साग बेचेर बालबालिकाको स्कुल फि


जुम्लाको चन्दननाथ नगरपालिका–९ बयालकाटिया गाउँकी तारा गिरी घरको काम सकेर आफ्नो बारीमा मिहिनेत गर्छिन् । साझँपख हरियो साग र धनियाँ टिपेर मुठा बनाउने उनको दैनिकी छ ।

उनले प्रत्येक दिन ६० मुठा साग र ५० मुठा धनियाँ बेच्छन् । प्रति दिन ६ सय हरियो साग र ५ सय रुपैयाँ धनियाँ बाट आम्दानी गर्छिन् । उनको बारीमा लगाएको साग र धनियाँ ल्याउन जुम्ला बजारदेखि व्यापारी बारीमै पुग्छन् ।

गिरीले हरियो साग र धनियाँ बेचेर दैनिक एक हजार एक सय आम्दानी गर्दै आएको बताइन् । साग,धनियाँ बिक्री गरेर घर खर्च चलाउन सहज बनेको सुनाइन् । ‘घरको कामकाज सकाएर दुई भारी बारीमा मिहिनेत गर्छु । साग र धनियाँ प्रति मुठाको १० रुपैयाँमा बिक्री गरेको बताउँछिन् । बारीमा साग,धनियाँ लगाएकी छु,’ ताराले भनिन्, ‘त्यही सागबाट घर खर्च राम्रोसँग चलिरहेको छ ।’

गिरी प्रत्येक दिन साझँपख घरायसी काम सक्ने बित्तिकै बारीमा गएर हरियो साग टिप्ने गर्छिन् । बजारमा हरियो साग किन्नेको हानाथाप हुने गरेको उनले बताइन् । उनलाई घरको बारीमा थोरै मिहिनेतले घर खर्च चलाउन सकिने जानकारी दिइन् ।

उनी जस्तैः उक्त बयालकाटिया गाउँकी धेरै महिलाले हरियो साग र धनियाँ बेच्न थालेकी छन् । अन्य तरकारीको तुलनामा हरियो साग तुरुन्त बिक्री हुने गरेको उनीहरू बताउँछन । चन्दननाथ नगरपालिका–९ कै लालकुरा गिरीले साग र धनियाँ उत्पादन गरि परिवारको गुजारा चलाउँदै आएकी छन् । हरियो सागबाट बालबालिकाको स्कुल फि तिर्न, अन्य घर खर्च चलाउन सजिलो हुने गरेको उनको अनुभव छ ।

उनले हरियो सागबाट आएको आम्दानीबाट केही रकम बचत पनि गरेको बताइन् । ‘एक भारी जग्गामा धनियाँ र साग लगाउँदै आएकी छु, अहिले बारीमा साग मात्र छ,’ लालकुराले भनिन्, ‘दैनिक ५० मुठा साग र ३० मुठा धनियाँ बिक्री गर्छु, आम्दानी पनि राम्रै छ ।’ उनले पनि साग बेचेरै दैनिक पाँच सय र धनियाँबाट तीन सय रुपैयाँ आम्दानी हुने गरेको सुनाइन्। आजभोलि जुम्लाको सदरमुकाम खलंगा बजारमा साग र धनियाँको अत्यधिक माग बढेको छ । माग बढेको बेला बिहान सबेरै र साँझपख साग र धनियाँको व्यापार धेरै हुने गरेको किसानहरूले बताएका छन् ।

अहिले साग बेचेर किसानले मनग्य आम्दानी गरिरहेका छन् । जुम्लाको प्रमुख व्यापारिक केन्द्र खलंगा बजारमा साग र धनियाँ प्रति मुठाको १५ रुपैयाँमा खुद्रामा बिक्री भइरहेको किसानको भनाइ छ । खलंगा बजार र छेउछाउका गाउँका किसानले बिक्री गर्न ल्याउने हरियो साग,धनियाँ सजिलै बिक्री हुने गर्दछ ।

यस्तै अर्की राजकन्या गिरी पनि साग,धनियाँ बेचेर मनग्य आम्दानी गर्न सफल भएको बताउँछिन् । उनले ‘हरियो’ साग बेचेर प्रति दिन ५ सय रुपैयाँ कमाइ गर्छिन् । दैनिक ५० मुठा साग बेच्छिन् । उनिहरुलाई गाउँमा सडक पुगेपछि व्यावसायिक बन्न सजिलो भएको हो । सदरमुकाम खलंगादेखि गाउँसम्म सडक बनेपछि गाउँको कृषि उत्पादनले बजार पाएको छ । राजकन्याले भनिन, “पहिले–पहिले साग त्यत्तिकै कुुहिएर जान्थ्यो, गाईबस्तुलाई खुवाउनुपथ्र्यो, अहिले बजारमा बिक्री हुन्छ ।”

त्यो बयालकाटिया गाउँमा ८० घरधुरी छन्। ४० घरधुरीले प्लास्टिक घर(ग्रिन हाउस)मा साग र धनियाँ खेती गर्दै आएका छन् । यहाँको साग र धनियाँ जैविक र स्वादिलो हुने हुँदा उपभोक्ताको पनि रोजाइमा पर्ने गरेको छ । यता उक्त गाउँका बुद्धिजीवी तुलराज गिरी( उमेश) का अनुसार एक प्लास्टिक घरभित्र उत्पादन गरेको साग र धनियाँ देखि २५ हजार रुपैयाँ कमाउँछन् ।

तपाईको प्रतिक्रिया