बाँकेमा पहिलो पटक व्यवसायीक रुपमा स्ट्रबेरी खेती


बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१, च्यामा गाउँका ४३ वर्षीय सर्पराज बस्नेतले पहिलो पटक बाँकेमा व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गरेका छन् । बेरोजगारीका कारण केही नयाँ काम गर्न चाहने सोचसहित बस्नेतले दुई कठ्ठा जमिनमा ‘क्यामारोजा’ जातको स्टोबरी खेती थालनी गरे ।

भारतको पुणेबाट नौ हजार बिरुवा आयात गरेर कार्तिक महिनामा रोपेका बस्नेतले माघ महिनाको पहिलो साताबाट उत्पादन दिने बताए । उनका अनुसार, बिरुवाले ६० देखि ६५ दिनभित्र फल दिन थाल्छ । पहिलो सिजनमा नै यो खेतीले राम्रो आम्दानी दिनेमा उनी विश्वस्त छन् ।

बस्नेतले खेती सुरु गर्नुअघि कृषि विज्ञ डाक्टर शसन देवकोटा र दाङका कृषि व्यवसायी बिरेन्द्र खड्कासँग सल्लाह लिएको बताए । बाँकेको उष्ण वातावरणमा यो खेती सफल हुनेबारे प्रारम्भिक शंका भए पनि मेहनत र उचित परामर्शले सफलताको बाटो खोलेको उनले बताए ।

स्टोबरी खेतीमा नियमित स्याहार, माटोको गुणस्तर, र सिँचाइ व्यवस्थापनजस्ता कुरामा विशेष ध्यान दिनुपर्ने बस्नेतको भनाई छ । बस्नेतले एकदमै मेहनत लाग्ने समुन्द्री सतहदेखि ३५ सय मिटरसम्म यो खेती हुने र ‘एक बुटामा औसत आधा किलो फल उत्पादन हुने, तर राम्रो स्याहार गर्दा प्रति बुटा पौने एक किलो उत्पादन लिन सकिने सम्भावना रहेको’ बताए ।

स्ट्रबेरी खेतीमा ठूलो लगानी भए पनि बस्नेतले पहिलो सिजनमा चार लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखे । यसका साथै, बिरुवा उत्पादन गरेर बिक्री गर्ने योजना पनि बनाएका छन् ।

यो खेती बाँके जिल्लाका लागि एकदमै नयाँ प्रयोग हो । सर्पराज बस्नेतले पहिलो पटक स्ट्रबेरी खेती सुरु गरेर अन्य किसानलाई पनि यो व्यवसायतर्फ आकर्षित गर्न चाहेका छन् । ‘खेतीबारीमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन यो मेरो प्रयास हो,’ बस्नेतले भने ।

उत्पादनका लागि नौ हजार बिरुवा रोपेका बस्नेतले बिरुवा आयात गर्न दुई दिनको समय लागेको जानकारी दिए । माटोको उपयुक्तता र जलवायुको असरको गहिरो अध्ययन गरेर अघि बढ्दा यो खेती सफल हुनेमा उनी ढुक्क छन् ।

स्टोबरी खेतीमा ध्यान दिनुपर्ने चुनौती भए पनि राम्रो बजार मूल्य, उपभोक्ताको माग, र उत्पादनबाट हुने आम्दानीले यसलाई आकर्षक बनाएको छ ।

सर्पराज बस्नेतले बाँकेमा पहिलो पटक स्टोबरी खेती सुरु गरेर कृषि क्षेत्रमा नयाँ आयाम थपे । अब उनले बिरुवा उत्पादन र बिक्रीमार्फत अरूलाई पनि यो खेतीमा प्रेरित गर्न चाहेको बताए ।

तपाईको प्रतिक्रिया