कर्णाली कृषि विकास रणनीति मस्यौदामाथि बुधबार छलफल गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहको अध्यक्षतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आथित्यतामा छलफल गरिएको हो ।
उक्त छलफलमा मुख्यमन्त्री कँडेलले कृषि विकास रणनीतिक दस्ताबेजले कर्णालीको सुन्दर भविष्य बोकेको बताए । कँडेलले दस्ताबेज बनाएर मात्रै नहुने भन्दै दस्ताबेजमाथि सरकार र कर्मचारीहरु जिम्मेदवार बनेर कार्यान्वयनमा लैजानु पर्ने बताए ।
कर्णालीमा पछिल्लो समय बाँझो जग्गाको प्रतिशत बढेको बताउँदै मुख्यमन्त्री कँडेलले बाँझो जग्गामा खेती गरेर कर्णालीको कृषिमा विकास गर्नुपर्ने बताए । उनले कृषि विकास रणनीतिमा उल्लेख गरिएका विषयबस्तुहरु सुन्दर भएका र तिनलाई विश्वसनीयता बनाउनेतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
यस्तै, मुख्यमन्त्री कँडेलले कर्णालीको कृषि परमुखी भएको बताउँदै यसलाई तत्काल सुधार गरेर अगाडी बढ्न सुझाव दिए । उनले भने, ‘नीतिगत रुपमा कृषिसँग सम्बन्धित सबै निकायलाई समावेश गरेर अगाडी बढेपछि सफलतामा पुगिन्छ । कर्णालीमा पशुपालनलाई व्यवस्थित गर्ने, कर्णाली प्रदेशमा बाहिरबाट आयत हुने कृषि उपजहरुको विषादी परीक्षण गर्ने र कर्णालीमा उत्पादन हुने कृषि उत्पादनलाई बजार सुनिश्चितता गर्नुपर्ने आजको आवश्यकता छ ।’
यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री कँडेलले दिएका सुझावहरु सकरात्मक भएको बताए । मन्त्री शाहले कर्णालीको समृद्धि कृषिबाटै गर्न आवश्यक रहेको बताए । उनले भने, ‘हामीले बनाएको नीति, निर्माणहरु व्यवहारमा लागू भएका छैनन् । यस कृषि विकास रणनीतिमा भएका सिद्धान्तहरु व्यवहारमा उतार्नु पर्नेछ ।’
साथै मन्त्री शाहले कर्णाली कृषि विकास रणनीति मस्यौदामाथिको छलफलपछि उठेका सुझावहरुले कृषि रणनीतिलाई समृद्ध बनाउने बताए ।
यस्तै, यसअघि वीरेन्द्रनरमा कृषि मन्त्रालयले कर्णाली कृषि विकास रणनीति मस्यौदामाथि कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरु, सचिवहरु तथा अन्य कर्मचारीहरुसँग बृहत छलफल समेत गरिसकेको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कर्णाली कृषि विकास रणनीतिमा चार वटा खण्ड र १६ वटा अनुसूची राखिएका छन् । जसको खण्ड १ मा परिचय, खण्ड २ मा प्रदेशको पृष्ठभूमी तथा स्थिति विश्लेषण, खण्ड ३ मा कर्णाली कृषि विकास रणनीति, खण्ड ४ मा अनुगमन तथा मूल्याङ्गन प्रणाली छन् ।
यस्तै, खण्ड २ प्रदेशको पृष्ठभूमी तथा स्थिति विश्लेषणमा भौगोलिक तथा प्राकृतिक अवस्था, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत, घरधुरी र जनसङ्ख्या, जनजिविका र आयस्रोत, खाद्य सुरक्षा र पोषण, भू–उपयोगको अवस्था, सिंचाई, बाली उत्पादन स्थिति, पशुपन्छी उत्पादन स्थिति, कृषि सामग्री, स्रोत केन्द्र र वित्तीय सेवाहरू, कृषि शिक्षा, अनुसन्धान र कृषि प्रसार सुविधाहरू, जलवायु परिवर्तन र यसका असरहरु, अवसरहरु, चुनौतिहरु र मुख्य कार्यक्षेत्रहरु, सम्भाव्यतायुक्त बालीबस्तुहरु, नीति र सरकारी संरचना, प्रदेशको संस्थागत क्षमता विश्लेषण, बजेट र खर्चको अवस्था समावेश गरिएको छ ।
त्यस्तै, खण्ड ३ कर्णाली कृषि विकास रणनीतिमा कर्णाली प्रदेशको कृषि रणनीतिको मूल आधार र कर्णाली कृषि विकास रणनीतिको परिकल्पना समावेश छन् ।
यस्तै, खण्ड ४ अनुगमन, मूल्याङ्कन र समिक्षामा अनुगमन दूरदृष्टि, परिणाम, र प्रतिफलहरू, रणनीति कार्यान्वयनको लागि आवश्यक कानुन, प्रमुख सरोकारवाला निकायहरू र भूमिका र कर्णाली कृषि विकास रणनीति मार्गचित्र जस्ता विषयबस्तु समावेश गरिएको छ ।
युग संवाददाता । सुर्खेत । १९ मंसिर २०८१, बुधबार १७:३१