कर्णालीमा दलहरूले स्थानीय तह उपनिर्वाचनको प्रचार–प्रसारलाई व्यापक बनाएका छन् । १६ मंसिरमा हुन लागेको उपनिर्वाचनका लागि दलहरूले आफ्ना उम्मेदवारका पक्षमा चुनावी माहौल बनाउनेदेखि मतदाता फकाउन विभिन्न रणनीति अपनाइरहेका छन् । चुनावी प्रचारका लागि केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू चुनावी कमान्डर भएर खटिएका छन् । दिनहुँजसो चुनावी घोषणापत्र बोकेर उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्नमा व्यस्त छन् । ३० वैशाख २०७९ को स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा ठूला राजनीतिक दलहरूले गठबन्धन गरेर चुनाव लडेका थिए । कर्णालीमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन बन्दा एमाले एक्लै निर्वाचनमा होमिएको थियो । उपनिर्वाचनमा कांग्रेस, माओवादी र एमाले एक्लाएक्लै निर्वाचनमा जाने भएपछि यसपटक दलहरूको स्पष्ट जनमत परीक्षण हुनेछ । २०७४ र २०७९ को स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने यस पटक प्रमुख तीन दल कांग्रेस, माओवादी र एमाले नै प्रमुख प्रतिस्पर्धी हुनेछन् । नयाँ शक्तिका रूपमा उदाएको रास्वपादेखि अन्य साना दलहरूलाई कर्णालीमा पुराना दलसँग प्रतिस्पर्धा गर्न निकै चुनौती देखिन्छ । संघ र प्रदेशको तुलनामा स्थानीय तहको चुनावलाई फरक ढङ्गबाट लिइन्छ । पार्टी संगठन ठूलो भए पनि नातागोता र उम्मेदवारका कारण परिणाम आँकलन गरेजस्तो नहुने बताइन्छ । जसले पनि जनमत आफ्नो पक्षमा पार्न उम्मेदवारदेखि दलहरूलाई निकै मिहिनेत गर्नुपरेको उपनिर्वाचनको चुनावी प्रचार–प्रसारले देखाउँछ ।
राज्यको नीति तथा व्यवस्थालाई सहीमार्गमा ल्याएर जनताको आवश्यकता परिपूर्ति गर्ने मियो नै राजनीति हो । राजनीति सही बाटोमा चल्न सकेन भने असल समाजको परिकल्पना गर्न सकिदैन । असल राजनीति हुनलाई असल व्यक्ति पनि आवश्यक पर्दछ । देशमा लामो संघर्ष र बलिदानको जगमा ठुला परिवर्तनहरु भएका छन् । अधिकार माग्ने युगबाट अधिकार प्राप्तिसम्म आइपुग्दा अझै पनि जनताले परिवर्तनको महशुस गर्न पाएका छैनन् । सबै खाले निर्वाचनमा जनताले आफ्ना आवाजहरु बुलन्द गर्न आफ्ना प्रतिनिधिहरु चुनेर पठाएका हुन्छन् । आफूहरुले पठाएका प्रतिनिधिहरुले प्रभावकारी नीति तथा कार्यक्रममार्फत समृद्धिको अपेक्षा आम नागरिकमा हुन्छ । यो अपेक्षा पुरा गर्नु उनीहरुको दायित्व पनि हो । तर, हामी कहाँ अहिले यस्तो हुन सकिरहेको छैन । जनताका अपेक्षाबीच चुनाव जितेर आएका प्रतिनिधिहरु जनताप्रति उत्तरदायी नहुँने परिपाटीले अहिले जताततै राजनीतिलाई हेर्ने नजर नकारात्मक बनेको छ । असल राजनीति बिना सभ्य र विकासिल समाजको कल्पना गर्न सकिँदैन । समाजलाई असल बाटोमा डो¥याउने राजनीति र यसमा लागेका व्यक्तिका गलत कार्यका कारण राजनीतिप्रति वितृष्णा भाव राख्नेको संख्या पनि उत्तिकै छ । यसो हुनुमा दलहरुले स्वच्छ छवि भएका निष्ठावान्, त्यागी, स्थानीयका सुख दुःखमा भिजेका, स्थानीय समस्या पहिचान गरी त्यसको समाधानसमेत गर्न सक्ने खुबी र क्षमताका चरित्रवान् पृष्ठभूमि भएका व्यक्तिभन्दा पनि नेताका पछाडी दगुर्ने कार्यकर्तालाई टिकट दिनु हो ।
नेपाली जनता टाउँको माथी टेकेर धेरै पटक–पटक राजनीतिक दलले राजनीति गरी व्यक्ति स्थापित हुने परिपाटीले देशको विकास भएर आम नागरिकको अवस्था परिवर्तन हुनुको साटो राजनीति जनताका लागि नभई व्यक्तिका लागि मात्र भइरहेको छ । फलस्वरुप जनताका लागि भनेर गरिएको राजनीतिले जनताले प्राप्त गर्नुपर्ने सेवा, सुविधा अहिलेसम्म पनि प्राप्त हुन सकिरहेको छैन । जसको कारण जनताको संघर्ष रित्तो भईरहेको छ । जनता र राजनीतिक दलको सम्बन्ध सुमधुर र प्रगाढ हँुदैं जानुको साटो झन् बिगिँ्रदै जानु आफैमा बिडम्बना हो । जनताको नजिकको सरकारका रुपमा रहेका स्थानीय तहमा निर्वाचित भएर आउने अबका जनप्रतिनिधिले यसतर्फ ध्यान दिनुपर्दछ । यस उपनिर्वाचनमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयको सही ढङ्गले उठान गर्न सक्ने तथा उत्पादनमा आधारित रोजगारी सिर्जना गर्न सक्ने स्पष्ट भिजन भएकाहरु अनुमोदन हुनुपर्दछ । आम मतदाताले पनि यो उपनिर्वाचनमा दल विशेषभन्दा पनि उम्मेदवारको छवि, त्याग, समाज सेवाप्रतिको लगाब जस्ता विशेष योग्यता र क्षमता भएका व्यक्ति रोज्न सक्ने खुबी राख्न सक्नु पर्दछ ।
युग संवाददाता । सुर्खेत । ७ मंसिर २०८१, शुक्रबार १०:४५