कर्णाली प्रदेशको राजधानी सहर सुर्खेतको वीरेन्द्रन्द्रनगर बजार क्षेत्रका मुख्य सडकमा रेखाङ्कन गरिएका सडक संकेतहरु खुइलिएका छन् । सवारी तथा यात्रुको बढी चाप हुने वीरेन्द्रनगरका मुख्य सडकमा जेब्राक्रस तथा सडक संकेत नहुँदा र भएका पनि मेटिँदा दुर्घटनाको जोखिम बढेको छ । अहिले वीरेन्द्रनगरका अधिकांश सडकमा जेब्राक्रसदेखि लेन मार्किङसम्म मेटिएका छन् ।
पछिल्लो समय प्रदेश राजधानी भएसँगै वीेरेन्द्रनगरमा सवारी साधनसँगै जनघनत्व पनि बढ्दै गएको छ । यात्रु र सवारीको बढी चाप हुने क्षेत्रमा ट्राफिक लेन व्यवस्थित नुहँदा पैदल यात्रु दुर्घटनामा पर्ने जोखिम उच्च हुँदै गएको छ । वीरेन्द्रनगरका सडकमा ट्राफिक बत्तीको व्यवस्था त गरिएको छैन सडकमा लेनको मार्किङसमेत राम्रोसँग हुन सकेको छैन ।
रत्नराजमार्ग अन्तर्गत धुलियाविट–बाङ्गेसिमल खण्डको मुख्य सडकमा जेब्रा क्रस र सडक चिन्ह भेट्न मुस्किल छ । त्यसैगरी भित्रि सडकको अवस्था पनि यस्तै छ । सडकमा सवारी साधन र जेब्राक्रस व्यवस्थित बनाउने लेन मेटिएपछि जेब्राक्रसमा ओहोरदोहर गर्ने पैदलयात्रुलाई बाटो पार गर्न मुस्किल हुने गरेको छ । लेन मार्किङ र जेब्रा क्रसिङ स्पष्ट नदेखिदा यात्रुसँगै सवारी चालकसमेत झुक्किने गरेका छन् ।
जेब्रा क्रसिङ र सडक चिन्हको अत्तोपत्तो नहुँदा कहाँबाट सडक पार गर्ने भन्ने विषयमा अन्यौल हुने गरेको वीरेन्द्रनगर–३, का मनिषा शाहीले बताइन । यति मात्रै होइन जेब्रा क्रसबाट बाटो काट्दा सवारी चालकहरुले व्यवास्था गर्दा जोखिम मोल्नुपर्ने बाध्यता रहेको उनले बताइन । यात्रुसँगै सवारी चालकमा जेब्रा क्रसिङका बारेमा आवश्यक ज्ञान नहुँदा दुर्घटनाको जोखिम बढेको उनको भनाई छ ।
जेब्राक्रसिङका बारेमा सवारी चालकलाई ज्ञान नै छैन । उनीहरु जेब्राक्रसमा पैदल यात्रु हिँडेकै अवस्थामा पनि सिधै कुल्चनेगरी आउँदा दुर्घटनाको जोखिम हुने गरेको छ । पैदल यात्रुलाई पनि ट्राफिक नियमका बारेमा आवश्यक जानकारी छैन । थाहा भएकाहरु पनि जहाँ पायो त्यहीँबाट सडक पार गर्ने परम्पराले वीरेन्द्रनगरमा सडक दुर्घटना न्यूनिकरणको विषय चुनौतीपूर्ण बन्दै गएको छ ।
मुख्य बजार क्षेत्र मंगलगढीदेखि गणेशचौक लगायतका भित्र सडकहरुमा उचित पार्किङसहितको फुटपाथको व्यवस्था नहँुदा पैदल यात्रुलाई सकस हुने गरेको छ । सहरी सडकहरु वर्षमा दुई र राजमार्गहरु वर्षको एक पटक जेब्राक्रस र सडक मार्किङ गर्ने नियम छ । यसमा सडकको प्रकृति हेरेर संघ, प्रदेश र स्थानीय तहले सुरक्षा सम्वेदनशिलता अपनाउनु पर्ने हुन्छ । वीरेन्द्रनगर क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहले निर्माण गरेका सडकहरु छन् ।
संघ सरकारको जिम्मेवारीमा रहेका सडकहरु सडक डिभिजन, प्रदेशको मातहतमा रहेका सडक प्रदेश सरकार र स्थानीय तहको जिम्मेवारीमा रहेका सडकहरुमा वीरेन्द्रनगर नगरपालिकाले आवश्यक जेब्रा क्रसिङ, लेन मार्किङ, सडक बत्ति लगायतका ट्राफिक संकेत राख्नुपर्ने हुन्छ । तर, नियामक निकाय सडक डिभिजन, प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिका बेखबर बन्दा सास्ती व्यहोर्नुपर्ने बाध्यता रहेको नागरिकको गुनासो छ ।
