‘ट्यालेन्ट हन्ट’मार्फत कर्णाली याक्सलाई पाँच खेलाडी


नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग(एनपिएल) आयोजना हुँदै छ । एनपिएलका लागि कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’मार्फत कर्णाली याक्सले भने पाँच खेलाडी छानेको छ । कर्णाली याक्सले मंगलबार कर्णालीको सुर्खेतमा आयोजना गरेएको छनोट कार्यक्रममा छानिएका पाँच जना उत्कृष्ट खेलाडीको नाम सार्वजनकि गरेको हो ।

कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट मनिष थापा, निश्चल रावल, विपिनप्रसाद शर्मा, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको छ । उनीहरुले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । अबको अन्तिम चरणमा छनोटबाट यी पाँचमध्ये एक जनाले एनपिएलमा कर्णालीको प्रतिनिधित्व गर्न पाउने छन् ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।

यसैगरी एनपिएलको फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सलाई धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले ‘एजुकेसन पार्टनर’ का रूपमा साथ दिने भएको छ । मंगलबार सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह र एसपिएका प्रबन्ध निर्देशक सुवास शाहीले हस्ताक्षार गरेका छन् ।
सुदूरपश्चिमको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् ।

एनपिएलको पहिलो संस्करणको उद्घाटन खेल भने विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुने छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेल मंसिर १५ मा त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे हुनेछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णाली र सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया