नेपालगन्जबाट हवाई कैलाश दर्शन सुरु

कर्णाली प्रदेशको हुम्ला जिल्लाबाट नजिक पर्ने चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्वीहरुको महत्वपूर्ण धार्मिक स्थल कैलाश मानसरोवरको दर्शन गर्न नेपालगञ्जबाट सहज हुने भएको छ । ईतिहाँसमै पहिलो पटक नीजि क्षेत्रको विमान कम्पनी श्री एअरलाईन्सले नेपालगन्जदेखि विमान चार्टर गरेको खण्डमा सोझै कैलाश मानसरोवरको हवाईजहाजबाट दृश्यावलोकन गराउन सुरु गरेपछि कैलाश मानसरोवर दृश्य हेर्ने तिर्थालु पर्यटकहरुका लागि सुनौलो अवसर सिर्जना भएको हो ।
चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि बर्षेनी हजारौं पर्यटकहरु हुम्ला भएर जाने गरेका छन् । हजारौं पर्यटकहरु हुम्ला भई जाँदा लागत बढने र समय पनि धेरै लाग्ने भएको भन्दै २७ हजार फिट माथीबाट नै पर्वतको अवलोकन गर्न मिल्ने गरी पर्यटकका लागि यो सेवा सुरु गरिएको श्री एअरलाईन्सले जनाएको छ ।
नेपालकै इतिहासमा यस एयरलाईन्सको सिआरआई ७०० एफ ९ एन एएमवी विमानले नेपालगञ्ज बिमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरिएको र विमानबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन सफलतापूर्वक सम्पन्न भयो । नेपाल भूभागबाट यसरी उडान गरिएको यो पहिलो पटक हो ।
‘नेपालगंजबाट नेपाली, भारतीय, विदेशी लगायत तथा धार्मिक पर्यटकहरु आर्कषित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलव्धी हुने सक्ने यस एयरलाईन्सको विश्वास छ’ श्री एअरका प्रवन्धक अनिल मानन्धरद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘श्री एयरलाईन्स, टेम्पल ट्रिप ग्रुप भारत, सिद्धार्थ हस्पिटिलिटि ग्रुप नेपालगन्ज र पथिल होलिडेयज काठमाडौंको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७,००० फिट उचाईबाट गरिएको हो ।
विज्ञप्ती अनुसार उक्त उडान क्याप्टेन प्रफुल्ल बैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको हो । ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गरिने उल्लेख गरिएको छ ।
साथै नेपालगंजबाट कैलाश तथा मानसरोबर दर्शन गराउँदै काठमाण्डौ ल्याई पशुपतिसमेत दर्शन गराउने योजना रहेको प्रवन्धक मानन्धरले जानकारी दिए । तर यसका लागि भने यात्रुले नेपालगन्जदेखि काठमाडौंको अलग भाडा तिर्नुपर्ने उनको भनाई थियो ।
अब कैलाश मानसरोवर दर्शन गर्न चाहने पर्यटकले नेपालगन्जबाट जहिले पनि जहाज वुक गर्न पाउने भएका छन् । यदि ३५ जनाको समूह भएको खण्डमा सामान्य भाडा नौ लाख तिर्नुपर्ने छ भने २५ जनाको हकमा साढे ६ लाख रुपैंया लाग्ने भएको हो ।
नेपालगञ्जले बाँच्ने आधार पायोः सिग्देल
नाटा बाँके च्याप्टरका अध्यक्ष तथा पर्यटन व्यवसायी श्रीराम सिग्देलले प्रादेशिक राजधानी खोसिएपछि भोकाएको बाँके अब कैलाश मानसरोवरका कारण बाँच्ने प्रतिक्रिया दिए । धार्मिक पर्यटकहरु सबैभन्दा धेरै भारतबाट कैलाश मानसरोवर दर्शन गर्न जाने गरेका छन् । विगतमा पनि नेपालगञ्ज भएर जाने गरेका थिए । यसको सबैभन्दा ठूलो बजार भारत नै हो ।
हिजोका दिनमा स्थलमार्गमार्फत मानसरोवर जानेहरुको संख्या धेरै थियो । सबैभन्दा छोटो रुट यहिँबाट भएको छ । उनी भन्छन, ‘उक्त उडान विहान गर्नुपर्ने भएका कारण पर्यटकहरु एक दिन अगाडी नेपालगञ्ज आइपुग्नुपर्ने हुन्छ । उहाँहरु यहि बस्नुपर्ने भएका कारण यहाँको व्यवसायमा थप प्रर्वद्धन हुने देखिन्छ । आज (सोमबार) भएको सफल उडानलाई थप व्यवस्थित गराउन सक्ने हो भने नेपालगन्जको कायापलट हुनसक्छ ।’
उनले नेपालगञ्ज भारतसँग सिमा जोडिएको शहर भएको बताउँदै भारतीय पर्यटक भित्र्याउन र पश्चिम नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न सरकार लाग्नुपर्ने धारणा राखे । यस्ता कार्य नीजि क्षेत्रले गरेपछि मात्र सफल हुने अवस्था आउनु विडम्वना भएको उनको भनाई थियो ।
