बिक्रम बुढा क्षेत्री ।
आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक आयोजना गरेको एनपीएल बहुप्रतिक्षित टी–२० प्रतियोगिता हो । एनपीएलमा सहभागी आठ टोली सबैले जित्ने दाबी गरिरहेका छन् ।
एनपिएल नेपाली खेलकुदका लागि सर्वाधिक उच्च प्रायोजन प्राप्त प्रतियोगिताका रुपमा रहेको छ । सिद्दार्थ बैंकले एनपिएलका लागि पाँच वर्ष प्रायोजन सम्झौता हस्ताक्षर गरेको छ । क्यानका सचिव पारस खड्काले नेपाली खेलकुदकै उच्च प्रायोजन सम्झौता भएको समारोहमा बताएका थिए । यद्यपि, सिद्दार्थ बैंकले वार्षिक ४ करोडका दरले ५ वर्षमा २० करोड रकम दिनेगरी सम्झौता गरिएको दाबी गरिएको छ । जुन नेपाली खेलकुद इतिहासकै उच्च प्रायोजन हो ।
एनपिएलमा खेलाडी र खेल हेर्ने दर्शकका लागि योपटक टियू मैदानलाई फरक स्वरुप दिने प्रयास गरिएको छ । योपटक ८ वटा पिच निर्माण गरिनुका साथै मैदानको बाउण्ड्री पनि बढाइएको छ । साथै दर्शकले पहिलो पटक डिजिटल स्कोर बोर्डको अनुभव गर्नेछन् ।
एनपिएलको विजेताले यो पटक प्राप्त गर्ने ट्रफीमा कालापत्थरको दुर्लभ ढुङ्गा ट्रफीको शिरमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र आठ फ्रेन्चाइज टिमका मार्की खेलाडीले संयुक्त रुपमा अनावरण गरेको ट्रफीमा पर्वतआरोही निमा शेर्षा र मिङ्गमा शेर्पाले कालापत्थरबाट ल्याएको ढुङ्गालाई ट्रफीको सबैभन्दा माथिल्लो भागमा राखिएको छ ।
योपटक एनपिएलमा सर्वोत्कृष्ट नेपाली खेलाडीले ६१ लाख ९९ हजार रुपैयाँको ओमोडा इ–५ मोडलको इलेक्ट्रोनिक कार पुरस्कार पाउने छन् । एनपिएल पहिलोपटक विश्वचर्चित स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्समा लाइभ हुनेछ । क्यानले यो पटक स्टार स्पोर्ट्लाई पैसा तिरेर नै लाइभ देखाउन लागेको जनाइएको छ । यद्यपि, आधिकारिक रुपमा कति रकममा सम्झौता भएको भनेर खुलाइएको छैन् । साथै टिभी नहुनेहरुले पनि एनपिएल सहज रुपमा युट्युबमा समेत हेर्न पाउने छन् । योपटक एनपिएलको युट्युब राइट डिश मिडिया नेटवर्कले लिएको छ । एनपिएलको सबै खेल युट्युबमा डिश होमको एक्सन स्पोर्ट्सबाट लाइभ हुनेछ ।
क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरलतर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७०० रुपैयाँ तोकिएको छ । उद्घाटन खेलका सबै टिकट ‘सोल्डआउट’ भइसकेको क्यानले जनाएको छ ।
आज हुने उद्घाटन खेलमा विराटनगर र जनकपुर बोल्ट्सबीच प्रतिप्रर्धा हुनेछ । भोली १६ गते उपनिर्वाचन भएकाले कुनै पनि खेल राखिएको छैन । १७ गतेदेखि ३० गतेसम्म हरेक दिन दुई खेल हुनेछन् । समूह चरणको अन्तिम खेल पुष १ गते हुनेछ । त्यसपछि पुष ३ गते इलिमिनेटरको पहिलो खेल र सोही दिन दिउँसो पहिलो क्वालिफायरको खेल हुनेछ । दोस्रो क्वालिफायर पुष ४ गते र प्रतियोगिताको फाइनल खेला पुष ६ गते हुनेछ ।
