जुम्लाको तिला गाउँपालिका सातौ गाउँपालिकाको रुपमा साक्षर घोषणा भएको छ । एक कार्यक्रमको आयोजना गरि साक्षरता घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले साक्षरता घोषणा गरेका थिए ।
तिला गाउँपालिकाले सवै वडामा गरिएको सर्भेको आधारमा ९५.४ प्रतिशत व्यक्ति साक्षरता भएको जानकारी दिएको छ । उक्त गाउँपालिकामा १ देखि ९ वडा छन् । शिक्षा शाखा प्रमुख झनमाया खत्रीका अनुसार जम्मा १४ हजार पाँच सय ३९ जनसंख्यामा १५ देखी ६० बर्ष उमेर समूहका ८ सय ६७ जना निरक्षर भएकोमा ८ सय २७ जना साक्षरताका कार्यक्रमबाट साक्षर भएका छन् ।
समन्वय समितिका प्रमुख आचार्यले नेपाल सरकारको मापदण्ड अनुसार तिला गाउँपालिकाले समेत गाउँपालिका साक्षरघोषणा गरेकोमा धन्यवाद दिए । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले भौगोलिक विकटता भएको तिलामा साक्षरता अभियान घोषणाका लागि खटिने सबै धन्यवाद गरे । शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश मल्लले जुम्लालाई साक्षरता घोषणाको तयारी भइरहेको बताए ।
समन्वय प्रमुख आचार्यको अध्यक्षतामा जिल्ला स्थित सरोकारवालासँग साक्षर जिल्ला घोषणा गर्ने विषयमा प्रारम्भिक छलफल गरिसकेको छ । साक्षर जिल्ला घोषणाका लागि सहयोग तथा व्यवस्थापन समिति समेत गठन गरेको छ । सामाजिक विकास कार्यालय जुम्लाका शिक्षा अधिकृत शिव शंकर चौलागाँईको संयोजकत्वमा ९ सदस्य समिति गठन गरिएको छ । साक्षर जिल्ला घोषणाका लागि स्थानीय तहसँग समन्वय गरिनेछ । जुम्लामा तिला गाउँपालिका, हिमा गाउँपालिका, सिँजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका, चन्दननाथ नगरपालिका साक्षरता घोषणा भईसकेका छन् ।
अब गुठिचौर गाउँपालिकालाई घोषणा गर्ने तयारी छ । कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, हिमा गाउँपालिकामा ९६ प्रतिशत, सिंजामा ९६.५ प्रतिशत, चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत र पातारासीमा ९५.२४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ ।
तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार धमाधम स्थानीय तह साक्षर घोषणा भइरहेका छन् । कनकासुन्दरी गाउँपालिकामा कुल १३ हजार ६ सय २५ जनसंख्या रहेको गाउँपालिकामा ९७ प्रतिशत नागरिक साक्षर छन् । यता पातारासी गाउँपालिकामा १५ देखि ६० वर्षसम्मका १० हजार ४२ जनसंख्या मध्ये ९५.२४ प्रतिशत नागरिक साक्षर भएका छन् ।
यता चन्दनाथ नगरपालिकाको तथ्यांक अनुसार कुल २१ हजार ३६ जनसंख्या रहेको नगरपालिकामा ९८ प्रतिशत नागरिक साक्षर छन् । यस्तै सिंजा गाउँपालिकाले कुल जनसंख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ । यस्तै हिमा गाउँपालिको कुल जनसंख्या १२ हजार ८ सय ४ रहेकोमा १२ हजार २ सय २५ जना साक्षर छन् । हिमाका १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसंख्या साक्षर रहेको र मात्र ४.२८ प्रतिशत निरक्षर छन् ।
गाेल्डेन बुढा । जुम्ला । ५ मंसिर २०८१, बुधबार ११:२६