कर्णाली करिडोरको कालिकोटको जितेदेखि हुम्लाको खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परिरहेको छ ।
सो खण्डको सडक कच्ची र त्यसमाथि धुलाम्मे भएको कारण यातायातका साधन त्यसमा फस्ने भएको कारण यात्रुले दुःख झेल्नु परिरहेको हो ।
सिमकोटबाट सुर्खेतसम्मको यात्रा गरेका यात्रु दिनेश बोहराले हुम्लाको खार्पुदेखि कालिकोटको जितेसम्म कम्तीमा धुलाम्मे सडकमा जीप फस्दा बाह्र स्थानमा गाडीबाट बाहिर ओलिएर हिँड्नुपरेको बताए ।
बाक्लो बाक्लो धुलै–धुलो भएको सडकमा ठूलादेखि साना यातायात साधनहरू फस्ने भएको कारण यात्रुले सास्ती झेली रहेको उनको भनाई छ । उनले खार्पुदेखि जितेसम्मको दुई सय किलो मिटर सडकमा तीस घण्टा यात्रा गर्नुपरेको बताउँदै यसको मुख्य कारण धुलाम्मे सडकमा गाडी फस्ने समस्या रहेको बताए ।
धेरैँ धुलोको कारण यात्रुहरूलाई रुघाखोकीको समस्या हुने गरेको बताउँदै पैदल यात्रा झनै कठिन भएको तर गर्नै पर्ने बाध्यता हुम्लावासीलाई रहेको उनले बताए ।
गाडी चालक पुनर तामाङले ठाउँ–ठाउँको कच्ची सडकमा धुलैधुलो हुने भएको कारण यातायातका साधनहरू फस्ने कार्य सामान्य जस्तै भएको जानकारी दिए । उनले कहाँ कति बेला गाडी फस्ने हो, भन्ने नसकिने अवस्था रहेकोले यात्रु निकाल्नु गाडी धकेल्नु पर्ने काम जारी रहने गरेको बताए ।
यसले गर्दा यात्रा पनि लामो हुने गरेको छ भने कतिपय स्थानमा पाँच छ घण्टा गर्नु परिरहेको छ । यात्रु तथा चालकहरूले भोकै यात्रा गर्नुपर्ने बाध्यतासमेत यहाँ रहेको छ ।
यस विषयमा स्थानीय निकायले खासै वास्ता नगरेको यात्रुहरूको गुनासो रहेको छ ।
युग संवाददाता । हुम्ला । ५ मंसिर २०८१, बुधबार १३:४०