निर्माण व्यवसायीसमेत रहेका रामेछापबाट निर्वाचित कांग्रेस सांसद तथा हालका संघीय ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनीले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर बजारका केही रणनीतिक सडकहरु अलपत्र अलपत्र छन् । राज्यमन्त्री तामाङको निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले वीरेन्द्रनगर बजारका १५ वटा सडकको निर्माण ठेक्का पाएको भएपनि निर्माण कार्य सम्झौता अनुसार गर्न सकेका छैनन् ।
मन्त्री तामाङको निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले वीरेन्द्रनगरस्थित १५ वटा सहरी सडक निर्माणका लागि १२ करोड ९४ लाखमा कालोपत्रे गर्ने ठेक्का पाएको थियो । तीमध्ये एउटाको कालोपत्रे गर्ने काम गरेको छ । खजुरा भित्री मोडेल कलेजदेखि उत्तर पश्चिम सडक ७३६ मिटरको उक्त सडकमा भने कालोपत्रे भएको छ । त्यसको रंगरोगन गर्ने काम बाँकी रहेको कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए ।
मन्त्री तामाङले पाएका १५ वटा सडकका ठेक्का मध्ये ६ वटाको त कामै नै सुरु नभएको निर्देशनालयका सूचना अधिकारी शाहीले जानकारी दिए । ‘वीरेन्द्रनगर बजार क्षेत्रको सडक अपग्रेडिङको ठेक्का पाएका थिए । उनले निर्माण कम्पनी १७ भदौ २०७८ मा पहिलो पटक सम्झौता गरेर निर्माण गरेनन् । हालसम्म पनि ठेक्का पाएको काम निर्माण नगरेका कारणले उनको कम्पनीले पाएको निर्माणको काम २० मंसिर २०८१ मा पहिलो म्याद थपसहित सकिदैँछ’ उनले भने, ‘निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि मैजुबहाल, काठमाण्डौंले अहिलेसम्म पनि काम गर्न नसकेकाले निर्देशनालयले अन्तिम पटक चेतावनीसहित निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएको हो ।’
१७ भदौँ ०७८ मा ठेक्का सम्झौता भए पनि निर्माण पूरा नगरी त्यसै छाड्दा सर्वसाधारणलाई आउजाउ गर्न समस्या भएपछि कम्पनीलाई सचेत गराइएको सूचना अधिकारी शाहीले बताए । ‘कुनै सडकको नाला मात्र निर्माण भएको छ । कुनै सडकमा ग्राभेल हालेर त्यसै छाडिएको छ । कतै कालोपत्रे गर्न तयारी गरेर अलपत्र पारिएको छ,’ शाहीले भने, ‘यसले गर्दा हामीले पटक–पटक ताकेता गर्दा पनि उहाँहरु सम्पर्कमा आउनु भएको छैन् ।’
मन्त्री तामाङको निर्माण कम्पनीले २० मंसिरसम्म काम गर्न चाहेमा नेपाल सरकारको खरिद नियमावली अनुसार दुई सय दिनसम्म थप म्याद सम्झौता हुने व्यवस्था रहेको छ । तर, ठेक्का पाएको कुल कबुल अंकको दैनिक शून्य दशमलव ०५ प्रतिशतका दरले दैनिक जरिवाना तिर्नुपर्ने हुन्छ । तर, त्यो तिर्नका लागि उनको कम्पनी तयार हुने अवस्था छैन् ।
निर्देशनालयको अन्तिम चेतावनी
ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री कालोसूचीमा परेका पूर्णबहादुर (कान्छाराम) तामाङसँग कर्णाली प्रदेश सरकारले ठेक्का लिएका सडकको सम्झौता अनुसार काम गर्न निर्देशन दिएको छ । कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास निर्देशनालयले वीरेन्द्रनगरको गुरुयोजनाका सडक समयसिमामा नै काम सक्न निर्देशन दिएको हो ।
बिहिबार सूचना प्रकाशित गरेर निर्देशनालयले ठेक्कासँग सम्बन्धित निर्माण कम्पनीले सम्झौता अनुसारको निर्माण कार्य सम्पन्न नगरी सम्पर्क विहिन रहेको र लामो समयदेखि निर्माणस्थलमा कुनै पनि निर्माण कार्य गरिरहेको नपाईएको निर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ । निर्देशनालयद्वारा विभिन्न मितिमा म्यादभित्र कार्य सम्पन्न गर्न पटक–पटक मौखिक तथा लिखित रुपमा जानकारी गराउँदासमेत कार्य सम्पन्न गर्न अटेरी गरेको विषयमा गम्भिर ध्यानाकर्षण भएको निर्देशनालयको जनाएको छ ।
सम्झौता अनुसारको कार्य सम्पन्न गर्न निर्माण कम्पनीले आफैँले पेश गरेको कार्यतालिका अनुसारको प्रगति हासिल नगरेको, निर्माण कार्य अलपत्र पारी चरम लापरवाही गरेको र कार्य सम्पन्न गर्न आवश्यक अग्रसरता र चासो नदेखाएको हुँदा सम्बन्धित निर्माण कम्पनीलाई तुरुन्त कार्य सुरु गरी म्यादभित्र कार्य सम्पन्न गर्नुका पटक पटक सूचना जारी गरेको पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी शाहीले बताए ।