यता सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख इन्जिनियर खुमबहादुर भण्डारीले सडक डिभिजनको मातहतमा रहेका सडकमा जेब्राक्रस र लेन मार्किङका लागि ठेक्का सम्झौता भइसकेकाले काम अगाडि बढ्न लागेको दावी गरे । विशेषगरी राजमार्गमा जेब्राक्रस र लेन मार्किङको काम आफुहरुको भएको बताउँदै भण्डारीले प्रदेश र वीरेन्द्रनगर नरपालिकाको क्षेत्राधिकारमा रहेका सडकको तथ्यांक नरहेको उनले बताए । प्रदेश र वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेका सडकहरु आफ्नो क्षेत्राधिकारमा नपर्ने उल्लेख गर्दै चाँडै सडक मार्किङको काम सम्पन्न गर्नेगरी अघि बढेको बताए ।
आकाशे पुलको योजना अलपत्र
सवारी साधनको दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले वीरेन्द्रनगरका तीन स्थानमा निर्माण गर्ने भनिएका आकाशेपुलको योजना अलपत्र परेको छ । २०७७ देखि प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले आफ्नो नीति, कार्यक्रम तथा बजेटमा यो विषय निरन्तर समावेश गर्दै आएपनि भौतिक प्रगति भने सून्य बनिरहेको छ ।
रणनैतिक रुपमा महत्वपूर्ण रहेको यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत हुन सकेको छैन । वीरेन्द्रनगर नगरपालिका योजना शाखाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले आकाशे पुल निर्माणको अध्ययनका लागि पुनः परामर्शदाता छनौंट गर्न सूचना जारी गर्न लागिएको बताए । प्रथम पटक गरिएको सूचनामा कसैको पनि आवेदन नपरेपछि पुनः दोस्रो पटक सूचना जारी गर्ने तयारी रहेको वरिष्ठ अधिकृत पौडेलले जनाए ।
‘आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न आवेदन माग गरेका थियौं, तर आवदेन प्राप्त हुन सकेन’ पौडेलले, ‘पहिलो पटक कसैको पनि आवेदन नपरेपछि दोस्रो पटक सूचना निकाल्ने तयारी थालेका छौं ।’ वीरेन्द्रनगरका बजार क्षेत्रमा हुने सवारी साधन दुर्घटनाको दीर्घकालीन समाधानको लागि आकाशेपुल अनिवार्य रहेको उनको तर्क छ । पैदल यात्रुलाई मुख्य स्थानहरुमा आवतजावत गर्न सहज तथा दुर्घटना कम गराउन आकाशेपुल अनिवार्य जस्तै भइसकेको छ । अहिले बढ्दो जनघनत्व, सवारी साधनको चापमा बृद्धि, साँघुरा सडकका कारण पैदल यात्रुलाई सकस हुँदै आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले वीरेन्द्रनगरका आधा दर्जन बढी ठाउँलाई सम्भावित जोखिम स्थल भनेर पहिचान गरेको छ । वीरेन्द्रचोक, मंगलगढीचोक, एरीचोक, बाङ्गेसिमल, एयरपोर्ट चोकलगायतलाई बढी जोखिमस्थल भनेर पहिचान गरेको छ ।
ट्राफिक प्रहरीले पनि बढ्दो दुर्घटना न्यूनीकरणका लागि सर्वसाधारणको बढी चहचलपहल हुने स्थानहरुमा आकाशपुलको बनाउनुपर्ने जनाएको छ । वीरेन्द्रनगरका मुख्य चौकमा आकाशेपुल भए दुर्घटनामा कमी आउने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहरा बताउँछन् ।