राम्रा खेलाडी पाएको लुम्बिनी बलिङ लाइनअपमा कमजोर
फर्चुना हेल्थ केयरको स्वामित्वमा रहेको लुम्बिनी लायन्स अक्सनमा भाग्यमानी बन्दा नेपालका राम्रा खेलाडीहरु अनुबन्ध गर्न सफल भएको थियो । लुम्बिनी लायन्समा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल मार्की प्लेअर रहेका छन् ।
लुम्बिनीमा रोहितसँगै हाल राष्ट्रिय टिममा रहेका विकेटकिपर ब्याटर अर्जुन साउद, राष्ट्रिय टिमबाटै खेलिसकेका सन्दिप जोरा, विवेक यादव र सूर्य तामाङ टिममा छन् । सन्दिप जोराले केही समयअघि हङकङ सिक्सेसमा नेपालको कप्तानी पनि गरेका थिए । विवेकले पनि त्यस प्रतियोगिता खेलेका थिए । रोहितसहित अर्जुन साउद विवेक यादव र सुर्य तामाङले २०२२ मा भएको नेपाल टी–२० लिग विराटनगर सुपर किंग्सबाट सँगै खेलेका थिए ।
लुम्बिनीका पाँच खेलाडीसँग राष्ट्रिय टिमबाट खेलिसकेको अनुभव छ । यस्तै तिलक राज भण्डारी र दुर्गेश गुप्ताले नेपालको यू–१९ टिमबाट खेलिसकेका छन् । आशुतोष घिरैयाले नेपाल ए टिमबाट खेलिसकेका छन् । उनी घरेलु क्रिकेटमा पनि राम्रो खेलिरहेका छन् । यस बाहेक दिनेश अधिकारी, विकास आग्री र अभिषेक गौतमले पनि घरेलु क्रिकेटमा राम्रो खेलिरहेका छन् ।
विदेशी खेलाडीमा लुम्बिनीले अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई अनुबन्ध गरेको छ । यसबाहेक इंग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्स, भारतबाट यू–१९ विश्वकप जितेका र हाल अमेरिकामा खेल्ने उन्मुक्त चन्द र बारबाडोर्सका युवा पेस बलर रामोन सिमोन्ड्स छन् ।
लुम्बिनी लायन्सले लुम्बिनीकै शक्ति गौचनलाई कन्सलट्यान्ट कोच नियुक्त गरेको छ । यसैगरी भारतका नन्दन फाडनिस मुख्य प्रशिक्षकमा छन् । उनीले यसअघि नेपाली राष्ट्रिय टिमका कन्सलट्यान्ट प्रशिक्षकको रुपमा काम गरेका थिए ।
लुम्बिनीको अर्को विशेषता भनेको यो टिमसँग महानायक राजेश हमाल पनि जोडिएका छन् । नेपाली सिने जगतकै सबैभन्दा ठूलो स्टार र चर्चित व्यक्ति राजेश हमाले लुम्बिनीको ब्राण्ड एम्बासडर हुन् ।
लुम्बिनीको बलियो पक्ष भनेको अक्सनमा सबैभन्दा भाग्यमानी बन्दै राम्रो खेलाडी पाएको थियो । राष्ट्रिय टिमका कप्तान रोहितसहित लुम्बिनीको ब्याटिङ लाइनअप राम्रो छ । लुम्बिनीका खेलाडी हेर्दा लुम्बिनीले ६ नम्बरसम्म ब्याटर खेलाउन सक्ने देखिन्छ ।
तर ब्याटिङ लाइनमा बलियो देखिएको लुम्बिनीको वलिङ लाइनअप भने कमजोर देखिने आकलन गरिएको छ । लुम्बिनीमा नेपाल र विदेशी कुनै पनि स्टार बलर छैनन् । राष्ट्रिय टिमबाट खेलिसकेका स्पीनर सूर्य तामाङ नै लुम्बिनीको मुख्य बलर हुन् । ब्याटिङमा राष्ट्रिय टिमबाट खेलेका खेलाडी पाए पनि बलिङमा भने लुम्बिनीले स्टार खेलाडी पाउन सकेन ।
लुम्बिनी लायन्सको टिम
