यहीँ मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि दलहरुले उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् । कर्णालीका आठ वटा स्थानीय तहमा रिक्त रहेका आठ पदका लागि ४५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यस पटकमा पुराना दलहरुसँगै स्थानीय तहको निर्वाचनमा पहिलो पटक टेष्टेट पार्टीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि थपिएको छ । पुराना दलको वैकल्पिक शक्ति ठान्ने रास्वपाले पहिलो पटक आफूलाई स्थानीय तहको निर्वाचन परीक्षण गर्दैछ ।
३० वैशाख २०७९ को स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा ठूला राजनीतिक दलहरूले गठबन्धन गरेर चुनाव लडेका थिए । कतिपय ठाउँमा गठवन्धनका दलहरू मित्रवत् प्रतिस्पर्धामा चुनाव लडेका थिए । कर्णालीमा कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन बन्दा एमाले एक्लै निर्वाचनमा होमिएको थियो । उपनिर्वाचनमा कांग्रेस, माओवादी र एमाले एक्लाएक्लै चुनावमा जाने भएपछि यसपटक दलहरूको स्पष्ट जनमत परीक्षण हुने माध्ययमका रूपमा उपनिर्वाचनलाई लिइएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनको परिणामलाई हर्ने हो भने यस पटक प्रमुख तीन दल कांग्रेस, माओवादी र एमाले नै प्रमुख प्रतिस्पर्धी हुनेछन् । नयाँ शक्तिका रुपमा उदाएको रास्वपादेखि अन्य साना दलहरुलाई कर्णालीमा पुराना दलसँग प्रतिस्पर्धा गर्न निकै चुनौती देखिन्छ । संघ र प्रदेशको तुलनामा स्थानीय तहको निर्वाचनलाई फरक ढङ्गबाट लिइन्छ ।
पार्टी संगठन ठुलो भएपनि नातागोता र उम्मेदवारका कारण परिणाम आँकलन गरे जस्तो नहुने बताइन्छ । जसले पनि जनमत आफ्नो पक्षमा पार्न उम्मेदवारदेखि दलहरुलाई निकै हम्मेहम्मे हुने देखिन्छ । निर्वाचन कार्यतालिका अनुसार मंसिर ३ गते विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
आठ पदमा ४५ जनाको उम्मेदवारी
कर्णालीमा स्थानीय तहको उपनिर्वाचअन्तर्गत नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुनेछ । जसमा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुराुन्दरी नगरपालिका–५ र रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुनेछ । यी पदका लागि राजनीतिक दलहरुले उम्मेदवारको मनोनयन दर्ता गराइसकेका छन् ।
जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर पदमा ६ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपमेयर पदका लागि नेपाली काँग्रेसबाट ईन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देबका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, नेपाल समाजवादीबाट पवित्रा जैसी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुनको उम्मेदवारी परेको छ ।
त्यस्तै, दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अुनसार कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादीबाट जंगबहादुर बराल, समाजवादीबाट जगत हमाल र रास्वपाबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत, नेमकिपाबाट दुर्गबहादुर मगर रहेका छन् ।
त्यस्तै, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि दुई स्वतन्त्रसहित सात जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालका अनुसार नेपाली कांग्रेसबाट सरिता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रबाट देवकी तिमिल्सेना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगिता बुढा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचा शाही, स्वतन्त्र उम्मेदवार नरेश शाही र रामसरा खड्काको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै, कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षका लागि नेकपा एमालेबाट ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट खड्कबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाही, माओवादी केन्द्रबाट नैसोभा शाही र नेपाली कांग्रेसबाट पैरबहादुर शाहीको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय कालिकोटका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताए ।
