जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे पाँच वर्षदेखि अलपत्र परेको छ । क्याराभान कन्स्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सन ठेक्का बेचेपछि पुल निर्माण कार्य अलपत्र परेको हो ।
भेरी कोरिडोरको बीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडकसमेत निर्माण हुन मुस्किल भएको छ । भेरी नदीमा एक सय मिटर लामो पक्की पुल साढे दुई वर्षदेखि काम नगर्दा समस्या हुँदै आएको छ । तीन जिल्लाको संगमस्थल रहेको त्रिवेणीमा अहिले ठेक्का खरिद गरेको रेट्रो ट्रेक कन्स्ट्रक्सनले समेत काम नगर्दा पुल निर्माण कार्य पछि धकेलिएको छ । १५ करोड रुपैयाँमा उक्त पुल निर्माण गर्ने भन्दै कम्पनीले पाँच वर्षअघि ठेक्का खोलेको थियो ।
क्याराभान कन्स्ट्रक्सनबाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्स्ट्रक्सनले कहिले बर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेपछि दैनिक समस्या देखिएको छ । निर्माणको जिम्मा पाएका कन्स्ट्रक्सनहरूले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यमा समेत बाधा पुग्ने देखिएको छ ।
हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामग्री आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा टेन्डर खुलाएको थियो । यता रेट्रो ट्रेक कन्स्ट्रक्सनका प्रोप्राइटर बादल बुढाले जिम्मा लिएको पुलको कामसमेत बीचमै अल्झिएको छ । टेन्डर हात पारेको केही समयमै प्रोप्राइटर चन्द्र थकालीले तत्काल काम सुरु गर्ने भन्दै आयोजनाबाट ७२ लाख पेस्की रकमसमेत लिइसकेका छन् । पुल समयमै नबन्दा आयोजनाको निर्माण कार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् ।
जगदुल्ला हाइड्रोपावर कम्पनीले पुल निर्माणमा ढिलासुस्ती गरे कारबाही गर्ने चेतावनी दिएको पाँच वर्ष पुग्न लाग्दा पनि कुनै कारबाही गरेको छैन । यता जगदुल्ला हाइड्रोपावर कम्पनीका सीईयो सञ्जय सापकोटाले भने पुल निर्माणमा तदारुकता नदेखाए कारबाही गर्ने बताए । हाल दुई ठाउँका पिल्लर केही मात्र निर्माण गरेर बीचमै काम अलपत्र पारेको अवस्था छ । पटकपटक ताकेता गर्दा पनि ठेकेदार काम गर्न नआएको उनले बताए ।
ठाउँठाउँमा ठेक्का लिँदै अलपत्र पार्दै आएका थकालीले यो पुलको कामसमेत अर्कोलाई बिक्री गरेर समस्यामा पारेका छन् । भेरी करिडोरका अधिकांश काम लिएका थकाली सधैँ शक्ति केन्द्र धाउने र काम नगर्ने निर्माण व्यवसायीमा पर्दछन् । उनको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय स्तरका नेतासँग हिमचिम छ । ठेक्काको म्याद थप्दा पनि शक्ति केन्द्रसँग गएर भनसुनले काम हुने गरेको छ ।
सडक निर्माण अन्तिम चरणमा
त्रिवेणीदेखि इलसम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुगको सापकोटाले बताए । उक्त सडक जगदुल्ला गाउँपालिकामा निर्माण हुने ड्यामसम्म पुग्ने छ । १० किलोमिटर लामो सडक निर्माण कार्य थालिएको छ । सडक निर्माणको काम अन्तिम चरणमा पुगे पनि पुलको कामले भने समस्या हुँदै आएको छ । आयोजना निर्माणका लागि १४ अर्बको ठेक्का लगाइसकेको अवस्था छ ।
अब ठेक्काको अन्तिम मूल्यांकनको काम जारी रहेको सापकोटाले जानकारी दिए । उता भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले ठेकेदारको लापरबाहीका कारण समयमा काम हुन नसकेको भन्दै आक्रोष पोखे । क्याराभानका ठेकेदारलाई बोलाउँदा समेत उनी मन्त्रीले बोलाएको बैठकमा नआएको मन्त्रीका सूचना प्राविधिक सहायक टेकबहादुर शाहीले जानकारी दिए ।
युग संवाददाता । सुर्खेत । २७ मंसिर २०८१, बिहीबार १४:२४