ओनर ः फर्चुना हेल्थ केयर (इश्वर जिसी)
मार्की प्लेअर ः रोहित कुमार पौडेल
अन्य खेलाडी ः सन्दिप जोरा, सूर्य तामाङ, अर्जुन साउद, विवेक यादव, आशुतोष घिरैया, तिलक राज भण्डारी, दुर्गेश गुप्ता, दिनेश अधिकारी, विकास आग्री, अभिषेक गौतम
विदेशी खेलाडी ः बेन कटिङ, टम मुर्स, उन्मुक्त चन्द, रामोन सिमोन्ड्स
मुख्य प्रशिक्षक ः नन्दन फाडनिस
आइकोनिक प्लेखर ः अरिफ खान
कन्सलट्यान्ट प्रशिक्षक ः शक्ति गौचन
ब्राण्ड एम्बासडर ः राजेश हमाल
लुम्बिनीको खेल तालिका
डिसेम्बर ४ (मंसिर १९) ः विराटनगर किङ्ससँग (दिउँसो १ः१५)
डिसेम्बर ६ (मंसिर २१) ः पोखरा एभेन्जर्ससँग (दिउँसो १ः१५)
डिसेम्बर ७ (मंसिर २२) ः सुदूरपश्चिम रोयल्ससँग (विहान ९ः१५)
डिसेम्बर ८ (मंसिर २३) ः जनकपुर बोल्ट्ससँग (विहान ९ः१५)
डिसेम्बर १० (मंसिर २५) ः चितवन राइनोजसँग (विहान ९ः१५)
डिसेम्बर ११ (मंसिर २६) ः काठमाडौं गुर्खाजसँग (दिउँसो १ः१५)
डिसेम्बर १३ (मंसिर २८) ः कर्णाली याक्ससँग (विहान ९ः१५)
सन्तुलित कर्णालीमा ब्याटिङ, अलराउण्डर र टप बलर
एनपीएलकै सबैभन्दा ठुलो नाम हो शिखर धवन । आइसीसी च्याम्पियन्स ट्रफी, एसिया कप तथा आइपीएल विजेता शिखर धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने छन् । धवनको आगमनले कर्णाली याक्सले चर्चा पाउनुका साथै टोलीलाई सन्तुलित बनाएको छ । एनपीएलका लागि अनुबन्ध हुने धवन सबैभन्दा ठूलो नाम हो र भारतका लागि खेलेर नेपालमा फ्रेन्चाइज लिग खेल्न आउन लागेको पहिलो खेलाडीसमेत हुन् ।
कर्णालीले राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सको मार्की खेलाडीमा हाल राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामी छन् । सोमपाल नेपालका लागि दुईवटा टी–२० विश्वकप खेल्ने एक्लो खेलाडी हुन् र अहिले राष्ट्रिय टिममा भएका मध्ये सबैभन्दा अनुभवी र पुराना खेलाडीमा पर्छन् ।
सोमपालसहित कर्णालीमा राष्ट्रिय टिमका अलराउण्डर गुल्शन झा र ब्याटर देव खनाल पनि छन् । यस्तै उमेर समूहबाट खेलिसकेका नन्दन यादव, यू–१९ टिमका कप्तानी गरेका रित गौतम, राष्ट्रिय टिममा परिसकेका मौसम ढकाल, भुवन कार्कीजस्ता खेलाडी पनि छन् । साथै यू–१९ बाट खेलेका दिपक डुम्रे, नेपाल ‘ए’ बाट खेलेका अर्जुन घर्ती पनि कर्णाली याक्समा छन् । अक्सनमा सुरुवाती चरणमा ठीकठाक रहेको कर्णाली पछिल्लो चरणमा राम्रो खेलाडी अनुबन्ध गर्न सफल भएको छ । साथै कर्णालीले आफ्नै क्षेत्रका दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरीलाई पनि टिममा अनुबन्ध गरेको छ ।
कर्णालीको टिममा राष्ट्रिय टिम र घरेलु क्रिकेटमा राम्रो खेलेका खेलाडीहरू छन् । पेपरमा हेर्दा सन्तुलित देखिएको कर्णाली याक्स विदेशी खेलाडी थपिएपछि झन् बलियो देखिएको छ । कर्णालीमा धवनसँगै हङकङका ब्याटर बाबर हायात अनि वेष्ट इन्डिजका विकेटकिपर ब्याटर चाडविक वाल्टन छन् । साथै पाकिस्तानका अलराउण्डर हुसेन तलात पनि कर्णालीमा छन् । धवनबाहेक सबै विदेशी खेलाडीसँग नेपालमा खेलेको अनुभव छ । जसको फाइदा कर्णालीलाई हुनेछ ।
कर्णालीको बलियो आधार भनेकै शिखर धवनसहित विदेशी खेलाडीको आगमन हो । जसका कारण कर्णालीको टप अर्डरदेखि ब्याटिङ बलियो बनेको छ । यसरी हेर्दा कर्णालीसँग शीर्ष बलिया पाँचमा ब्याटर छन् । यस्तै मार्की प्लेअर सोमपाल पनि ब्याटिङ गर्न सक्छन् । जसले गर्दा कर्णालीको ब्याटिङमा बलियो छ ।
कर्णालीको ब्याटिङबाहेक अलराउण्डर र बलिङ पनि टप अर्डरका बलर छन् । जसले गर्दा ओपनिङ र मिडल अर्डरमा कसलाई कुन पोजिसनमा खेलाउने दुविधा हुन सक्छ । यस्तोमा फिनसिङ कसले गर्ने भन्ने समस्या हुन सक्छ ।
कर्णाली याक्सको टोली
ओनर ः हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स (झनक दत्त खनाल, गृहेन्द्र घिमिरे)
मार्की प्लेअर ः सोमपाल कामी
अन्य खेलाडी ः गुल्शन झा, देव खनाल, नन्दन यावद, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे
विदेशी खेलाडी ः हुसेन तलात, बाबर हायत, चाडविक वाल्टन, शिखर धवन
आइकोनिक प्लेअर ः विपिन प्रसाद शर्मा
मुख्य प्रशिक्षक र क्रिकेट डिरेक्टर ः ज्ञानेन्द्र मल्ल
ब्राण्ड एम्बासडर ः स्वस्तिमा खड्का
कर्णालीको खेल तालिका
डिसेम्बर २ (मंसिर १७) ः जनकपुर बोल्ट्ससँग (दिउँसो १ः१५)
डिसेम्बर ४ (मंसिर ४) ः काठमाडौं गुर्खाजसँग (विहान ९ः१५)
डिसेम्बर ६ (मंसिर २१) ः चितवन राइनोजसँग (विहान ९ः१५)
डिसेम्बर ७ (मंसिर २२) ः विराटनगर किङ्ससँग (दिउँसो १ः१५)
डिसेम्बर १० (मंसिर २५) ः पोखरा एभेन्जर्ससँग (दिउँसो १ः१५)
डिसेम्बर १३ (मंसिर २८) ः लुम्बिनी लायन्ससँग (विहान ९ः१५)
डिसेम्बर १६ (पुष १) ः सुदूरपश्चिम रोयल्ससँग (विहान ९ः१५)
ब्याटिङ बलियो सुदूरपश्चिममा बलरको अभाव
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् भने मुख्य प्रशिक्षक जगत टमाटा, टिम मालिक स्वतन्त्र प्रताप शाह हुन् । जगत टमाटा नेपालकै सफल प्रशिक्षक नेपाललाई ओडिआई मानयता दिलाउने अनी टी–२० विश्वकप र यू–१९ विश्वकपमा समेत सहभागी गराउने प्रशिक्षक हुन् ।
सुदूरपश्चिममा सुदूरपश्चिम क्षेत्रकै ६ खेलाडी छन् । आइकोनिकसहित ७ खेलाडी आफ्नै क्षेत्रका छन् । दीपेन्द्रसहित, विनोद भण्डारी, नरेश बुढाएर, नरेन साउद, खडग बोहरा र भोजराज भट्ट सुदूरपश्चिम क्षेत्रका हुन् ।
त्यस्तै बलर अविनाश बोहरा पनि सुदूरपश्चिम नजिकै कर्णाली प्रदेशका हुन् । यसबाहेक आरिफ शेख पर्सा, अर्जनु कुमाल गुल्मी, इशान पाण्डे र अमित श्रेष्ठ काठमाडौंका खेलाडी हुन् । दीपेन्द्र र आरिफ हाल नेपाली राष्ट्रिय टिममा छन् । यस्तै अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, नरेनश बुढाएरले सिनियर टिमबाट खेलिसकेका खेलाडी हुन् । अर्जुन, खडग र नरेनले उमेर समूहबाट खेलेका छन् ।
