रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ रिठा नजिकै शनिबार बस दुर्घटना भएको छ । काठमाडौँबाट राडी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खस्दै बिजुलीको पोलमा अड्किएको आठविसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए ।
दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । नगरप्रमुख केसीका अनुसार बिजुलीको पोलले बसलाई भेरी नदीमा खस्नबाट जोगाएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नगर अस्पताल राडी लगिएको छ ।
बसमा ८ जना यात्रु मात्र सवार रहेको बुझिएको छ । नगरप्रमुख केसीका अनुसार एक जना यात्रु पोखराबाट आएका थिए भने अरू सबै मुसिकोट र आसपासका स्थानीय बासिन्दा थिए । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार कार्य जारी रहेको छ । दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन । यातायात सुरक्षा र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।
युग संवाददाता । सुर्खेत । १ मंसिर २०८१, शनिबार १५:१३