सुदूरपश्चिमको पुँजीगत खर्च ३२ करोड मात्र


चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा सुदूरपश्चिम प्रदेश सरकारले पुँजीगत बजेट साढे ३२ करोड रुपैयाँ मात्रै खर्च गरेको छ ।

आर्थिक वर्षको मंसिर मसान्तसम्म प्रदेश सरकारले ३२ करोड ३६ लाख रुपैयाँ बजेट खर्च गरेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुँजीगत कार्यको भुक्तानी ३२ करोड ३६ लाख रुपैयाँ र गत वर्षको बाँकी रहेको एक अर्ब रुपैयाँ गरी एक अर्ब ३२ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ ।

हरेक वर्ष समयमा पुँजीगत बजेट खर्च गर्न असमर्थ हुँदै आएको प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६३ दिन ढिलो बजेट ल्याएको कारण बजेट खर्चमा झनै कमजोर भएको छ । १८ अर्ब ७६ करोड २४ लाख २३ हजार पुँजीगत बजेट खर्च गरेको प्रदेश सरकारले यो अवधिमा ७ प्रतिशत मात्रै खर्च गरेको छ ।

कुल बजेटमध्ये १४ अर्ब ५९ करोड ७८ लाख ८४ हजार रुपैयाँ बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक अर्ब रुपैयाँ गत वर्षको बाँकी भुक्तानी गर्दा पुँजीगत खर्च सवा एक अर्ब पुगेको जनाएको छ । सो मन्त्रालयका प्रवक्ता इञ्जिनियर मोहन कुँवरले बजेट ढिला आएको हुनाले भर्खर योजना कार्यान्वयनको प्रक्रिया सुरु भएको बताए । उनले चालु वर्षको पुँजीगत बजेट खर्च हुने अझै समय लाग्ने बताए ।

चालु वर्षका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार विनियोजन गरेको सुदूरपश्चिम प्रदेश सरकारले चालुतर्फको बजेट १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार विनियोजन गरेको छ । चालु बजेटमध्ये मंसिर मसान्तसम्म दुई अर्ब १२ करोड २ लाख ४४ हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीले बताए ।

पुँजीगत खर्च झन् कमजोर बन्दै
सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएदेखि पुँजीगत बजेट खर्च गर्ने दर झन् झन कमजोर बन्दै गएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा सबै भन्दा धेरै (पुँजीगत बजेटको ७१.०८ प्रतिशत) खर्च गरेको थियो । पुँजीगततर्फ कुल १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार विनियोजन गरेकोमा नौ अर्ब २८ करोड ८५ लाख ७८ हजार रुपैयाँ खर्च गरेको थियो ।

यसैगरी, सबै भन्दा बढी पुँजीगत बजेट २०७९/०८० मा १५ अर्ब ६१ करोड ४८ लाख ६६ हजार खर्च गरेको थियो । सो वर्ष पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएकोमा सोको ६५.५० प्रतिशत खर्च गरेको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा पुँजीगततर्फ १८ अर्ब २४ करोड २६ लाख ३९ हजार विनियोजन गरिएकोमा १२ अर्ब ७० करोड ६ लाख ८० हजार (६९.६२ प्रतिशत) खर्च गरेको थियो । २०७८/०७९ मा १८ अर्ब ९० करोड २० लाख ९४ हजार विनियोजन गरिएकोमा ११ अर्ब ९४ करोड ९७ लाख ५२ हजार (६३.२२ प्रतिशत) खर्च गरेको थियो । २०८०/०८१ मा पुँजीगततर्फ १७ अर्ब २ करोड ५४ लाख ३९ हजार रुपैयाँ विनियोजन गरिएकोमा १० अर्ब ५६ करोड ४६ लाख २७ हजार (६२.०५ प्रतिशत) खर्च गरेको थियो ।

यसैगरी, २०७५/०७६ मा ११ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा ७ अर्ब २३ करोड २६ लाख ८ हजार (६१.७४ प्रतिशत) खर्च गरेको थियो । पहिलो वर्षमा १७ करोड ७१ लाख मात्रै पुँजीगत बजेट विनियोजन गरेको प्रदेश सरकारले ९ करोड ३९ लाख ९९ हजार (५३.०८ प्रतिशत) मात्रै खर्च गरेको थियो ।

आठ आर्थिक वर्षमा कुल दुई खर्ब १८ अर्ब तीन करोड १७ लाख ७१ हजार रुपैयाँ बजेट ल्याइरहेको प्रदेश सरकारले कुल पुँजीगत बजेट एक खर्ब २२ अर्ब ३ करोड ६४ लाख ६९ हजार विनियोजन गरेको छ । यो सात वर्षको अवधिमा प्रदेश सरकारले कुल पुँजीगत बजेटमध्ये ६८ खर्ब ९५ करोड ८४ लाख ७९ हजार रुपैयाँ (५६.५१ प्रतिशत) मात्रै खर्च गरेको छ ।

तपाईको प्रतिक्रिया