सुर्खेतको लेकवेशी नगरपालिका–३ रातटारकी ४५ वर्षीया निर्मला विकको परिवार तीन वर्षअघिसम्म तरकारी किनेर खान्थ्यो । उनको घरमा परम्परागतरुपमा मौसम अुनसार रोपिदै आएका विभिन्न जातका तरकारीले परिवारको माग धान्दैन थियो । उनीहरुलाई मौसम अनुसार कुन समयमा कुन तरकारी खेती गर्ने भन्ने थाहा पनि हुँदैन थियो ।
आफ्नै तरिकाले रोपिने तरकारीले उत्पादन पनि त्यति दिदैन थियो । तर, तीन वर्ष यता भने निर्मलाको घरमा मौसमी तथा बेमौसमी तरकारीको उत्पादन फालाफाल हुने गरेको छ । अहिले निर्मलाको परिवार तरकारीमा आत्मनिर्भर बेनेको छ । आजभोली निर्मलाको घरमा आलु, बन्दा, काउली, टमाटर, मुला, गाजर, सिमी, बोडी, रायो, भाजीको साग लगायतका १४ प्रकारका तरकारीहरुले बारी भरिएको छ । बारीमा उत्पादित तरकारी घरमा उपभोग गरेर बचेको बिक्री गर्ने गरेको निर्मला बताउँछिन् ।
‘तीन वर्षअघिसम्म हामीलाई तरकारी खेती गर्ने तरिका नै थाहा थिएन,’ निर्मला भन्छिन्, ‘अहिले हामीलाई राष्ट्रिय कृषक समूह महासंघको सहयोगले धेरै कुरा सिकेका छौं । घरमा आफै प्राङ्गारिक मल बनाउँनेदेखि मौसम अनुसारका तरकारी बाली लगाउने सीप सिकेका छौं । पहिले किनेर खाने अवस्था थियो । अहिले बेच्छौं ।’ अर्की स्थानीय तुलसा सुनारको परिवार पनि तरकारीमा आत्मनिर्भर छ । परम्परागत खेतीमा आश्रित तुलसाको परिवार पनि आजभोली प्रविधिसहितको पर्यावरणीय कृषिमार्फत जिविकोपार्जनमा लागेको छ । उनको परिवारलाई पनि तीन वर्षयता बजारको विषाक्ता तरकारी किन्न परेको छैन ।
उनीहरुले तरकारी खेती गर्न मात्र जानेका छैनन्, यसमा प्रयोग हुने प्राङ्गारिक मल र जैविक विषादीसमेत घरमै बनाउँने गरेका छन् । ‘घरमै रसायनिक विषादीमुक्त तरकारी उत्पादन गर्न सिकेका छौं । घरमा खान पनि पुगेको छ,’ तुलसा भन्छिन्, ‘यसले हामीलाई सिकाईसँगै विषादीमुक्त कृषि उपज उत्पादनमा सघाउ पुगेको छ ।’
उल्लेखित दुई महिला पर्यावरणीय कृषिमार्फत जिविकोपार्जनको बाटोमा लागेका महिलाहरुका प्रतिनिधिमुलक पात्रहरु हुन् । निर्मला र तुलसा मात्रै होइनन् यस बस्तीका ३५ दलित परिवारका महिलाहरु अहिले पर्यावरणीय खेती प्रणाली अपनाइरहेका छन् । जसले उनीहरुको जिविकोपाजर्नसँगै आर्थिक उपार्जनको बाटो खुल्दै गएको छ । यस बस्तीमा अधिकांश दलितहरुको बसोवास छ । केहीँ वर्षअघि उराठ जस्तो देखिने यो बस्ती अहिले तरकारी तथा अन्य खाद्यान्न बालीले हराभरा देखिन थालेको छ ।
२५ जना सदस्य रहेको सिर्जनशिल दलित महिला समूहका यी महिलाहरूले गोठ सुधार, झोल मल, ठोस मल, गडेउले मल, मछापालन, जुठेल्नो सुधारसहितको पर्यावरणीय कृषिमा आधारित अभ्यासहरु भिएसओ नेपालको आर्थिक सहयोग र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त पहलमा कार्यान्वयन भइरहेको एक्टिभ परियोजनामार्फत सम्भव भएको हो ।
परियोजनाले सामुदायिक उत्थानशिलता प्रवद्र्धनका लागि पर्यावरणीय गाउँ नमुना अभ्यास कार्यक्रम अन्तर्गत निर्माण गरिदिएको पर्यावरणीय कृषि अभ्यास प्रदर्शनी स्थलबाट सिकेका हुन् । प्रर्दशनी स्थलमा सिकेका ज्ञान सिपलाई विशेष गरी महिलाहरुले आफ्ना खेतबारीमा पनि लागू गरेका छन् । यसबाट उनीहरूले स्वस्थ र ताजा तरकारी तथा फलफूल उपभोग मात्रै नभई धेरै भएको तरकारी तथा फलफूल बिक्रीबाट आर्थिक उपार्जनसमेत गरिरहेका छन् ।