राजधानी गुमाएको नेपालगन्जले बाँच्ने आधार पाएको बताउँदै अध्यक्ष सिग्देलले अरु विमान कम्पनीले पनि यस्तो व्यवस्था गर्न सकेको खण्डमा यसले समृद्ध नेपालगन्ज बनाउन सहयोग पुग्ने बताए । नाटा लुम्विनि अध्यक्ष रचना पन्तले लुम्विनि प्रदेशको लागि नयाँ पर्यटकीय गन्तब्यको रुपमा कैलाश मानसरोवरले स्थान लिने बताईन । उडानहरु यसलाई नियमित गर्न सकेको खण्डमा यसले नेपालगञ्जको समृद्धिमा महत्वपूर्ण योगदान दिने अपेक्षा आफूहरुको रहेको उनको भनाई थियो ।
सरकारले अब यो पर्यटकीय क्षेत्रलाई लुम्विनि, बागेश्वरी हुँदै कैलाशसम्म जोडन आवश्यक प्रर्वद्धनात्मक कार्यक्रम गर्न आवश्यक छ । यसका लागि आवश्यक भौतिक पूर्वाधारहरुको विकास गर्नुका साथै विभिन्न सूचनामूलक कार्यक्रमहरु अघि बढाउन जरुरी छ । उनी भन्छिन, ‘यसले लुम्विनि र कर्णाली आउने पर्यटकलाई एक पटक मानसरोवर दर्शन गरौं भन्ने धारणा बनाउन सकेको खण्डमा नेपालगन्ज धार्मिक तथा एडभेञ्चर टुरिजमका लागि उपयुक्त स्थान हुने सम्भावना हामीले देखेका छौं ।’
कर्णालीका पर्यटन व्यवसायी एवम सिद्धार्थ हस्पिटालीटीका सुर्खेत डाईरेक्टर केशव न्यौपानेले नयाँ पर्यटकीय रुट तय हुनु खुशीको कुरा भएको बताए । उनले कोभिडपछि नै मानसरोवर दर्शन गर्न भारतीय पर्यटकले बिजा नपाईरहेको स्मरण गराउँदै नेपालको लाप्चा भएर दर्शन गर्न सकिने रुटको खोजी भइरहेको भएपनि त्यो बढि कठिन पूर्ण भएको जनाए ।
लाप्चा पुग्न धेरै जटिल अवस्था थियो, अब नेपालगञ्जबाट उडान भएपछि यसले कर्णालीको पर्यटनमा कुनैपनि असर पर्नेछैन । यसले कर्णालीका लागि पनि धेरै ठूलो मदत पुग्छ । उनले भने, ‘कैलाश मानसरोवर दर्शन गर्न जाने पर्यटकलाई हामीले सुर्खेतको काँक्रेविहार, डोल्पाको त्रिपुरासुन्दरी, तथा रारा र शे–फोक्सुण्डो जोडेर तीन रुटमा लैजाने प्रयास गरिरहेका छौं । यसकालागि प्रदेश सरकारले पनि आवश्यक पहल गरिदेओस भन्ने हाम्रो चाहना हो ।’
उनले कर्णालीमा पर्यटक ल्याउन आफू निरन्तर लागिरहेको बताउँदै अब कर्णालीको भेरी नदीमा ¥याफटिंङ गराईने बताए ।
त्यस्तै सुर्खेतमा प्याराग्लाईडिंङसमेत गर्न लागिएको उनको भनाई थियो । जहाज सिधैं नेपालगञ्जबाट उडान भरेर फेरि नेपालगञ्जमै फर्किने भएका कारण यो योजनाबाट कर्णालीलाई खासै फाईदा भने नहुने देखिएको छ । भारत तथा अन्य देशबाट आन्तरिक यात्रुहरु कर्णाली टेक्ने वातावरण भएको खण्डमा मात्रै यहाँको पर्यटन व्यवसाय प्रर्वद्धन हुने अपेक्षा कर्णालीबासीको छ । तर, सुर्खेत विमानस्थलबाट यो जहाज उडाउन आफूहरुले चाहेर पनि सक्ने अवस्था तत्काल नभएको प्रवन्धक मानन्धरको भनाई छ ।
यो जहाजका लागि आवश्यक पर्ने रनवे सुर्खेतमा छैन, सुर्खेतमा रनवे नै नभएपछि यस्ता जहाज उडान गर्न सकिँदैन, उनी भन्छन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले त्यस्ता जहाजहरु सुर्खेतबाटै उडान गर्ने व्यवस्था मिलउनुपर्नेमा जोड दिए ।
‘कर्णाली प्रदेशको हुम्लाबाट कैलाश मानसरोवर दर्शन गर्ने परम्परा उहिले देखिको हो । विगतमा लाखौं दर्शनार्थीहरु कैलाश मानसरोवर दर्शन गर्न कर्णालीको बाटो प्रयोग गरेर जने गर्दथे । त्यसले गर्दा हुम्ला लगायतका जिल्लामा पर्यटकहरुको चाप हुने गर्दथ्र्यो ।’ अध्यक्ष कंडेलले भने, ‘तर यदि नियमित रुपमा त्यस्ता उडान नेपालगञ्जबाटै सुरु भएको खण्डमा त्यसले कर्णालीको अर्थतन्त्रमा कुनैपनि प्रभाव पार्ने सम्भावना नै छैन ।
बरु सरकार, नीजि क्षेत्र लगायत एयरलाईन्सहरु मिलेर सुर्खेतबाटै कर्णालीका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दर्शन तथा अवलोकन गर्ने व्यवस्था गराउन पहल गर्न आवश्यक छ । त्यसका लागि हामीले कहाँ के गर्नुपर्ने हो लाग्छौं, तयार छौं । सरकारले पनि यसमा ध्यान दिनुप¥यो ।’ यद्यपी नेपालगञ्जमा यसरी उडान सुरु हुनु खुशीको कुरा भएको प्रतिक्रिया दिए ।




