व्यवसायिक कृषक सञ्जाल नेपाल बाँकेको पाँचौं साधारण सभा तथा दोस्रो अधिवेशनले कृषकका समस्या समाधानका लागि राज्यले ठोस योजना बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीले कृषकले गरेको मेहनतको उचित प्रतिफल नपाएकोमा चिन्ता व्यक्त गर्दै सरकारका नीतिगत त्रुटिहरूको आलोचना गरेका छन् ।
सभा सदस्य चौधरीले किसानका समस्या समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए । उनले अनुदानका नाममा विशेष व्यक्तिहरूलाई मात्र फाइदा हुने व्यवस्था खारेज गर्नुपर्ने भन्दै राज्यले वास्तविक कृषकका लागि उन्नत बीउ, मल, र औजारहरूको सहज आपूर्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । “राज्यले अध्ययनबिनाका योजनाहरू लागू गर्दा स्रोतसाधनको दुरुपयोग हुँदैछ,” चौधरीले भने।
उनले किसानका उत्पादनलाई बजारमा स्थान दिनुपर्नेमा जोड दिँदै, “शीतभण्डारहरू हुँदा पनि नेपाली किसानका उत्पादनले ठाउँ नपाउने र भारतीय उत्पादनले प्राथमिकता पाउने स्थितिले कृषक निराश भएका छन्,” भने।
साधारण सभाले सञ्जालको अध्यक्षमा पुनः शेषकान्त शर्मालाई चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा सफी मो। गुजर, उपाध्यक्षमा झविन्द्र जीसी, महिला उपाध्यक्षमा शारदा शर्मा, महासचिवमा विष्णु पोखरेल, सचिवमा गौरव रेग्मी, र कोषाध्यक्षमा विष्णु कुमारी चौधरी चयन भएका छन्।
सदस्यहरूमा सन्तवीर सुनार, उदिराम वली, नन्दा सिंहजाली, चन्द्र बहादुर जीसी, तेजाकुमारी वली, कमला अर्याल, र राजु चौधरी निर्वाचित भएका छन्। कानूनी सल्लाहकारमा नरेन्द्र न्यौपाने र प्रेस सल्लाहकारमा डिल्ली शाही चयन भएका छन्।
साधारण सभामा सञ्जालका महासचिव विष्णु पोखरेलले ‘बाँकेमा किसान र कृषि अवस्था’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभयो। कार्यपत्रमा जिल्लाका कृषकका समस्या र समाधानका उपायबारे गहिरो छलफल भयो। कोषाध्यक्ष विष्णु कुमारी चौधरीले वार्षिक आयव्यय विवरण प्रस्तुत गरेकी थिइन्।
बाँकेका आठवटै पालिकाका कृषकहरूको उत्साहजनक सहभागितामा सम्पन्न सभाले कृषिमा लगानी वृद्धि, उत्पादनको बजार व्यवस्थापन, र नीतिगत सुधारका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ। सञ्जालका उपाध्यक्ष शारदा शर्माले अतिथि र सहभागीहरूको स्वागत गरेकि थिइन् ।
कार्यक्रमले कृषकका हकअधिकार र उत्पादनको सदुपयोगमा ठोस कदम चाल्न राज्यका जिम्मेवार निकायलाई आग्रह गरेको छ।
युग संवाददाता । बाँके । २४ मंसिर २०८१, सोमबार १४:२०