लुम्बिनीमा ९ लाख २५ हजार पर्यटक भित्रिएका छन् । आन्तरिक र बाह्य गरी जनवरीदेखि डिसेम्बरसम्ममा उक्त संख्यामा पर्यटक भित्रिएका हुन् ।
जसमा सबैभन्दा बढी पर्यटकमा भारतीय र नेपाली रहेका छन् । गत वर्षको यसै अवधिमा ८ लाख ३२ हजार पर्यटक भित्रिएका लुम्बिनी विकास कोषका सूचना अधिकृत डा.हरीध्वज राईले बताए ।
राईका अनुसार लुम्बिनी भ्रमणमा आउनेमा सबैभन्दा बढी स्वदेशी पर्यटक रहेका छन् भने दोस्रोमा भारतीय र तेश्रोमा अन्य मुलुकका छन् । गत ११ महिनामा ५ लाख ८९ हजार नेपालीले लुम्बिनीलाई भ्रमण गन्तव्य बनाएका छन् । त्यसैगरी दुई लाख ४३ हजार भारतीय सो अवधिमा लुम्बिनी आउँदा तेश्रो मुलुकका ९२ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेको उनले बताए ।
गत वर्षको यही अवधिमा नेपालीहरु पाँच लाख ४३ हजार, भारतीय २ लाख २५ हजार तथा तेश्रो मुलुकका ७६ हजार २ सयले लुम्बिनीलाई गन्तव्य बनाएका थिए । गत वर्षको तुलनामा अहिले सबै खाले पर्यटकहरु ९० हजारभन्दा बढी आएका सूचना अधिकृत राईले बताए ।
तथ्यांकअनुसार बुद्धजन्मस्थल लुम्बिनीमा अहिले पर्यटक बढेको देखिन्छ । धार्मिकसँगै पूर्वी एसिया र युरोपियन महादेशका पर्यटक पनि धेरै आएका छन् । ११ महिनामा सबैभन्दा बढी विदेशी पर्यटक श्रीलंकाबाट २३ हजार आएका छन् भने थाइल्यान्डबाट १६ हजार ९ सय, चीनबाट १० हजार ९ सय, म्यानमारबाट ९ हजार, भियतनामबाट ७ हजार ८ सय, दक्षिण कोरियाबाट ३ हजार ८ सय, जर्मनीबाट २ हजार एक सय ३३ लगायत विभिन्न ६० बढी मुलुकका पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् ।
चिनियाँ बाहेक प्राय पर्यटक स्थल नाका बेलहिया हुँदै लुम्बिनी आउने गरेका छन् । लुम्बिनीमा पर्यटकहरूको मुख्य केन्द्र बुद्धजन्मस्थल मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करिणी कुण्ड, विश्व शान्ति द्धिप, केन्द्रीय नहर, साथै विभिन्न देशले निर्माण गरेका बिहारहरू रहेका छन् । केही पर्यटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका छन् ।
लुम्बिनीमा गत वर्षभन्दा अहिले आध्यात्मिक गतिविधि बढेकोले पनि पर्यटकहरु आउने क्रम बढेको हो । नोभेम्बर महिनामा एक हजार बुद्ध मन्दिरको उद्घाटन र पूजामा विश्वका ४० बढी देशबाट पर्यटकहरू आएका थिए भने नोभेम्बरमै शाक्य मोन्लम पूजामा सहभागी हुन धेरै पर्यटक आएका थिए । लुम्बिनी आउने स्थलमार्ग अझै दुरावस्था रहेको, बुटवल नारायणगढ मार्ग पनि त्यस्तै रहेको कारणले आउन चाहने पर्यटक लुम्बिनी आउन सकेका छैनन् । तर, पनि आगमन बढेको कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले बताए ।
लुम्बिनीमा आध्यात्मिक गतिविधि बढ्दा पर्यटक आगमन बढ्दै गएको लुम्बिनी होटल संघका सस्थापक अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए । आध्यात्मिक गतिविधि बढ्दा एक महिना लुम्बिनीका होटल एवं पर्यटन व्यवसायीले राम्रो लाभ लिन सकेको र यस्तै गतिविधि बढे यहाँको पर्यटन व्यवसाय अझ बढ्ने श्रेष्ठको भनाइ छ ।
युग संवाददाता । भैरहवा । ८ पुष २०८१, सोमबार १३:५१