वीरेन्द्रनगरमा विशेष सडक सुरक्षालाई ध्यानमा राख्दै ग्रामिण क्षेत्रबाट आएका र ट्राफिक नियमका बारेमा थाहा नपाएका मासिहरुका लागि आकाशे पुल उपयूक्त भएको प्रमख बोहराले बताए । उनले वीरेन्द्रनगर प्रदेशकै सवैभन्दा ठूलो शहर भएको र दुर्घटना पनि बढी हुने हुँदा बढी चहलपहल हुने र दुर्घटना हुन सक्ने स्थानहरुमा आकाशेपुलको आवश्यकता भएको उनको तर्क छ ।
जेब्राक्रस र लेन मार्किङका लागि सडक डिभिजन र वीरेन्द्रनगर नगरपालिकासँग समन्वय भइरहेको उनले बताए । सडकमा अनिवार्य हुनुपर्ने ट्राफिक संकेतहरु नहुँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै पुनः रेखाङ्कनका लागि सम्बन्धित निकायमा अनुरोध भएको बोहराले बताए ।
वान–वे को योजना पनि अलपत्र
वीरेन्द्रनगरमा सवारी चाप र दुर्घटना न्यूनिकरणका लागि अगाडि सारिएको वान–वे अर्थात एकतर्फ मात्र सवारी आवागमनको योजना पनि अलपत्र परेको छ । एक बर्षअघि जिल्ला ट्राफिक प्रहरी कार्यालयले वीरेन्द्रनगरका केही सडकलाई वान–वे बनाउने तयारी थालेको थियो ।
तर ट्राफिक लाइन व्यवस्थापनमै रकम अभाव भएपछि वान–वे को योजना पनि अलपत्र परेको छ । प्रहरीले मंगलगढी चोकदेखी वीरेन्द्रचोकसम्म एकतर्फी सवारी साधनको आवागमन बनाउन वीरेन्द्रनगर नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागेको थियो ।
सडकलाई वान–वे बजारका भित्री सडकबाट मुख्य बजार भएर गुड्ने गाडीहरु अनिवार्य वीरेन्द्रचोक भएर मात्र बाहिरिनु पर्ने, मंगलगढी चोक जान वीरेन्द्रचोकबाट घुमेर यरीचोक वा पिपल चौतारी, बुद्धपथ, गोदामलाइन भएर जानुपर्ने, सवारी साधनले हटियालाइन, सिर्जना मेडिकल हलदेखि दक्षिणतर्फको बाटो, शनिहललाइन, वुद्धपथबाट नेताचोक हुँदै बीच बजार भएर मंगलगढीतर्फ फर्कन नपाउने जस्ता योजना तयार गरेको थियो । तर, हाल यो आयोजना अन्यौलमा परेको छ ।
फुटफाथमै व्यापार
वीरेन्द्रनगर बजार क्षेत्र विशेषगरी रत्नराजमार्ग अन्तर्ग धुलियाबिट–मंगलगढी हुँदै बाङ्गेसिमल खण्डमा पर्ने अधिकांश क्षेत्रको ट्राफिक व्यवस्थापन भद्रागोल बनिरहेको छ । सवारी र यात्रुको बढी चाप हुने मुख्य क्षेत्र दैलेख रोड चोक, मंगलगढी, यरीचोक, मुलपानी, वीरेन्द्रचौक, गणेश चौक, भैरवस्थान, इत्राम, खजुरा लगायतका क्षेत्रको फुटपाथ ठेलामा व्यापार गर्नेहरुको कब्जामा छ ।
पदैल यात्री हिँड्ने फुटपाथमा साना व्ययवसायीले अव्यवस्थितरुपमा ठेला राख्दा थप दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडककै किनारामा जथाभावी ठेला राख्ने र अटो तथा साना ठुला गाडिहरु पार्किङ गर्दा पैदल यात्रुलाई सहज आवागमनमा बाधा भइरहेको छ । अनावश्यकरुपमा सडक अतिक्रमण हुँदा नियामक निकाय मुख दर्शक बनेर बसेको नागरिकको आरोप छ ।
ओम शाही । सुर्खेत । ८ पुष २०८१, सोमबार ११:३८