लुम्बिनी संग्र्रहालय संरक्षण परियोजनामा अमेरिकी दूतावासको सहयोग


नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्करले लुम्बिनी विकास कोष र पुरातत्व विभागका प्रतिनिधिका साथमा लुम्बिनी संग्र्रहालय संरक्षण परियोजनाको उद्घाटन गरेका छन् ।

सो संग्रहालयमा रहेका प्राचीन कलाकृतिको अमूल्य संग्र्रहको सुरक्षण, अभिलेखन र संरक्षण गर्न अमेरिकी दूतावासले राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) मार्फत करिब सवा तीन करोड रुपैयाँको अनुदान बुद्ध फाउन्डेसनलाई प्रदान गरेको छ । उक्त अनुदानले एउटा अत्याधुनिक संरक्षण प्रयोगशालाको स्थापना पनि गर्नेछ जससँगै पुरातात्विक संरक्षणको एउटा क्षेत्रीय हबको सिर्जना हुनेछ ।

‘यस संरक्षण प्रयोगशालाको स्थापना लुम्बिनीका लागि एउटा ऐतिहासिक अग्रगामी कदम हो जसले लुम्बिनीलाई पुरातात्त्विक अनुसन्धान तथा संरक्षणको क्षेत्रीय केन्द्रमा रूपान्तरण गर्दछ’ सार्वजनिक मामिला प्रमुख हार्करले भने, ‘यस परियोजनाले प्रतिस्थापन गर्नै नसकिने कलाकृतिको सुरक्षा गर्ने मात्र नभई नवप्रवर्तन र सहकार्यका अवसरको सिर्जना पनि गरी नेपाललाई सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा एक अगुवाका रूपमा स्थापित गर्नेछ ।’

इसापूर्वको छैटौं शताब्दीदेखि इस्वी संवत्को तेस्रो शताब्दीसम्मका ३०० भन्दा बढी कलाकृति रहेको लुम्बिनी संग्रहालयमा लुम्बिनीको पवित्र स्थलमा उत्खनन गरिएका पक्की माटोका प्रतिमा, ढुंगाका मूर्ति, सिक्का र अन्य अवशेषहरू संग्रहित छन् । यस परियोजना यी सांस्कृतिक निधिको संरक्षणमा एउटा रूपान्तरणकारी कदम हुनेछ । संरक्षण स्थलको सीमितताका कारण हाल यी कलाकृतिमध्ये धेरै वटा काठमाडौंस्थित राष्ट्रिय संग्रहालयमा भण्डारण गरिएका छन् ।

यस पहलले लुम्बिनी प्रदेशको पहिलो र नेपालकै सुरुवातीमध्ये एक आधुनिक संरक्षण प्रयोगशालाको स्थापना गरी लुम्बिनी र यस वरपरका पुरातात्विक स्थलमा रहेका कलाकृतिको अध्ययन, संरक्षण र सुरक्षित भण्डारणलाई सम्भव बनाउने बताइएको छ । त्यसका साथै, एक वृहत् प्रशिक्षण कार्यक्रमले पुरातात्विक संरक्षणमा स्थानीय क्षमता निर्माण गरी भावी पुस्ताका निम्ति नेपालको समृद्ध सांस्कृतिक सम्पदाको अभिलेखन तथा संरक्षण गर्न पेसाकर्मी तथा विद्यार्थीहरूको सशक्तीकरण गर्ने दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया