विद्यालय खाली राखेर शिक्षक जन्ती गए


नलगाड नगरपालिका–८, जिकुवास्थित पञ्चभयार माध्यमिक विद्यालयका केही शिक्षकहरू विद्यालय खाली राखेर जन्तीमा गएको पाईएको छ । प्रधानाध्यापक का दाजुको छोराको बिहेका लागि प्रअ नरेन्द्र कुमार केसी र अन्य केही शिक्षक नेपालगञ्ज पुगेका हुन् ।

एक स्थानीयले नाम नखुलाउने सर्तमा जानकारी दिँदै भने, विद्यालयमा ११ जनाको दरबन्दी रहेको र हाल ५ जना मात्रै शिक्षक उपस्थित भएको बताए । यसपालि प्रअ र केही शिक्षक विद्यालय छाडेर बिहेको जन्तीमा गएका छन्।
स्थानीयका अनुसार विद्यालय कार्तिक २५ गते खुले पनि शिक्षकहरू २४ गतेदेखि नै मेला महोत्सव र बिहेका कार्यक्रमहरूमा व्यस्त थिए । विद्यालयभन्दा शिक्षकलाई मेला प्राथमिकतामा परेको छ । प्रअसहित केही शिक्षक जन्तीमा गएपछि हाम्रो भाइबहिनीको भविष्य डामाडोल हुने भयो, उनले गुनासो गरे ।

यस विषयमा प्रअ केसीले आफू र अन्य दुई शिक्षक बिहेमा गएको स्वीकार गरेका छन् । उनका अनुसार विद्यालय व्यवस्थापन समितिको बैठकले जन्तीमा जान अनुमति दिएको थियो । विद्यालयमा ११ जना कर्मचारी र कार्यालय सहयोगीसमेत कार्यरत छन् भने ४८१ जना विद्यार्थी अध्ययनरत छन् ।

स्थानीयहरूले शिक्षकहरूको यस्तो व्यवहारले शिक्षाको गुणस्तरमा गम्भीर असर पर्ने चेतावनी दिएका छन् । विद्यार्थीहरूको पठनपाठन प्राथमिकता हुनुपर्ने हो, तर यहाँ शिक्षकहरूले जिम्मेवारी भुलेको स्थानीयहरूको आरोप छ ।
घटनाले शिक्षाको महत्त्वप्रती गम्भीर प्रश्न खडा गरेको छ भने जिम्मेवार निकायको ध्यानाकर्षणको आवश्यकता देखिएको छ ।

तपाईको प्रतिक्रिया