अभाव रोग भोकसँग दाज्ने मात्र नभई यहाँका प्राकृतिक स्रोतको उपभोगका विषयमा सोच्नुपर्ने अवस्था आएको छ,’ उनले भने,‘कर्णाली प्रतिष्ठान कर्णालीको मात्र होईन् राष्ट्रको गौरब हो ।
यो संस्थाले कर्णालीसहित पश्चिम नेपालमा दिएको सेवा प्रशंसा योग्य छ । यो प्रतिष्ठानलाई रेफरल अस्तापल बनाउने होईन । यहाँ विशिष्टकृत सेवा सुरु गर्नु पर्छ । तर अपेक्षाकृत विकास हुन सकेको छैन् । अब सरकार गम्भीर हुनुपर्छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले दिक्षित भएका सबैचिकित्सकले कर्णालीमै सेवा दिनुपर्ने बताए । दिक्षित भएका व्यक्ति समाजका विशिष्ट व्यक्ति भएका कर्णालीमै सेवा गर्नुमा पर्ने उहाँले जोड दिए । दुर्गम कर्णालीमा प्रतिष्ठानले स्वास्थ्य सेवा,अध्यायन अनुसन्धानमा गरेको योग्दानको सरकारले उच्च रुपमा कदर गर्ने समेत बताए ।
रमेश रावल । सुर्खेत । २९ कार्तिक २०८१, बिहीबार १६:२१