आगामी आइतबार (१६ मंसिर) मा हुने स्थानीय तहको उपनिर्वाचनमा दलहरुले चुनावी प्रचार–प्रसार गर्ने अवधि समाप्त भएको छ । चुनावी प्रचार–प्रसार गर्न (बिहिबार) राती १२ बजेसम्मको समय तोकिएको थियो । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचार प्रसारका काम गर्न पाउँदैनन् । दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लगाइएको हुन्छ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीसँगै अधिकांश मतदान हुने पालिकामा मतपेटिका र मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन अन्तर्गत कर्णालीका आठ पालिकामा रित्त आठ पदका लागि निर्वाचन हुँदैछ ।
जसमा कर्णाली प्रदेशअन्तर्गत नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुनेछ । जसमा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, र रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५, मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुनेछ ।
कर्णालीमा विशेष गरी तीन पालिका दैलेखको महाबु गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र हुम्लाको सर्केगाड गाउँपालिकामा हुने निर्वाचनलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । यी पालिकामा मुख्यगरी तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिका साथ चुनावी मैदानमा होमिएका छन् । अहिले यि पालिकालाई महत्वका साथ हेरिएको छ ।
२०७९ को निर्वाचनमा दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष नेपाली कांगे्रस र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख तथा हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादीले जितेको थियो । दैलेखको महाबुमा कांग्रेस एक्लै लड्दा नलगाड र सर्केगाडमा कांग्रेस–माओवादी बिच गठवन्धन बनेको थियो । यो निर्वाचनमा कांग्रेस–माओवादी बिरासत जोगाउने रणनीतिमा रहदा एमाले भने इतिहाँस रच्ने दाउमा छ । कांग्रेस–एमाले र माओवादीको बर्चश्व तोड्ने रणनीतिका साथ पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि चुनावी मैदानमा होमिएको छ ।
मौन अवधि सुरु हुनुपूर्व बिहिबार साँझसम्म उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रमुख तीन दलसहित रास्वपाले पनि आफ्ना प्रदेशदेखि केन्द्रीयस्तरका नेताहरुलाई कर्णाली केन्द्रित गराएका थिए । कांग्रेस प्रवक्ता प्रकाशशरण महत, सहमहामन्त्री जीवन परियार लगायतका केन्द्रीय तहका नेता उपनिर्वाचनको प्रचारमा कर्णाली आएका थिए ।
त्यस्तै, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि चुनावी सभामा सहभागी भएका थिए । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, केन्द्रीय सदस्य झक्कबहादुर मल्ल चुनावी प्रचारमा पुग्दा रास्वपा उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री सुमना श्रेष्ठ पनि आफ्ना उम्मेदवारका पक्षमा भोट माग्न कर्णाली आएका थिए ।
आचार संहिता पूर्ण पालना गर्न निर्देशन
कर्णालीमा १६ मंसिरमा हुने उपनिर्वाचनको मतदानपूर्वको तयारी पुरा भएको निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गा चालिसेले बताए । मतदानस्थल, मतदान केन्द्र तोकेर त्यहाँ खटिने कर्मचारी, सुरक्षाकर्मीसहित मतपेटिका र मतपत्र सम्बन्धित पालिकामा पुगिसकेको प्रवक्ता चालिसेले जानकारी दिए । निर्वाचन सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनालाई आवश्यकताका आधारमा परिचालन गर्नेगरी सुरक्षा योजना बनाइएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी र सुरक्षाकर्मीहरूबाट सम्पूर्ण उम्मेदवारहरू र राजनीतिक दलहरूप्रति समान व्यवहार गरी निर्वाचन सम्बन्धी कार्यसम्पादनमा समान अवसर प्रदान गर्न सम्बन्धित निकायहरूले आवश्यक सतर्कता अपनाई निर्वाचन सम्पन्न गराउँन निर्देशन दिइएको आयोगका सहप्रवक्ता चालिसेले जनाए ।
उपनिर्वाचन हुने स्थानीय तहमा अनधिकृत एवम् शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने, सूक्ष्म ढङ्गले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनियतामा आँच आउने कुने कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शंका लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम तत्काल कारवाही गर्न नेपाल सरकार गृह मन्त्रालय मार्फत निर्देशन दिइएको उनले बताए । निर्वाचनमा आममतदातालाई भयरहित वातावरणमा सहभागी हुन सहप्रवक्ता चालिसेको आग्रह छ ।
यस्तो छ मतदानको तयारी
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि हुने निर्वाचनमा १६ मतदानस्थलमा २४ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यलय जाजरकोटका जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले जानकारी दिए । नलगाडको उपप्रमुखका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, जाजरकोटकै कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र दुई मतदान केन्द्र तोकिएको छ ।
यहाँ वडाध्यक्ष पदका लागि चार जना चुनावी मैदानमा छन् । दैलेखको महाबुु गाउँपालिकामा नौ मतदानस्थल र १६ मतदान केन्द तोकिएका छन् । महाबुको अध्यक्षका लागि सात जना चुनावी मैदानमा छन् । दैलेखकै दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । जसका लागि दुई मतदानस्थल र चार मतदान केन्द्र तोकिएको छ । दुल्लु–१३ को वडाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
कालिकोटको तिलागुफा नगरपालिका–४ मा पनि वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लका अनुसार एक मतदान स्थल रहेको छ । यहाँ पनि वडाध्यक्षका लागि ६ जना चुनावी मैदानमा छन् । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा १२ वटा मतदानस्थल र १३ वटा मतदान केन्द्र रहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए ।
हिमाली जिल्ला हुम्लामा पनि मतपेटिका, मतपत्र र निर्वाचनमा खटिने कर्मचारी सम्बन्धित स्थानमा पुगिसकेको सुवेदीले बताए । सर्केगाडको उपाध्यक्षका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा पनि मतदान पूर्वका सबै तयारी पुरा भएका छन् । वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थलमा दुई वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिए ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले मतदानको तयारी सौहार्दपूर्ण रहेको बताए । सानीभेरी–५ को वडाध्यक्षमा चार जना चुनावी प्रतिस्पर्धामा छन् । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र एक मतदान केन्द्र तोकिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । त्रिपुरा सुन्दरी–५ को वडाध्यक्षका लागि चार जना चुनावी प्रतिस्पर्धामा छन् ।
ओम शाही । सुर्खेत । १४ मंसिर २०८१, शुक्रबार १४:००