पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
गएराति उपचारका लागि बिरामी लिएर बुटवल आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जीप दुर्घटना हुँदा जिपमा सवार तीनजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी र जीपचालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो ।
गौरीलाई एक्कासि दम बढेपछि उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा जीप पुलको डिभाइडरमा ठोक्किएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
पुल पार गरिसकेपछिको मोडमा जीप दुर्घटना भएको उनले बताए ।
युग संवाददाता । बुटवल । २९ मंसिर २०८१, शनिबार १६:३०