सुदूरपश्चिमको विदेशी खेलाडीहरु पनि एसोसिएटका उत्कृष्ट अलराउण्डर छन् । नेपालमा परिचित युएईका रोहन मुस्ताफा, नेपाल आएर खेलिसकका स्कटल्याण्डका ब्याटिङ अलराउण्डर ब्राण्डन म्याकमुलेन, इंग्लयाण्डको भाइटालिटी ब्लास्ट खेलेका सैफ अली जैब र चेन्नई सुपर किंग्सबाट आईपीएल खेलेका न्युजिल्याण्डका बलर स्कट कुगेलेइन सुदूरपश्चिम टिममा छन् ।
सुदूरपश्चिम टिमले अक्सनमा आफ्नै क्षेत्रका खेलाडीहरु धेरै रोजेको थियो । जसका कारण सुदूरपश्चिमको ब्याटर धेरै थिए । त्यसमा विदेशी अलराउण्डरहरु थपिँदा सुदूरपश्चिमको हेभी ब्याटिङ लाइनअप बनेको छ । त्यसमा पनि मिडल अर्डरमा अझ बलियो देखिन्छ ।
चार विदेशी खेलाडीमध्ये तीनजना ब्याटिङ अलराउण्डर छन् भने एक जना बलिङ अलराउण्डर छन् । मार्की दीपेन्द्रसिंह ऐरी पनि अलराउण्डर हुन् ।
यसबाहेक नेपालका आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडक बोहरा, अमित श्रेष्ठ पनि ब्याटर हुन् । क्यानडाबाट एनपीएल खेल्न आएका राष्ट्रिय टिमका पूर्व खेलाडी नरेश बुढाएर पनि ब्याटर हुन् । ब्याटिङमा सुदूरपश्चिमको विकल्प धेरै छ । टिममा रहेका मध्ये ११ जना ब्याटिङ गर्न सक्छन् ।
ब्याटिङमा गहिराई भए पनि बलिङमा भने सुदूरपश्चिम कमजोर देखिन्छ । टिममा अविनाश बोहरा र स्कट कुगेलेइन मात्र प्रोपर बलरको रुपमा छन् । विशेगरी टिममा बलरको संख्या नै थोरै छ । अक्सनबाट लिएका अविनाश बोहरासँगै नरेन साउद र भोजराज भट्ट मात्र बलरको रुपमा छन् ।
सुदूरपश्चिम रोएल्सको टिम
ओनर ः एम्पायर स्पोर्ट्स (स्वतन्त्रप्रताप शाह)
मार्की प्लेअर ः दीपेन्द्र सिंह ऐरी
अन्य खेलाडी ः आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, नरेश बुढाएर, इशान पाण्डे, अर्जुन कुमाल, अमित श्रेष्ठ, नरेन साउद, खडक बोहरा, भोज राज भट्ट
विदेशी खेलाडी ः ब्राण्डन म्याकमुलेन, सैफ अली जैब, स्कट कुगेलेइन, रोहन मुस्ताफा
मुख्य प्रशिक्षक ः जगत टमाटा
मेन्टर ः ब्राड हज
ब्राण्ड एम्बासडर ः दीपक विष्ट (ओलम्पियन)
सुदूरपश्चिमको खेल तालिका
डिसेम्बर ३ (मंसिर १८) ः विराटनगर किङ्ससँग (विहान ९ः१५)
डिसेम्बर ५ (मंसिर २०) ः काठमाडौं गुर्खाजसँग (दिउँसो १ः१५)
डिसेम्बर ७ (मंसिर २२) ः लुम्बिनी लायन्ससँग (विहान ९ः१५)
डिसेम्बर ८ (मंसिर २३) ः चितवन राइनोजसँग (दिउँसो १ः१५)
डिसेम्बर ११ (मंसिर २६) ः जनकपुर बोल्ट्ससँग (विहान ९ः१५)
डिसेम्बर १५ (मंसिर ३०) ः पोखरा एभेन्जर्ससँग (दिउँसो १ः१५)
डिसेम्बर १६ (पुष १) ः कर्णाली याक्ससँग (विहान ९ः१५)
युग संवाददाता । सुर्खेत । १५ मंसिर २०८१, शनिबार १६:०५