भैरहवा भन्सारबाट ३९ अर्ब राजस्व असुली


भैरहवा भन्सार कार्यालयले पाँच महिनामा ३९ अर्ब १६ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको तुलनामा यो १९ प्रतिशतले बढी हो । विगत तीन वर्षसम्म खस्केको भन्सार राजस्व संकलनलाई चालु वर्षदेखि सुधारोन्मुख गराउन कार्यालय सफल भएको भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए ।

‘भन्सार विभागले दिएको लक्ष्यअनुसार संकलन गर्न नसकेको हो, तर विगतका वर्षभन्दा सुधार गरेका छौं, समग्र देशको भन्सार राजस्व संकलनको लक्ष्यभन्दा हामीले बढी संकलन गरेका छौं,’ प्रमुख भन्सार अधिकृत रेग्मीले भने । कार्यालयलाई विभागले आर्थिक वर्ष २०८१÷८२ का लागि एक खर्ब ९ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।

कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा वार्षिक लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन गरेको छ । यो भनेको कार्यालयले पाँच महिनामा संकलन गरेको मासिक संकलनको औसतमा ८८ प्रतिशत हो । कार्यालयले गत साउनदेखि ८० प्रतिशतमाथि नै राजस्व संकलन गर्दै आइरहेको छ । कार्यालयले साउनमा ८३ दशमलव ५४, भदौमा ९०, असोजमा एक सय, कात्तिकमा ८३ दशमलव १७ र मंसिरमा ८२ दशमलव १७ प्रतिशत राजस्व संकलन गरेको छ ।

२०७८ पुस ५ बाट नेपाल राष्ट्र बैंकले १८ वटा शीर्षकका विलासिताका विभिन्न वस्तुहरुको आयातमा अनिवार्य प्रतित पत्र (एलसी) खोलेर सत प्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै वस्तु आयातमा कमी हुँदै आउँदा राजस्व संकलन खुम्चिन पुगेको थियो । २०८१ असारसम्म खुम्चिन पुगेको राजस्व संकलन साउन पछि विगतका अढाई वर्षको तुलनामा बढदै गएको हो ।

कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा ६३ दशमलव २४ प्रतिशत, २०७९÷८० मा ४९ दशमलव ४१ र आर्थिक वर्ष २०७८÷७९ मा ९० दशमलव ९४ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । कार्यालयका अनुसार यस नाकाबाट पछिल्लो पाँच महिनामा भित्रिने मुख्य १० वस्तुमा मोटरसाइकल, जिप, कार र भ्यान, पेट्रोल, मोबाइल, टेलिफोन, इलेक्ट्रिक कार, जिप, भ्यान, एम एस विलेट, टायल, डिजेल, मार्बल स्ल्याब, एलपी ग्यास रहेको छ ।

गत वर्षको तुलनामा यस वर्षको ५ महिनामा सबै प्रकारका मोटरसाइकल आयात अत्यधिक बढेको छ । गत वर्ष ३६ हजार ७ सय ३८ गोटा आयात भएकामा यस वर्ष ६७ हजार ३ सय ११ गोटा आयात भएको छ । त्यसैगरी जिप, कार भ्यान गत वर्ष १ हजार २ सय ६२ वटा आयात भएकोमा चालु वर्षको ५ महिनामा १ हजार ४ सय ३९ वटा आयात भएको छ । उता विद्युतीय कार जिप भ्यान आयात गत वर्षभन्दा घटेको छ ।

यस वर्ष १ हजार ६ वटा आएका छन् । गत वर्ष १ हजार १ सय १० वटा आयात भएको थियो । त्यसैगरी मार्बल टायल, स्लाब, एमएस ब्लेडको आयात घट्दा पेट्रोल, मोबाइल फोनको आयात बढेको छ । ५ महिनामा ८४ करोड ९१ लाख ३ रुपैयाँबराबरको १५ लाख ५ हजार किलो विभिन्न किसिमका चकलेट आयात भएको छ । चकलेट आयात मार्बल, स्लयाब र टायलभन्दा बढी छ ।

तपाईको प्रतिक्रिया