सम्पादकीय : जलवायुमैत्री खेती प्रणालीमा जोड दिऔं

पछिल्लो समय बढ्दो जलवायु परिवर्तनको असर कर्णालीमा उत्पादन हुने रैथाने बालीमा पर्न थालको छ । जसका कारण उत्पादनमा ह्राससँगै रैथाने बाली संकटमा पर्दै गएको अवस्था छ । कर्णालीमा उत्पादन हुने रैथाने बालीका रुपमा रहेका जुम्लाको मार्सी, फापर, पहाडमा हुने रैथाने धान, मकै, गहुँ, कोदो बाली र परम्परागत रुपमा गरिँदै आएका केरा खेतीमा हावापानीकै कारण नयाँ प्रकृतिका रोग तथा किराको प्रकोपले लोप हुने खतरा उत्तिकै बढेको छ । कृषकले मेहनत गरिरहने तर अपेक्षाकृत उत्पादन नबढ्दा रैथाने बाली जोगाउने चिन्ता बढिरहेको छ । यीनै समस्याको समाधान गर्न सरकारले प्रयास जारी राखेको छ । कर्णालीका हिमाली, उच्च पहाड, पहाड, भित्री मधेशका जिल्लाहरुमा बदलिँदो हावापानीसँग जुध्ने र छोटो समयमै धेरै उत्पादन दिने बाली तथा फलफुलहरुको विकास गर्ने कार्यलाई तिव्रता दिइएको छ । सुर्खेतको दशरथपुरमा रहेको कृषि अनुसन्धान निर्देशनालय र मातहतमा रहेका निकायहरुले जलवायुसँग जुध्न सक्ने बालीको विकास गरिरहेका छन् ।

विशेषगरी कर्णाली प्रदेशका लागि निर्देशनलयले कृषि अनुसन्धान, अनुसन्धान र प्रविधि विकास तथा प्रवद्र्धन, प्रदेश, स्थानीय तह र गैह्रसरकारी संस्थासँग सहकार्य गरेर स्रोत बीउ÷बेर्ना र नश्लको उत्पादन तथा वितरणमा निर्देशनालय केन्द्रीत भएको देखिन्छ । यति मात्रै होइन रैथाने र स्थानीय कृषि जैविक विविधता संरक्षण, सम्वद्र्धनमा निर्देशनालय विभिन्न जिल्लामा पुगेर आवश्यकताका आधारमा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । कृषकको बारीमै पुगेर देखिएको रोगको निदान र नयाँ बालीको विकास कसरी गर्न सकिन्छ भनेर नयाँ रणनीतिसमेत निर्देशनालयले तयार गरिरहेको छ । डोल्पा र जुम्लामा स्थानीय जातको मकैको सुधार, छिटो पाक्ने गहुँको बीउ उत्पादन, रैथाने जातहरुको बीज बृद्धि तथा गुणस्तर बृद्धि गरेर पञ्जिकरण गराउने काम निर्देशनालयबाट भइरहेको छ । खाद्य र रैथानी बालीमात्रै नभएर निर्देशनालयले फलफुलमा आँप, लिची, नयाँ प्रविधिको प्रयोग, कर्णालीमा भित्रिरहेका किवि, ड्रागन फ्रुट, एभोकाँडाको जातिय परीक्षण र उत्पादन प्रविधि, डोल्पामा अंगुर खेतीको लागि उपयुक्त जात र प्रविधिका विषयमा काम गरिरहेकोे छ । पहाडमा हुने सुन्तलाको फल झर्ने समस्या र हिमाली जिल्लामा उत्पादन हुने स्याउमा गुणस्तर बृद्धि गरी बढी फल्ने जातको परीक्षण भइरहेको जनाइएको छ ।

पछिल्लो समय विश्वव्यापी जलवायु परिवर्तनले कृषि उत्पादनमा प्रत्यक्ष असर पारिरहेको छ । अनियमित बर्षा, खडेरी, बाढी, र तापक्रम बृद्धि जस्ता समस्याहरू समाधान गर्न पनि जलवायुमैत्री खेती आवश्यक हुन्छ । जैविक मल, जीवित बायोचार, र सिँचाइको दिगो प्रविधि अपनाउँदा माटोको उर्वराशक्ति कायम रहन्छ । प्राकृतिक स्रोतहरूको सन्तुलित उपयोगले वातावरणलाई हानी नगरी उत्पादनलाई प्रोत्साहन गर्छ । अनियमित मौसमका कारण खाद्यान्न संकटको सम्भावना घटाउन जलवायुमैत्री कृषि प्रणालीले महत्वपूर्ण भूमिका खेल्छ । जलवायु उत्थाशिल बालीहरू (जस्तै, सुख्खा प्रतिरोधी वा बाढी प्रतिरोधी बाली) लगाउँदा उत्पादनमा निरन्तरता दिन सहज हुन्छ । यसमा परम्परागत ज्ञान र नवीनतम् प्रविधिको मिश्रणमार्फत कृषकहरूलाई सक्षम बनाउँनु राज्यको दायित्व हो । समयानुकुल सीपसँगै तालिम र जलवायुमैत्री प्रविधिको प्रयोगले स्थानीयस्तरमा रोजगारी र आयआर्जनमा वृद्धि गर्न सघाउ पुग्छ । जलवायुमैत्री खेतीले वातावरण, कृषि, र आर्थिक लाभ पु¥याउने हुँदा यो खेती प्रणाली आजको आवश्यकता हो । यसतर्फ तीनै तहका सरकारले ध्यान दिन आवश्यक छ ।

तपाईको प्रतिक्रिया