जुम्लाको सिंजा गाउँपालिका–६ का महिलालाई यतिबेला गाउँमै आलु बिक्री गर्न भ्याइनभ्याइ छ । समूहमा लगाएको आलुको उत्पादन राम्रो भएपछि आलु बिक्री गर्ने काममा महिलाहरु व्यस्त छन् ।
महादेव जनसेवा कृषि उत्पादक कृषक समुहले गतवर्ष देखि दुई हेक्टर क्षेत्रफलमा आलु लगाएको हो । उक्त क्षेत्रलाई गाउँपालिकाले आलुको पकेट क्षेत्र निर्धारण गरेको छ । अन्य क्षेत्रभन्दा सिंजा गाउँपालिका –६ वडामा पर्ने माजखर्क भन्ने ठाउँमा आलु उत्पादन बढी हुन्छ । आलु खेतीलाई बढि प्रथापमकता दिने र उत्पादन पनि धेरै गर्ने भएकाले त्यस क्षेत्रलाई आलुको पकेट क्षेत्र मानिन्छ ।
आलु उत्पादन बढाउने,आयर्जन गरि ग्रामीण क्षेत्रका महिलाहरु आम्दानी स्रोत वृद्धि गर्ने उदेश्य हो । समूहका कोषाध्यक्ष बेलकौरा बुढाले भनिन् अहिलेसम्म दुई लाख ३१ हजार रुपैयाँका आलु बिक्री गर्याैं।आजभोलि आलु बिक्री गर्ने कार्यमा महिला व्यस्त रहेको बुढा बताउँछिन् ।
“बिहान घरको काम सकेर दिनभर गाउँमै दिदीबहिनीसँग आलु खन्ने र बिक्री गर्ने काममा व्यस्त रहन्छौ”, उनले भनिन् । अहिले ७७ क्वीन्टल आलु बिक्री भइसकेको छ । समूहले गाउँबाटै प्रतिकिलो ३० मा आलु बिक्री गर्दै आएको कृषि समुहकी सचिव जोवना बुढाले बताइन् । जुम्लाको स्थानीय जातको आलु खरीद गर्ने ग्राहकहरुको दिनभर गाउँघरमा चहलपहल छ ।
सचिव जोवनाका अनुसार गतवर्ष १ सय ४ क्वीन्टल आलु उत्पादन भएको थियो । उक्त आलु बाट तीन लाख १२ हजार रुपैयाँ आम्दानी गर्याैँ । महादेव जनसेवा कृषि उत्पादक कृषि समुहले लगाएको आलुको उत्पादन अवलोकन गर्नेको पनि निकै हुन्छन् ।
समूहमा ५१ सेयर सदस्यहरु मिलेर सामूहिक आलुखेती गरेका छन् । अन्य खेतीभन्दा आलुखेतीतर्फ निकै आकर्षित पनि छन्, ‘आलुको बजारीकरणको समस्या नभएको उनिहरु बताउँछिन् । त्यहाँको आलु स्थानीय नराकोट बजार सुर्खेत,नेपालगन्ज र जुम्ला पुग्छ । आलु पकेट क्षेत्रमा सिंजा गाउँपालिका अन्तर्गतको कृषि शाखाले गतवर्ष तीन र चालू आर्थिक वर्षमा दुई लाख २४ हजार रकम सहयोग गरेको –६ का वडा अध्यक्ष लालबहादुर बुढाले बताए । वडालाई कृषिमा अगाडि बढाउने प्रयत्नका साथ उक्त समूहलाई व्यवसायमा हौसला बढाउन विभिन्न कृषिका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो ।
गाेल्डेन बुढा । जुम्ला । ९ पुष २०८१, मंगलवार ११:५१