‘यसभन्दा पहिला पनि अन्य ठाउँका यो निर्माण कम्पनी कालो सूचीका परेका छ,’ उनले भने, ‘अब उहाँ नेपाल सरकारको खरीद सम्झौता अनुसार काम गर्न आउनुहोला जस्तो मलाई लाग्दैन् ।’ यो सूचनालाई बेवास्ता गरी कार्य सम्पन्न नगरेको अवस्थामा ठेक्का सम्झौताका सर्तहरु र प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने शाहीले बताए । मन्त्री तामाङले वीरेन्द्रनगर बजार क्षेत्रको सडक अपग्रेडिङको ठेक्का पाएका थिए । उनले निर्माण कम्पनी १७ भदौं २०७८ पहिलो पटक सम्झौता गरेर निर्माण गरेनन् ।
हालसम्म पनि ठेक्का पाएको काम निर्माण नगरेका कारणले उनको कम्पनीले पाएको निर्माणको काम २० मंसिरमा पहिलो पटक थपिएको समयावधी सकिदैछ । उनको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि मैजुबहाल, काठमाण्डौं अहिलेसम्म पनि काम गर्न नसकेको कारणले निर्देशनालयले अन्तिम पटक चेतावनीसहित निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएको हो ।
त्यस्तै, कुइने, जामु, बाबियाचौर र जंगलघाटसम्मको सडकको निर्माणको ठेक्का पाएको जलजला निर्माण सेवा, घोराही–११, दाङसँग पहिलो पटक २२ मंसिर २०७८ मा सम्झौता भएको र द्रोश्रो पटक २५ चैत २०८१ भित्र काम सक्न निर्देशन दिइएको छ ।
यी हुन् मन्त्री तामाङले अलपत्र पारेका सडक
मन्त्री तामाङको निर्माण कम्पनीले सुर्खेतको वीरेन्द्रनगर डिभिजन वन कार्यालय अगाडिको सडक १८१ मिटर सडक नाला र सब बेसको काम मात्रै गरेर अलपत्र पारेका छन् । खारखोली टेलिकम सडक २२५ मिटरको सडक अहिलेसम्म नाला र सब बेसको काम भएको छ भने बेस राखेर कालोपत्रे गर्ने काम अहिलेसम्म सुरु भएको छैन । त्यस्तै, खारखोली हटलाइन सडक ३३४ मिटरको सडक पनि अलपत्र अवस्थामा छ ।
इत्रामखोलादेखि जिल्ला प्रहरी कार्यालय अगाडिको ४०० मिटरको सडकको दायाँतर्फ २०७ मिटर र बायाँतर्फ २९७ मिटर नालाको काम भएको छ । यस्तै १५० मिटर जति सब बेसको काम भएको छ भने बेस राखेर कालोपत्रे गर्न पुरै बाँकी छ । जिल्ला अदालत–मुख्यमन्त्री, कार्यालय–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडिको ६३५ मिटर सडकको अहिलेसम्म नाला, २०० मिटर बेस राख्ने काम भएको छ भने ३५० मिटर ग्राभेल गरेर छाडिएको छ ।
त्यस्तै, पूर्वाधार विकास निर्देशनालय अगाडिको सडक पनि अलपत्र अवस्थामा छ । २४० मिटरको उक्त सडकमा अहिलेसम्म नाला बनाउने र सब–बेसको काम बाहेक अरू भएको छैन । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अगाडिको २२० मिटरको सडकमा नाला र कालोपत्रे गर्न बाँकी छ । बस्नेत नर्सरीदेखि पुरानो वडा कार्यालयको ६३० मिटरको सडकको १८५ मिटर नाला दुबैतर्फ, १७६ मिटर सब–बेसको काम भएको छ भने त्यस बाहेक बेस राखेर कालोपत्रे गर्ने काम भएको छैन ।
त्यस्तै, डीआईजी चोकदेखि खारखोली १११ मिटरको सडकमा नाला र सब–बेस निर्माणपछि अलपत्र पारिएको छ । कालिन्चोक–मिलनचोक ३८८ मिटरको सडकमा ३०० मिटर नाला, सब–बेस र बेस राखेर कालोपत्रे गर्न बाँकी छ । खजुरा भित्री मोडेल कलेजदेखि उत्तर पश्चिम ७३६ मिटरको सडकमा भने कालोपत्रे भएको छ । त्यसको रंगरोगन गर्ने काम बाँकी छ ।
गण्डकी लाइन सडक–मुख्य बजारभित्रको १२० मिटर सडकको अवस्था पनि उस्तै छ । यसमा १२० मिटर नाला, सब–बेसदेखि बेस राखेर कालोपत्रे गर्ने पुरै बाँकी छ । यस्तै, महिला छात्रावासदेखि दैलेख रोड ४४० मिटरको सडकमा अहिलेसम्म ३६६ मिटर नालाको काम मात्रै भएको छ । बेस राखेर कालोपत्रे गर्न बाँकी छ । लालुपाते उत्तर २०० मिटर, कर्णाली राजमार्ग–सितलनगर १६० मिटरको सडक हालसम्म निर्माण सुरु नै हुन नसकी अलपत्र परेका छन् ।
रमेश रावल । सुर्खेत । १ मंसिर २०८१, शनिबार १३:४९