यसका लागि परियोजनाले महिलाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराईरहेको छ । भेरीगंगा नगरपालिकामा पाँच, लेकवेशी नगरपालिकामा पाँच र वीरेन्द्रनगर नगरपालिकामा दुई गरी १२ वटा कृषक समूहमा आवद्ध सदस्यहरुलाई पर्यावरणीय कृषि अभ्यास प्रदर्शनीस्थलमा कृषि सम्बन्धि आवश्यक प्राविधिक ज्ञानसहितको खेती गर्न सिकाउने गरिएको छ ।
परियोजनाकै कारणले ग्रामीण महिलाहरू अहिले जलवायु परिवर्तनका सन्दर्भमा सचेत बन्नुका साथै जलवायु अनुकूल कृषि अभ्यासमा अभ्यस्त बन्दैछन् । महिलाहरू अहिले आत्मविश्वासी मात्रै होइन, जागरुकसमेत बनेका छन् । ‘यो परियोजनाले हामीलाई जलवायु परिवर्तन, लैङ्गिक समानताका कुरा सिकाएको छ, कसरी खेती गर्ने के गर्ने भन्ने कुरा हामीलाई केही पनि थाहा थिएन ।’
स्थानीय पृस्किला चुनारा भन्छिन्, ‘अहिले आएर यो परियोजनाले हामीलाई तरकारी यसरी लगाउनुपर्छ, जीवनस्तर परिवर्तनसँगै हामीले ताजा खानेकुराहरू खान पाएर हाम्रो आर्थिक स्थितिमा पनि सुधार भएको छ ।’ पर्यावरणीय कृषि र जिविकोपार्जनका लागि सिमान्तकृत समुदायका कृषकलाई प्राङ्गारिक कृषितर्फ उन्मुख गराउँन साझेदार संस्थाको सहकार्यमा राष्ट्रिय कृषक समूह महासंघले सुर्खेतका तीनवटा पालिका वीरेन्द्रनगर, भेरीगंगा र लेकवेसी नगरपालिकामा पर्यावरणीय कृषिमार्फत सिमान्तकृत वर्गका किसानको जिविकोपार्जनमा सहयोग गरिरहेको महासंघका कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर केसीले बताए ।
प्रकृतिमा उपलब्ध स्रोतको उच्चतम प्रयोगमार्फत गरिने यस्ता कृषि अभ्यासले कृषि र त्यसको स्थायित्वलाई प्रवर्द्धनमा सघाएको छ । हेर्दा साना तर निकै रचनात्मक यस्ता कार्यले जलवायु उत्थानशील समुदाय निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेमा दुई मत छैन ।
अनुदानमा एकरुपता ल्याउन किसान परिचयपत्र
लेकवेशी नगरपालिकाले न्यायोचित अनुदानमा किसानलाई जोड्न कृषकहरुको वर्गीकरण गरी परिचयपत्र वितरण गर्न सुरु गरेको छ । कृषि पेशाको संरक्षण गर्दै किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यले नगरपालिकाले सबै घरधुरीको तथ्याङ्क संकलन गरेर कृषकहरुको वर्गीकरणसहितको परिचयपत्र वितरण गर्न सुरु गरेको हो ।
कर्णालीमा किसानको वर्गीकरण गरेर परिचयपत्र वितरण गर्ने लेकवेशी पहिलो पालिका बनेको छ । जसका लागि लेकबेशी नगरपालिकाले किसानको वर्गीकरण, अनुदान, बीमा, कोष तथा पेन्सन सम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशन गरेको छ ।
नगरपालिकाका उपप्रमुख विमला खड्लुकले किसानको पहिचान, वर्गीकरण गरी त्यसको आधारमा परिचयपत्र उपलब्ध गराएर नगरपालिकाबाट उपलब्ध हुने कृषिसँग सम्वन्धीत सेवा–सुविधालाई प्राथमिकताको आधारमा वितरण गर्ने उद्देश्य राखिएको बताउँछिन् । ‘स्थानीय कृषि ऐन नगरसभाबाट पारित गरेर परिचयपत्र वितरण सुरु गरिसकेका छौंं,’ उनले भनिन्, ‘कृषकको वर्गीकरणका आधारमा नगरपालिका र अन्य सरकारी तथा गैसरकारी संस्थाहरुबाट प्राप्त हुने स्रोतलाई प्राथमिकताका आधारमा कृषकसम्म पु¥याउने लक्ष्य हामीले राखेका छौं ।’
