रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १३ को रिठ्ठा क्षेत्रमा भेरी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बुधवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । शव गलिसकेको अवस्थामा पानीमा तैरिरहेको भेटिएकोले पहिचानमा समस्या भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ जनाको टोली पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले घटनाको प्रारम्भिक अनुसन्धान जारी रहेको र शवको पहिचान तथा मृत्युको कारण पत्ता लगाउन केही समय लाग्ने बताएका छन् ।
थप विवरणका लागि अनुसन्धान भइरहेको रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
युग संवाददाता । सुर्खेत । २४ पुष २०८१, बुधबार १४:०९