नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले दोस्रो जीत निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न शनिबारको दोस्रो खेलमा विराटनगर किङ्सलाई हराउँदै कर्णाली याक्सले दोस्रो जीत दर्ता गराएको हो ।
यसअघि कर्णाली याक्सले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै पहिलो जीत निकालेको थियो । दोस्रो जीत हात पर्ने क्रममा शनिबार कर्णाली याक्सले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरलाई ७ रनले पराजित गरेको छ ।
विराटनगरलाई दिएको १३४ रनको लक्ष्य रोक्न कर्णाली याक्सका लागि नन्दन यादवले ३ र विपिनप्रसाद शर्माले २ विकेट लिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र युनिश सिंह ठकुरीले समान १–१ विकेट लिए ।
विराटनगरका लागि ३९ बल खेलेका निकोलस किर्तोनले ४० रन बनाए । लोकेश बमले ९ बलमा १९ र दीपक बोहराले १२ बलमा १८ रन जोडे पनि विराटनगरका अन्य खेलाडीले राम्रो योगफल तयार गर्न सकेनन् ।
उसका लागि मार्टिन गप्टिलले ४, बसिर अहमद र अकिब इलियासले समान ८–८, नरेन भट्टले ७ र कप्तान सन्दीप लामिछानेले ६ रनमात्र जोड्न सके । क्रिस सोल १ बल खेलेर शून्य रनमा आउट भए ।
यसअघि देव खनाल र विलियम बोसिस्टोको अर्धशतकीय पारीमा कर्णाली याक्सले विराटनगर किङ्स सामु १३४ रनको लक्ष्य पेश गरेको थियो । कर्णाली याक्सका लागि देव खनालले ४८ बलमा ५३ रन बनाउँदा विलियम बोसिस्टोले कर्णाली याक्सका लागि ४९ बलमा ६६ रनको योगदान दिएका थिए ।
शिखर धवन ५ र चाणविक वाल्टन १ रनमै पभेलियन फर्किएका थिए । यस्तै गुलसन झा १ बल खेलेर बिना कुनै रनमा आउट भएका थिए । कर्णाली याक्सका लागि जिसन मकसुदले ३ बल खेलेर २ रन जोड्दा अर्जुन घर्तीले ४ बलमा मात्र १ रनको योगदान दिए । नन्दन यादव, विपिनप्रसाद शर्मा भने बिना कुनै रन पभेलियन फर्किनु परेको थियो ।
विराटनगर किङ्सका लागि प्रतिश जीसीले ४ विकेल लिँदा वसिर अहमद र क्रिस सोलले समान २–२ विकेट लिएका थिए । अकिब इलियासले कर्णाली याक्सको १ विकेट झारेका थिए ।
युग संवाददाता । सुर्खेत । २२ मंसिर २०८१, शनिबार १६:४०