राष्ट्रिय किसान महासंघ कर्णाली प्रदेशका अध्यक्ष सन्तबहादुर केसीले कृषकको वर्गीकरणसहितको परिचयपत्रका आधारमा कृषकहरुलाई दिइने सेवा–सुविधामा एकरुपकता आउने बताए । उनले जोखिममा रहेका किसानलाई सेवा पहुँचमा अग्राधिकारको आधार तय गर्ने पनि बताए ।
कृषक समूह महासङ्घ नेपाल, भीएसओ नेपाल सहकार्यमा लेकबेसी नगरपालिकाको १ र १० नम्बर वडाका कृषकलाई परिचयपत्र वितरण गरिसकिएको छ । भूमिहीन, साना, मझौला तथा ठूला गरी किसानलाई चार समूहमा वर्गीकरण गरेर वर्गअनुरुप परिचयपत्र वितरण गरिएको लेकवेशी नगरपालिकाको कृषि शाखका प्राविक सहायक गंगाराम चौधरीले बताए । सोही परिचयपत्रका आधारमा लेकबेसी नगरपालिकाले भूमिहीन किसानलाई ९० प्रतिशत, साना किसानलाई ७५ प्रतिशत, मझौला किसानलाई ५० प्रतिशत र ठूला किसानलाई २५ प्रतिशत अनुदान उपलब्ध गराइने उनले बताए ।
नगरपालिकाबाट उपलब्ध गराइने कृषिसँग सम्बन्धित सेवा सुविधालाई किसान परिचयपत्रको आधारमा व्यवस्थित गर्ने नगरपालिकाको तयारी छ । परिचयपत्रमार्फत नै प्राथमिकताको आधारमा कृषकलाई स्रोतसाधन र सेवा सुविधा वितरण गर्ने उद्देश्य रहेको उपप्रमुख खड्लुकको भनाइ छ ।
पर्यावरणीय कृषिको मन्त्रीद्वारा अनुगमन
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले पर्यावरणीय कृषि अभ्यास क्षेत्रको अवलोकन तथा अनुगमन गरेका छन् । मन्त्री शाहले पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका र लेकबेशी नगरपालिकाका विभिन्न वडामा गरिएको पर्यावरणीय कृषि अभ्यासको अनुगमन गरेका हुन् ।
एक्टिभ परियोजना अन्तरगत भेरिगंगा र लेकबेशी नगरपालिकाका विभिन्न वडामा पर्यावरणीय कृषि अभ्यास सञ्चालन गर्दै आएको छ । राष्ट्रिय कृषक समूह महासंघ कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर केसीले एक्टिभ परियोजना अन्तरगत भेरीगंगा नगरपालिका–११ रामघाटमा रहेको शिखर माध्यमिक विद्यालय, भेरीगंगा नगरपालिका–९ प्रगतिशील फलफूल तथा तरकारी उत्पादन कृषक समूह (सादिखोला), लेकबेशी नगरपालिका–३ राताटारमा सिर्जनशील दलित महिला कृषक समूहमा कृषक समूह महासंघको एक्टिभ परियोजना कार्यक्रम मार्फत पर्यावरणीय कृषि अभ्यास सञ्चालन भइरहेको बताए ।
उक्त विभिन्न क्षेत्रमा गरिएको पर्यावरणीय कृषि अभ्यासको अनुगमन गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उर्भर बाटोको गुणस्तर बचाउन यस खेतीले महत्वपूर्ण भूमिका खेलेको बताए । मन्त्री शाहले भने, ‘जहाँ पर्यावरणीय कृषि अभ्यास गरिएको छ । त्यस क्षेत्रमा अर्गानिक खाद्यान्न उत्पादन भइरहेको मैले देखेँ । पछिल्लो समय कृषि प्रणाली तहसनहस हुँदै गएको अवस्थामा माटोलाई स्वस्थ राख्नमा यहाँका किसानहरुले महत्पूर्ण योग्दान पु¥याउनु भएको छ ।’
त्यस्तै, मन्त्री शाहले किसानहरुलाई एउटै किसिमको खेती गर्न सुझाव दिए । उनले भने, ‘सबै किसानहरुले एउटै प्रकारको खेती गर्नुभयो भने खरिद गर्ने व्यक्ति तपाईंहरुको बारीमा खोज्दै आइपुग्छ । त्यसैले सबै मिलेर एउटै खेतीमा जोड् दिनुहोस् । सरकार यसमा गर्न सक्ने सहयोग गर्न तयार छ ।’
ओम शाही । सुर्खेत । ५ मंसिर २०८१, बुधबार ११:१८