दैलेखको दूल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लका अनुसार नेकपा एमालेबाट लालबहादुर शाही, नेपाली कांग्रेसबाट शेरबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट ढकेन्द्रबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही र नेपाल मजदुर किसान पार्टीबाट पूर्णप्रसाद उपाध्यायको उम्मेदवारी दर्ता भएको छ ।
रुकुम पश्चिमको सानिभेरी गाउँपालिका–५ को वडाध्यक्षमा एक स्वतन्त्रसहित चार जनाको उम्मेदवारी परेको छ । जसमा नेकपा माओवादीबाट जसिराम बस्नेत, नेपाली कांग्रेसबाट मोतिराम खत्री, नेकपा एमालेबाट हम्सराज पुरी, स्वतन्त्र उम्मेदवार विरबहादुर बस्नेत रहेका छन् ।
त्यस्तै, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । सहायक निर्वाचन अधिकृत हरिगोपाल ज्ञवालीका अनुसार नेकपा एमालेबाट नरबहादुर रोकाया, नेकपा (एस) बाट ज्योती घर्ती, नेकपा माओवादीबाट नरबहादुर झाँक्री र नेपाली कांग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् ।
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा पनि चार जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार एमालेबाट डम्बर बहादुर घर्ती, काँग्रेसबाट खम्बबहादुर सिंह, माओवादीबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्रीको उम्मेदवारी परेको छ ।
यस्तो थियो २०७९ को मतपरिणाम
कर्णालीमा निर्वाचित जनप्रतिनिधिको दुर्घटना तथा दीर्घ रोगलगायतका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गरुङको हृदयघातका कारण २७ माघ २०७९ मा निधन भएको थियो । गुरुङले ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । गुरुङले दुई हजार नौ सय सात मत प्राप्त गरेका थिए भने उपाध्यायले दुई हजार पाँच सय १९ मत प्राप्त गरेका थिए ।
त्यस्तै, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको १७ कात्तिक २०८० मा जाजरकोट भूकम्पमा परी मृत्यु भएको थियो । कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी सिंहले पाँँच हजार चार सय ६ मत प्राप्त गरी एमालेका सुनिता बोहोरालाई हराएकी थिइन् । बोहोराले तीन हजार तीन सय ९३ मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै, गत ४ भदौमा सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा परेका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको उपचारका क्रममा नेपालगन्जको भेरी अस्पतालमा निधन भएको थियो । कार्कीले २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए । उनले एमालेकी जुनकुमारी फडेरालाई तीन हजार दुई सय ६९ मत प्राप्त गरी पराजित गरेका थिए ।
एमालेबाट दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा निर्वाचित भएका विर्खबहादुर शाहीको ब्रेन ट्युमरका कारण गत माघमा मृत्यु भएको थियो । शाहीले कांग्रेस–माओवादी गठबन्धनलाई हराएका थिए । शाहीले आठ सय २२ मत प्राप्त गरी माओवादीका डम्बरबहादुर शाहीलाई पराजित गरेका थिए । माओवादीका शाही सात सय ७३ मत प्रात गरी पराजित भएका थिए ।
कालीकोटको तिलागुफा नगरपालिका–४ का वडाध्यक्ष परबहादुर शाही २४ असोज २०७९ मा मलामी गएको अवस्थामा राचुलीस्थित तिला कर्णालीमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका थिए । उनको अवस्था अझै पनि अज्ञात छ । उनी माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । शाहीले नेपाल मजदुर किसान पार्टीका दिपबहादुर शाहीलाई तीन सय ६१ मत प्राप्त गरी हराएका थिए ।
यस्तै, जाजरकोटको कुसे गाउँपालिका–७ को वडाध्यक्ष पद पनि रिक्त छ । नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित मनबहादुर घर्तीले तीन सय ८० मत प्राप्त गरी कांग्रेसका खम्बबहादुर सिंहलाई हराएका थिए । सिंहले तीन सय १८ मत प्राप्त गरेका थिए । घर्तीको ४ असार २०७९ मा मृत्यु भएको थियो । यस्तै, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–५ का वडाध्यक्ष नन्दलाल रोकाको दमका कारण गत माघमा निधन भएको थियो । एमालेबाट निर्वाचित रोकाले एक सय आठ मत प्राप्त गरी माओवादीका जंगबहादुर रोकायलाई पाराजित गरेका थिए । रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५ मा पनि वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । २०७९ मा कांग्रेसबाट निर्वाचित भएका अलबहादुर खत्रीको जन्डिसका कारण २२ माघ २०८० मा निधन भएको थियो । खत्रीले चार सय ६२ मत प्राप्त गरी माओवादीका तीर्थबहादुर खत्रीलाई हराएका थिए ।
ओम शाही । सुर्खेत । ३ मंसिर २०८१, सोमबार १३:०९