भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागिपरेका छौंः मुख्यमन्त्री आचार्य


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागिपरेको बताएका छन् ।

सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागिपरेको उनले बताएका हुन् ।

गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङको लमहीमा बिहीबार आयोजना गरेको प्रदेशस्तरीय नागरिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउँदै सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा लगिएको बताए ।

‘सरकारको नेतृत्व गरेकै दिन भ्रष्टाचारविरूद्ध रणनीतिक योजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेँ । अहिले त्यो योजना तयार भएर कार्यान्वयनमा गएको छ,’ उनले भने, ‘सरकारले नागरिकमा बढ्दै गएको निरासालाई चिर्न सुशासन प्रवद्र्धन र भ्रष्टाचारविरूद्धका अभियानलाई प्राथमिकता दिएको छ । नेतृत्वमा रहेकाहरूलाई नै केन्द्रित गरेर आचारसंहिता निर्माण गरेर लागू गरेका छौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरूलाई आचारसंहिताको निगरानी छ ।’

प्रदेश सरकारले गर्ने कामप्रति नागरिकहरू गुनासो गर्न पाउने र त्यसको सुनुवाइ गर्ने संयन्त्रको विकास गरिएको उनको भनाइ छ ।

‘गुनासा पेटिकामा प्राप्त सुझाव तथा समस्याहरू सम्बोधन गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । यसले जनताको सरकारप्रतिको विश्वास बढ्नेछ,’ उनले भने, ‘जनप्रतिनिधि र कर्मचारीले गर्ने कामहरूलाई पनि गुनासोमार्फत् अघि बढाउन सक्नुहुन्छ ।’

मुख्यमन्त्री आचार्यले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहितामा बाँधिएको र खर्च कटौतीका लागि विशेष पहल गरिएको बताए ।

भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको भनाइ उनको छ ।

‘भ्रष्टाचार रोक्न सबै नागरिक, संघसंस्था र सरकारी निकायले एकैसाथ हातेमालो गर्नुपर्छ। यसले प्रदेशमा सुशासनको सुनिश्चितता गर्न सकिन्छ,’ उनले भने, ‘भ्रष्टाचार विरूद्धको अभियानमा सबै सँगसँगै अगाडि बढ्न जरूरी छ ।’

प्रदेश सरकारले जनमुखी कानून निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै दलित सशक्तीकरण विधेयक, अपांगमैत्री कानून बनाउन आवश्यक विधेयक अघि बढाउने प्रतिबद्धता जनाए ।

गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जितकुमारी बेल्वासेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा नागरिक सम्मेलनको उद्घाटन गरिएको थियो ।

सम्मेलनको तर्फबाट मुख्यमन्त्री आचार्यलाई घोषणापत्र समेत हस्तान्तरण गर्दै कार्यान्वयन गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री आचार्यले सम्मेलनले उठाएका सवालहरूलाई सम्बोधन गरिने बताए ।

तपाईको प्रतिक्रिया