चार वर्ष अघि ६ घरले सुरु गरेको पट्मारा सामुदायिक होमस्टेमा अहिले आन्तरिक तथा बाह्रय पर्यटक बढ्दै गएका छन् । जुम्लाको पातारासी –७ पट्मारा गाउँमामा रहेका होमस्टेमा अहिले दिनहुँ स्वदेशी र विदेशी पर्यटकहरुलाई पुग्ने गरेका छन् ।
गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्रिने यो जिल्लाको एक मात्र होमस्टेको रुपमा रहेको छ । जुम्लाको सदरमुकाममा खलङ्गामा देखि करिब ९ किलोमिटर दूरीमा रहेको उक्त पट्मारालाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न होमस्टे कोशेढुंगामा सावित भएको छ । यस गाउँ मुगुको राता ताल जाने बाटोको प्रवेशद्वार पनि हो ।
होमस्टेमा दैनिक दुई सय बढी आन्तरिक तथा १० देखि ३० जना बाह्य पर्यटकहरु आउने गरेको होमस्टेकी अध्यक्ष राजकली रावत बताउँछिन् । पाहुनालाई सत्कार सम्मान, बोलीचाली कसरी गर्ने, लगायतका विषयमा तालिम समेत लिइरहेको उनी सुनाउँछिन् । होमस्टेको बारेमा जानकारी लिन उनिहरुले पोखरामा अवस्थित घले गाउँमा पुगेका थिए । त्यहीँ बाट सिकेको सीपले सजिलो भएको रावतले बताइन् ।
पहिले त राम्रोसँग चल्दैन होला जस्तो लागेको थियो। गाउँमा को आउलान् भन्ने पनि थियो, तर अहिले अमेरिका, भारत,जापान, थाइल्यान्ड लगायत विभिन्न राष्ट्रहरु बाट पनि पर्यटकहरू आउने गरेका छन् । उनीहरू भाषा बुझ्न चाहिँ गर्हो नै पर्छ । ‘हामीलाई भाषाको समस्या छ, अरू त खासै छैन ।’ उनले भनिन् । विषेश गरी वर्खाको समयमा बढी पर्यटकहरु भित्रीने गरेका छन् । स्वच्छ वातावरण, खानेपानी, शौचालय, बिजुलीबत्तीलगायतका सुविधा व्यवस्थित गरिएको छ ।
होमस्टे सञ्चालन गरेका घरहरुमा २० देखि ३० जनासम्म बस्न सक्ने क्षमताको छ । चालु आर्थिक वर्षमा १ सय भन्दा बढीले बाह्य पाहुना पुगेका तथ्यांक छ । १ हजार बढी यान्त्रिक पर्यटकले अवलोकन गरे । भने अघिल्ला वर्षहरुमा ५ सय बढी पुगेको देखिन्छ । उनिहरुले पाहुना कति पुगे,भनेर लग बुक इन्ट्री गर्ने गरेका छन् ।
होमस्टे सञ्चालनमा आएपछि आर्थिक गतिविधि पनि बढदै गएको रावतले बताईन् । आउँदा दिनहरुमा अझै सुविधा सम्पन्न बनाउने प्रयत्नमा रेहका उनीहरू अहिले होमस्टेलाई थप व्यवस्थित र सेवालाई प्रभावकारी बनाउन थालेका छन् । पर्यटकीय सम्भावना बोकेको जिल्लाको रूपमा चिनिने जुम्ला रैथाने अर्ग्यानिक बाली उत्पादन हुने प्रमुख थलो मध्य एक हो ।
जुम्ला घुम्न आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँको रमणीय पर्यटकीय स्थल घुमेर मात्र अघाउँदैनन् । रैथाने खाद्यान्नको स्वाद जीवनभरका लागि बोकेर फर्कन्छन् । रारा ताललाई प्राथमिकतामा राखेर घुम्न आउने पर्यटकहरू जुम्लाको बेग्लै तस्बिर लिएर फर्कन्छन् । जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिका छन् । ती मध्ये पातारासी गाउँपालिका पर्यटनका हिसाबले प्रमुख गन्तव्य मानिन्छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस गाउँपालिकाको –७ मा अवस्थित छ पट्मारा गाउँ ।
पछिल्लो समय पट्मारा सामुदायिक होमस्टेका लागि प्रख्यात छ।पारिवारिक ग्रामीण वातावरण, आत्मीयता, स्वादिलो परिकार र किफायती आवासका कारण होमस्टेमा पर्यटकको आकर्षण बढ्दो छ । पट्मारा समुन्द्र सतही देखि २ हजार ,६ मिटर उचाइमा अवस्थित छ । गाउँमा २ सय बढी घर धुरी छन् । होमस्टे स्थानीय जीवनशैली, संस्कृति र आत्मीयताका केन्द्र बनेको छ। यहाँ चुली हिमाल,चुम्लेली झरना ,मालिका पाटन,खाली पाटन,डाँफे लेख लगायतका सम्पदा रहेका छन् ।
होमस्टे कै सचिव कलसी बुढाले प्राकृतिक सुन्दरता नियाल्ने पर्यटकका लागि यो होमस्टे परिचित हुँदै गएको सुनाइन् । ६ सदस्यीय समिति छ । जसमा महिला मात्रै छन् । होमस्टे खोलेपछि यहाँको पर्यटन विकाससँगै यसले आम्दानीको स्रोत उच्चाईमा पु¥याउने काम गरेको छ । ५ लाख बढी बचत गरेको उनले बताईन् । उनले भनीन्, ‘पाहुनाहरूलाई सक्दो आफ्नै हातले अर्ग्यानिक स्वाद दिने कोसिस गरिरहेकी छु । प्रतिक्रिया पनि राम्रै पाएकी छु । पूर्ण सर–सफाई, घरमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनको लागि खाल्डो, जुठेल्नोको पानी व्यवस्थापन, धारा टुटी सहितको बाल्टिनको व्यवस्थापन, सफा र वाटर सिल्ड प्यान सहितको साबुन पानी व्यवस्था भएको पक्की शौचालय, सफा र धुवाँरहित भान्साको व्यवस्था छ ।’
यता हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतले रेडपाण्डा (रातो हाब्रे) संरक्षण नेटवर्कको सहयोगमा होमस्टे बनाइएको बताए । उनका अनुसार मुगुको रारा जाने तथा पट्मारा गाउँको महारुद्र सामुदायिक वनमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा हेर्नका लागि आउने पर्यटकलाई लक्षित गरी पट्मारा गाउँमा होमस्टे सञ्चालन गरिएको हो । होमस्टेमा आउनेहरूलाई आरामदायी बाससँगै स्थानीय उत्पादन फापर, कोदाको रोटी, सिस्नो,लोकल कुखुराको सुप र मासु, खरायोको मासु, आलु, कागुनो, चिनोबाट बनाएको ढिँडो, रोटी, काली मार्सीको भात, खुवाउने मह, घ्यू, दूध,र स्थानीय सांस्कृतिक रीतिरिवाजको प्रदर्शनी समेत गर्ने गुम्बा, मठ मन्दिर, हिमाल, वन्यजन्तु, वनस्पति अवलोकन समेत गराउने होमस्टे सन्चालकहरूको भनाइ छ ।
गाेल्डेन बुढा । जुम्ला । १८ मंसिर २०८१, मंगलवार १३:३५