जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठनपाठन प्रभावित भएको छ । प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुले बढुवाको माग गर्दै प्रतिष्ठानमा ताला लगाएपछि पठनपाठन प्रभावित बनेको हो।दुईसातादेखि प्रतिष्ठानको शैक्षिक भवन, उपकुलपति डाक्टर मंगल रावल, रजिष्ट्रार नृपेन्द महत र रेक्टर डबलबहादुर धामीको कार्यकक्षमा ताला लगाइएको छ ।
प्रतिष्ठानका पदाधिकारीहरुले आन्दोलनरत शिक्षक र कर्मचारीहरूसँग संवाद र सहमतिको वातावरण सिर्जना गर्न सकेका छैनन् । लामो समयदेखि काम गरेका बढुवा नभएको भन्दै ५८ जना शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । शिक्षक कर्मचारीहरुले बढुवा नभएसम्मको लागि कार्यालयमा लागेको ताला नखोल्ने शिक्षक कर्मचारीहरुको खुला चेतावनी छ ।
हाम्रो हातमा बढुवाको नियुक्ति पत्र आउँदैन, तबसम्म ताला नखुल्ने कर्मचारीको अडानले शैक्षिक तथा प्रशासनिक कामकाज ठप्प छ । लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढाइनु, कर्मचारीको पक्षमा अदालतले गरेको फैसला कार्यान्वयन गर्न नमान्नु, कार्यकारी परिषद्ले सभा बैठकमा लिएको स्तरोन्नतिको प्रस्तावमा सैद्धान्तिक सहमति दिँदा समेत पहल अघि नबढ्नु जस्ता कार्यहरुले ताला लगाउन बाध्य भएको शिक्षक तथा कर्मचारीहरु बताउँछन् । यता शिक्षक कर्मचारीको बढुवाको लागि लोकसेवा आयोगको परामर्शका आधारमा अघि बढ्ने प्रतिष्ठान पदाधिकारीहरु बताउँदै आएका छन् ।
शिक्षक कर्मचारीसँग वार्ता गर्न रेक्टर डा. डबलबहादुर धामीको संयोजकत्वमा तीन सदस्यीय वार्ता कमिटी गठन भएको छ । वार्ता टोलीले शिक्षक कर्मचारीहरुलाई वार्तामा बोलाउँदा समेत आउन नमानेको संयोजक डा. धामीले बताए । वार्ता टोलीका संयोजक धामीले भने, ‘आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई वार्तामा बोलाएका छौं । तर उनीहरु बस्न मानिरहेका छैनन् । फलस्वरूप कहिलेसम्म प्रतिष्ठान खुल्ने भन्ने द्विविदा सिर्जना भएको छ ।’ धामीका अनुसार नेपालभरिबाट चिकित्सा शिक्षा पढ्न आएका विद्यार्थीहरु मर्कामा परेका छन् ।
धामीले थपे, ‘शिक्षक कर्मचारीले पदाधिकारीको कक्षमा मात्र ताला लगाएको भए पढाइ प्रभावित हुन्थेन । आन्दोलनको स्वरुप बदल्न आग्रह गरिरहेका छौं । उनीहरु नियुक्तिपत्र हातमा नथमाइदासम्म आन्दोलन रोकिदैन भनिरहेका छन्न्।’
शिक्षक कर्मचारीको आन्दोलनले स्वास्थ्य शिक्षाको हब बनिरहेको कर्णालीबाट नकरात्मक सन्देश फैलिइरहेको उनले बताए ।
युग संवाददाता । जुम्ला । १९ मंसिर २०८१, बुधबार १७:२४