निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउँछ ।
सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ । समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै मोबाइल फोन उठाएर कुराकानी गर्ने प्रवृत्ति शिक्षकको छ ।
तर, जुम्लाको पातारासी गाउँपालिका –५ मा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरले विद्यालय समयमा मोबाइल फोन प्रयोगमा निषेध गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको सहमतिमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कुनै पनि विद्यार्थीले मोबाइल फोन प्रयोग गर्न नपाउने नियम लागू गरिएको हो । शैक्षिक गुणस्तर वृद्धि गरी नमूना विद्यालयका रुपमा चिनाउन विद्यालयले शुरु गरेको यो कार्यप्रति सरोकारवालाहरुले प्रशंसा गरेका छन् ।
कक्षाकोठाभित्रै विद्यार्थीले मोबाइल फोनको प्रयोग गर्दा शैक्षिक गुणस्तर खस्किँदै गएको अभिभावकका गुनासो आएपछि विद्यालय समयभित्र मोबाइल फोनको प्रयोग निषेध गरिएको विद्यालय प्रध्याध्यापक कृष्ण बुढाले बताए । सबै अभिभावक र शिक्षक र विद्यार्थीहरुको सहमतिमा मोबाइल फोन विद्यालय समयभित्र निषेध गर्ने कार्य शुरु गरिएको हो ।
विद्यालयमा मोबाइल लैजाने विद्यार्थीलाई तीन हजार रुपैयाँ जरिवाना तोकिएको छ । विद्यालयमा मोबाइल लैजाँदा विद्यार्थीहरूले ध्यानपूर्वक नपढ्ने र मोबाइलमै ध्यानाकर्षण हुने भएकोले मोबाइल प्रतिबन्ध गरेको हो ।
‘अब विद्यालयमा विद्यार्थीहरूले मोबाइल लैजान पाउने छैनन्,’ प्रधानाध्यापक बुढाले भने, ‘मोबाइल भेटिएमा तीन हजार रुपैयाँ जरिवाना हुनेछ । जरिवाना स्वरुपको रकम एक साताभित्र सम्वन्धित विद्यार्थीको अभिभावक आएर विद्यालयमा जम्मा गर्नुपर्नेछ । यदि अभिभावक नै नआएको बखत सो मोबाइल लिलाममा विद्यालयले नै बेच्नेछ ।’
मोबाइल बेचेर आएको रकमले मोबाइल ल्याउने विद्यार्थीको शैक्षिक सुधारमा लगाइनेछ । उक्त विद्यालयमा गतसाता देखि यो निर्णय कार्यन्वयनमा आएको हो । विद्यालयमा मोबाइल प्रतिबन्ध गराउने निर्णयले अभिभावक खुसी छन् । अहिले विद्यालयमा लाइनदेखि कक्षाकोठा प्रवेश गर्दा मोबाइल ल्याएको छ । या छैनन् बिषयमा सर्च नै हुने गरेको छ ।
विद्यालयमा पहिले एक सयभन्दा बढी विद्यार्थीहरू मोबाइल बोकेर आइरहेका हुन्थे । विद्यालयको वाइफाइको पासवर्ड लिएर गेम खेल्ने, कक्षामा पढाइ छाडेर खेलमैदानमा आएर मोबाइलमा झुम्मिने गर्दा पठनपाठन प्रभावति हुने गरेको थियो ।
अभिभावकहरूले पनि मोबाइल किनेर नदिने बरु घरमा राम्रो पढ्ने वातावरण बनाइदिने प्रतिबद्धता जनाए छन् । मोबाइलमा विभिन्न एपहरू डाउनलोड गरेर चलाएर त राम्रै हुन्थ्यो तर अनावश्यक बिषयहरू हेर्दा विद्यार्थीहरू समेत कुलत तिर लाग्ने खतरा बढेको शिक्षक अभिभावकको निष्कर्ष छ ।
विद्यालयमा शिक्षकले मोबाइल विद्यालयमा लैजान पाउने भएपनि अनिवार्य साइलेन्टमा राख्नुपर्ने निर्णय भएको छ । प्रधानाध्यापक बुढाले भने, ‘शिक्षकले विद्यालयमा मोबाइल लैजान पाउँछन् । सबैलाई असर गर्ने गरी रिङटोन राख्न पाउने छैनन् । आकस्मिक कल गर्नुपर्ने विद्यार्थीहरू भन्दा धेरै टाढा गएर कुराकानी गर्न पाउनेछन् ।’
विद्यालयमा ६ सय भन्दा बढी विद्यार्थी छन् । मोबाइल लिएर विद्यालय आइरहने विद्यार्थीको वार्षिक परिक्षा समेत रद्ध हुने निर्णय भएको छ । अभिभावकहरूले नियमित रुपमा विद्यार्थी विद्यालय पठाउने प्रतिबद्धता जनाएका छन् ।
योसँगै आगामी शैक्षिकसत्र देखि कक्षा १ देखि ६ सम्म अग्रेजी माध्यमबाट अध्ययन अध्यापन गर्ने, हरेक शुक्रबार विद्यार्थीहरू झोलारहित विद्यालयमा आउने र हरेक क्षेत्रका असल अभ्यास आदानप्रदान गराउने समेत निर्णय भएको छ ।
प्रधानाध्यापक बुढाले भने, ‘अब विद्यार्थीले सफल किसान, ब्यापारी, कर्मचारी, खेलाडी, डक्टर, इन्जीनियर, परामर्शकर्ताहरूको अतिरिक्त कक्षाहरू पनि लिने व्यवस्था मिलाइएको छ ।’
युग संवाददाता । जुम्ला । १४ मंसिर २०८१, शुक्रबार १४:४२