जुम्लामा खस संस्कृतिको भैलोको रौनक


जुम्लाको खस सभ्यता र मौलिक संस्कृतिको भैलो खेलिएको छ । परम्परागत रुपमा खेलिदै आएको खस सस्कृतिको भैलोको यसवेला रौनक छ । पुष १५ गतेबाट जुम्लामा शुरु भएको ठुली भैलो अहिले जुम्लाका गाउँबस्तिहरुमा चलिरहेको छ । जुम्लामा पनि महिला, पुरुषहरु मिलेर भैलो खेलिरहेको पाईएको छ । अहिले उनिहरुले गाउँ गाउँ सहित सरकारी कार्यालयमा समेत भैलो खेल्न थालेका छन् । पौष महिनाको औसी वा प्रतिपदाका दिन देखि खेलिने ठुली भैलोको चर्चा भईरहेको छ ।

ए आउसी बार भैलो, दर वुधवार भैलो । लगायतका चुटकिला सहित भैलो खैल्ने चलन रहेको स्थानीय बताउँछन । तातोपानी गाउँपालिका –१ का पहलमान कुँवरका अनुसार यस बर्ष पनि परम्परागत भैलो खेल्ने काम गरिएको छ । उनका अनुसार गाउँका वुढापाका देखी यूवाहरुको टिमले पनि खस सस्कृतिको भैलो खेलिदै आएको छ । यो भैलो कर्णालीमा पनि ठाउँ अनुसार विभिन्न पोसाकमा सजिएर खेल्ने गरिएको पाईएको छ ।

यस समयमा महिलाहरु, बुढाबुढीहरु स्थानीय गितहरु गाएर भैली भन्दै हरेक आफन्तले घरको आगनमा जाने र भैलो माग्ने’ चलन छ । यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार अहिले भैलो खेल्न कार्यालयमा समेत थालिएको छ । उनका अनुसार पुरानो परम्परा अनुसार साथी संगीहरु बिचमा भैलो खेलिने र त्यहाँबाट प्राप्त चामल, दाल र नगद पछि पाटेभात (बनमा गएर खाने भोज ) खाने चलन रहेको उनको भनाई छ । भैलो खेल्न भने खस सस्कृंतिका पोषाकहरु पहिरन गर्ने चलन पनि छ ।

जानकार रमानन्द आचार्यका अनुसार बाह्रौ शताब्दी तिर जुम्लाका राजा बलिराजको पाला देखि शुरु भएको हिउँदे भैली खेल्ने चलन जोगाएमा हाम्रो मौलिक सस्कृति प्रवर्धन हुनेमा जोड दिनुपर्नेमा जोड दिईएको छ । दशक अघि सम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानिय स्तरको महत्वपूर्ण पर्वको अझै बढि मानिन्थ्यो । जुम्लाका महिला र पुरुषहरुमा खस परम्परा अनुरुप छुट्टा छुट्टै भैलो खेल्ने चलन अनुसार अहिले पुन जागरण हुन थालेको छ ।

जानकारहरुका अनुसार फुर्सदको हिउँदे मौसमलाई मध्यनजर गर्दै मंसिर पुर्णिमामा सानी भैलो सकाएर पुस औसी वा कृष्ण प्रतिपदावाट ठुली भैलो शुरु हुने गर्दछ । भैलो एक प्रकारको मनोरञ्जन गर्ने साधन भएपनि यसको आफ्नै मौलिक महत्व रहेको र हिउँद महिनामा कुनै पनि चाडपर्व नहुने भएकोले न्याश्रो पनालाई हटाउन हिउदै भैली खेल्ने चलन भएको जानकारहरु बताउँछन् ।

जानकारहरुका अनुसार पछिल्लो समयमा भैलेरा भैलेरीले पोषकमा महिलाले फरिया लगाउने, आँचला हाल्ने, गृह लठ्ठी हातमा लिएर भैली खेल्ने चलन छ । भैलो खेलेर संकलन गरेको रकम भैलो समाप्तीका बेला भोज खाएर मनोरञ्जन गर्ने प्रचलन रहि आएको छ ।

परम्परागत रुपमा राजा रजौटाका पालामा बाज (चल) समात्ने र बाज पालेर वेच्ने, तिनीहरुलाई युद्धकला सिकाई एक अर्काको देशका बाज लडाएर मनोरञ्जन गर्ने हिसावले भैलो शुरु गरिएको किवदन्तीमा उल्लेख रहेको जानकार रमानन्द आचार्यको भनाई छ ।

तपाईको प्रतिक्रिया