कर्णाली राजमार्गमा सवारी चालक र यात्रुकै लापरबाहीले दुर्घटनाको जोखिम बढेको छ । खाल्डाखुल्डी एक लेनको जोखिमपूर्ण कर्णालीको सडकमा चालक तथा यात्रुकै लापरबाहीले सवारी दुर्घटनाको जोखिम निम्त्याइरहेका छन् । चालकले सिट क्षमताभन्दा बढी यात्रु कोच्ने र सिट खाली नहुँदा पनि उभिएर जान तयार हुने यात्रुको लापरबाहीले कर्णाली राजमार्गमा सवारी दुर्घटनाको जोखिम बढेको हो ।
क्षामताभन्दा बढी यात्रु चढाउनेमा हाइस बढी छन् । बढीमा २५ सिट रहेको हाइसले कोलियामा समेत बसालेर ३५ देखि ४० जना कोचेर लिने गरेका छन् । हरेक यात्रुलाई गन्तव्यमा पुग्नै पर्ने बाध्यता भए पनि गाडीको सिट क्षमताभन्दा ओभरलोड भएर यात्रा गर्दा हुनसक्ने जोखिम मध्यनजर गर्न जरुरी छ । नाफा कमाउने क्षणिक आशाले खचाखच मान्छे कोच्ने गाडी चालकको चरम लापरबाहीले गर्दा कर्णाली राजमार्गमा दुर्घटना बढेका छन् ।
दसैं तिहारपछि कर्णाली राजमार्गमा दैनिक सवारी (हाइस) दुर्घटना बढेपछि प्रहरीले कडाइ गरिरहेको भनिए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । सिट क्षमताभन्दा दोब्बर यात्रु कोचेर ल्याउँदा पनि कर्णाली राजमार्गमा पर्ने दर्जनांै प्रहरी चौकी र ट्राफिक प्रहरीले मतलव नै नगरी छोड्नेसमेत गरेको भेटिएको छ ।
जुम्लाको ट्राफिक प्रहरी कार्यालयनजिक बिहीबार सिटभन्दा दोब्बर यात्रु ल्याएर आएको हाइसलाई चेकिङ गर्नुको सट्टा ट्राफिक प्रहरी नै सिट खाली छ । कोलियामा भए पनि भन्दै सोध्न पुगेका थिए । तर पाइला टेक्ने ठाउँसमेत नभएको अवस्थामा प्रहरीले नियमन गर्नुको सट्टा जान खोज्ने भनेपछि उनी फर्किए । यो नजिरले पनि कर्णाली राजमार्गका प्रहरीले सवारी दर्घटना रोक्न नियमनभन्दा पनि मिलेमतोमा गाडी छोड्ने गरिहेका छन् ।
सडक दुर्घटनाले सयौ अकालमै ज्यान गुमाउँदै
सडकको दुरावस्था, चालक र यात्रुकै लापरबाहीका कारण कर्णालीका नागरिकले अकालमै ज्यान गुमाउन बाध्य छन् । कालिकोट पलाता गाउँपालिका–३ राडुनेटामा गत कात्तिक २५ मा पाँच सिट क्षमताको बोलेरो दुर्घटना हुँदा सात जनाको मृत्यु र १३ जना घाइते भए । एक महिनाअघि दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर–१४ रातानालामा दुर्घटना हुँदा चार जनाको मृत्यु भयो । सडक यातायातमा भर्खर पहुँच बढाइरहेको कर्णालीमा पछिल्लो समय लगातार भएका दुर्घटनाका खबरले यात्रु त्रसित बनेका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार गत कात्तिक अन्तिम सातामा मात्रै कर्णालीमा १७ वटा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते छन् । चालु आर्थिक वर्षमा कर्णालीभरि ४८ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको तथ्यांकले देखाएको छ । त्यस्तै २०७६ यता वर्षको अवधिमा ६६६ जनाको सडक दुर्घटनामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कर्णाली प्रदेश प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले अधिकांश सडक दुर्घटना पुराना गाडी, ओभरलोड, साँघुरो तथा बिग्रिएको सडक, चालकको लापरबाही, तीव्र गतिलगायत कारण हुने गरेको बताए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ९७, २०७७/०७८ मा ९८, २०७८/०७९ मा १८०, २०७९/०८० मा १३१, २०८०/०८१ मा ११२ र चालु आर्थिक वर्षमा ४८ जनाको सडक दुर्घटनामा मृत्यु भएको छ । साँघुरो तथा कच्ची बाटो, ओभरलोड, चालकको लापरबाही, ट्राफिक नियमको अनभिज्ञता र पुराना गाडीका कारण कर्णालीमा धेरै दुर्घटना हुने गरेको स्थानीय कालो कामी बताउँछन् । त्यस्तै स्थानीय भक्त परियारले कर्णालीमा थोत्रा सवारीले भनेकै समयमा गन्तव्य पुग्नै मुस्किल हुने बताए ।
उनले भने, ‘२३२ किमि दुरीको कर्णाली राजमार्गमा ५÷६ घण्टा यात्रा गरेर गन्तव्यमा पुग्नुपर्ने हो तर १५÷१६ घण्टा लगाएर पनि पुगिँदैन । धुलो र हिलाले उस्तै सास्ती हुन्छ । कर्णाली राजमार्ग कहिले सुधार हुने होला ?’ शनिबार जुम्लाबाट सुर्खेत हिँडेका भक्त गाडी बिग्रिएछि ५÷६ घण्टाको बाटोमा दुई दिन लगाएर सुर्खेत पुगे । राजमार्गमा झण्डै एक दशकको अवधिमा ९०१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
ती दुर्घटनामा एक हजार ५२७ जना घाइते भएका छन् । तीन वर्षको अवधिमा मात्रै यही सडकमा ३०१ जनाले ज्यान गुमाएका छन् भने झण्डै आठ सय घाइते भएका छन् । साघुँरो र अप्ठेरो सडक, क्षमताभन्दा बढी यात्रु राखिनु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायत कारण राजमार्गमा दुर्घटना बढिरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख जनक भट्टराई बताउँछन् ।
युग संवाददाता । जुम्ला । १६ मंसिर २०८१, आईतवार १५:५२