जुम्लामा युवायुवतीहरुले नमुना गाउँसभा चलाएका छन् । उनीहरुले गाउँसभा मार्फत स्थानीय सरकारको काम कर्तव्य, स्थानीय सरकार संचालन ऐन, युवायुवतिहरुले दिगो विकास लक्ष्य, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघीयतामा युवाका मुद्दा लगायतका विषयमा अभ्यास गरेका हुन् ।
युवा नेतृत्व विकास र निर्णय क्षमता निर्माणको लागि नुमना गाउँसभा चलाइएको थियो । गाउँसभामा हिमा, कनकासुन्दरी र सिँजा गाउँपालिकाका ३० जना युवायुवती सभासदस्य भएर सहभागिता जनाएका थिए । समग्र जिल्लाको विकासको लागि युवा नेतृत्व आवश्यक छ । आगामी दिनमा स्थानीय सरकार सञ्चालन गर्ने अवसरका लागि पनि नमुना गाउँसभा गरेर युवालाई अभिमुखीकरण गरिएको थियो ।
नमुना गाउँसभा एक दिन भरसम्म चलेको थियो । जुम्लाको सिंजा क्षेत्रका गाउँपालिकालाई नमुना बनाई नमुना युवा गाउँसभाको अभ्यास गराईएको आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाका परियोजना संयोजक प्रेम सिंहले बताए । सिंजा उपत्यका गाउँपालिका अध्यक्ष रमेश बुढा, उपाध्यक्ष एलिना योगि, विधायन समिति संयोजक सुस्मा चौलागाँई, सचिव एमुना शाही र लेखा समितिमा सरला खत्रीले भूमिका निर्वाह गरेक थिए गाउँसभामा युवाले बालविवाह रोक्ने बारेको सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए । उनीहरुले स्थानीय सरकारले गाउँसभा मार्फत बालविवाह रोकथाम तथा नियन्त्रण ऐन ल्याएर सचेतना अभियान चलाउनु पर्नेमा जोड दिएका थिए । अन्य युवायुवतिलाई गाउँसभा सदस्य, वडाध्यक्ष, कार्यपालिका सदस्यको भूमिकामा राखिएको थियो ।
गाउँसभाको प्रत्यक्ष अभ्यास युवालाई गराएर नेतृत्व क्षमता विकास गर्ने हेतुले नमुना गाउँसभाको आयोजना गरिएको थियो । कुनै पनि युवा राजनीतिक नेतृत्वमा जानु अघि गाउँसभामा हुने विभिन्न क्रियाकलाप र गाउँसभा सञ्चालन प्रक्रिया र विधिका बारेमा जानकार होस भन्ने तरिकाबाट सहजीकरण गरिएको थियो ।
नमुना गाउँसभामा जिल्ला समन्वय समिति जुम्लाका कार्यवाहक प्रमुख नरबिर सुनारको सहभागिता रहेको थियो । उनीहरुले आफूहरुले गाउँसभा सञ्चालन गर्दा गरिएका हरेक क्रियाकलापका बारेमा अनुभव सुनाएका थिए । नमुना गाउँसभा निकै उपलब्धिपूर्ण रहेको क्याड) नेपाल जुम्लाका परियोजना संयोजक प्रेम सिंहले बताए ।
युवा नेतृत्व अहिलेको अपरिहार्यता हो । सिहंले भने, ‘स्थानीय सरकार सञ्चालन र गाउँसभा आव्हानका बारेमा जानकारी दिन सकेको खण्डमा निकै राम्रो हुनेछ । एक स्थानीय सरकारले गर्ने काम कर्तव्य र अधिकारका बारेमा स्पष्ट पारिएको थियो ।’
नमुना गाउँसभाले युवाहरुलाई सामुदायिक विकासमा देखिएका समस्या समाधानका लागि नेतृत्व गर्ने सीप प्रदान गरेको छ । नेपालको शासन प्रणाली र यसको विकास प्रक्रियाको बारेमा युवालाई सुसूचित गराउँदै युवामैत्री बनाउन र कार्यक्रम निर्माणका लागि स्थानीय तहलाई सुझाव दिने उद्देश्य छ ।
स्थानीय तहमा युवाको सशक्तिकरण तथा सामाजिक, राजनीतिक, शैक्षिक मूल प्रवाहीकरणमा सहभागिता खोज्नु पनि हो । जिल्ला समन्वय समिति जुम्लाका काव प्रमुख नरबिर सुनारले युवाको क्षमता विकासमा सहयोग पुगेको दाबी गरे । युवामा शक्ति हुने भएकाले समाज परिवर्तन गर्न सकिनेछ ।
भविष्यमा राजनीतिको मुल धारमा आउने युवालाई लक्षित गरी नमुना युवा गाउँसभाका अभ्यास गराउनु सबल पक्ष हो । प्लान नेपालको आर्थिक सहयोगमा आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको आयोजनामा नेतृत्व र निर्णय परियोजना अन्तर्गत नमुना गाउँसभा सञ्चालन गरेको गरिएको थियो ।
गाेल्डेन बुढा । जुम्ला । ६ पुष २०८१, शनिबार १२:४९