सल्यानको दुर्गम र विकट क्षेत्र शारदा नगरपालिका ९ स्थित भुवनेश्वरी माध्यमिक बिद्यालयका जेहेन्दार तथा अति विपन्न बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरिएको छ । सल्यान कला साहित्य परिषदले आठौं बार्षिकोत्सवको अवसरमा बुधबार बिद्यालयमै पुगेर न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको हो । कक्षा ६ देखि १० सम्म अध्य्यनरत १२ जना विपन्न विद्यार्थीलाई एक एक जोड न्यानो कपडा हुडि र कक्षा १ देखि ५ सम्म अध्यनरत १५ जना बालबालिकालाइ एक एक दर्जन कापी कलम प्रदान गरिएको हो ।
सल्यान कला साहित्य परिषद सल्यानका अध्यक्ष भरत रोकायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष हिमेन्द्र बुढाथोकीले यस किसिमको कार्यक्रमले विद्यार्थीको शैक्षिक गतिविधिलाई प्रेरणा संगै विपन्न विद्यार्थीलाई अझ बढी पढ्ने हौसला मिल्ने बताए ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाहीले सामूहिक प्रयासबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै शिक्षा नै विकासको मुख्य आधार भएको उल्लेख गरे ।
सो अवसरमा नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, सरस्वती आवि हात्तिढुंगाका प्रधानाध्यापक लक्षिराम बुढा, सामाजिक अभियान्ता ज्ञानेन्द्र पुन लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण बिद्यालयका प्रधानाध्यापक कर्ण बहादुर बुढाले गरेका थिए ।
बिद्यालयमा २८३ विद्यार्थीले अध्य्यन गर्छन् । यस बिद्यालयमा निकै टाढा टाढाबाट घण्टौं हिडेर विद्यार्थी पढ्नका लागि आउने गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका १० सादनबासबाट करिव २ घण्टा तथा सानिगारे, बयाले, सिउरे लगायतका ठाउंबाट एक देखि डेढ घण्टा समय लगाएर विद्यार्थी आउनेगरेको बिद्यालयले जनाएको छ ।
बुधबार सल्यान कला साहित्य परिषदद्वारा प्रदान गरिएको सहयोगले विद्यार्थीको शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। शिक्षा र बालबालिकाको हितमा गरिएको यस्तो पहलले दुर्गम क्षेत्रमा शिक्षाको विकासमा मद्दत पुग्ने अपेक्षा छ।
शंकर केसी । सल्यान । १३ मंसिर २०८१, बिहीबार ११:५४