कर्णालीमा स्वास्थ्य सेवा प्रवाह : विरामी अस्पताल धाउँदै, अस्पताल डाक्टर खोज्द

उदाहरण (१) सुगमता, विरामीको संख्या र पहुँचका आधारमा प्रदेश अस्पताल सुर्खेत कर्णालीकै मुख्य अस्पताल मानिन्छ । चाहे हवाइ उद्धार मार्फत होस् वा पैदल र सवारी यात्रा । कुनै पनि माध्ययमबाट यो अस्पतालमा दैनिक ६ सय बढि विरामीको घुइँचो लाग्छ ।


तर विरामी अस्पताल धाउँदै गर्दा प्रदेश अस्पताल भने अहिलेसम्म विषशेज्ञ चिकित्सककै जोखिमा छ । प्रदेश अस्पतालमा ८० चिकित्सकको दरबन्दी रहेकोमा १८ जना मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । २७ जना करार र ५२ जना छात्रवृत्ति करार र संघसंस्थाबाट खटाएका चिकित्सकले सेवा दिइरहेका छन् ।

प्रदेश सरकार मातहतमा रहेको यो अस्पतालले न्युरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक नै नपाउँदा पटक पटक टाउको र मुटुरोग सेवा नै बन्द गर्नुपर्ने स्थिती हुन्छ । यी दुई विभागका चिकित्सकहरु स्थायी दरबन्दीमा आउन मान्दैनन् । भने संघीय सरकारले छात्रवृतिमा पढेका डाक्टरलाइ रोटेशनमा काज पठाउँदा समेत समयमै हाजिर हुदैनन् । दैनिक विरामीको भिड लाग्ने यो अस्पताल अहिले पनि डाक्टरकै खोजिमा छ ।

प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार अस्पतालमा आउन इच्छुक न्युरोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टरका लागि अस्पतालले आन्तरिक स्रोतबाट पनि व्यवस्थापन गर्ने तयारी गरेको छ । तर डाक्टर नै आउँदैनन् । उदाहररण (२) भौगोलिक दृष्टिकोण तथा कर्णालीका अस्पतालका आधारमा स्वास्थ्य सेवा कार्यालय जाजरकोट मध्ययम खालको अस्पतालभित्र पर्दछ । जाजरकोट अस्पतालमा १३ जना चिकित्सकको स्थायी दरबन्दी रहेकोमा एक जना मात्र कार्यरत छन् । करारका चिकित्सकबाट कार्यसम्पादन भइरहेको छ । अस्पतालमा दुई जना करारका चिकित्सक र नौ जना अन्य क्षेत्रबाट कार्यरत छन् ।

‘एमडिजीपी डाक्टर नहुदाँ जटिल केस हेर्न सकिदैन । अस्पताल आएका जटिल खालका विरामी रेफर गर्न बाध्यछौं’ अस्पताल प्रमुख प्रतिक्षा भारतीले भनिन्, ‘विषेशज्ञ डाक्टर नहुदाँ जिल्लामै हेर्न सकिने विरामी पनि बााह्य जिल्ला रेफर गर्दा ज्यान जोखिम पर्नुका साथै उनीमाथि आर्थिक बोझ पनि बढेको पाइन्छ ।’ उनका अनुसार अस्पतालमा सिजनल रुघाखोकी, ज्वरो, झाडापखला र भिरबाट लडेका तथा कुटपिट जस्ता जटिल खालका विरामी आउँछन् । यो अस्पतालले पनि सरकारसँग डाक्टर मागिरहेको छ ।

उदाहररण (३) भौगोलिक तथा यातायात सेवाका आधारमा सबैभन्दा दुर्गममा रहेको हुम्ला अस्पतालमा एक जना पनि दरबन्दीका चिकित्सक छैनन् । करार चिकित्सककै भरमा सञ्चालन भइरहेको अस्पताल दरबन्दीका डाक्टरलाइ स्वागत गर्न आतुर छ । हाल दुई जना करार र ६ जना छात्रवृत्तिका चिकित्सकले सेवा दिइरहेका छन् । कुल ४४ जना दरबन्दी रहेको यो अस्पतालमा ३५ जना करारकै कर्मचारी कार्यरत छन् । स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेम बहादुर सिंहका अनुसार अस्पतालमा विषेशज्ञ चिकित्सकको मात्रै अभाव छैन । भएका उपकरणहरु पनि पुराना हुदैछन् । भने इसिजी र प्यासेन्ज मनिटर छैन । यस्तै मौषमका कारण औषधि ढुवानीक लागि समयमै जहाज नआउने र आएपनि एरपोर्टमै थन्किदाँ स्वास्थ्य संस्थामा औषधि पुग्न महिनौ लाग्छ ।

‘एमडिजीपी डाक्टर र आवश्यक उपकरण नहुदाँ जटिल खालका विरामी रेफर गर्नुपर्छ, रेफर गर्दा विरामीले आर्थिक सहयोग गरिदिन अनुरोध गर्दछन्’ उनले भने, ‘सहयोगका लागि हामीसँग एक लाख मात्रै बजेट हुन्छ, त्यसबाट सबैलाइ सहयोग गर्न सकिदैन, महंगो हवाइ भाडाले हुम्लाबाट बाह्य जिल्ला गएर उपचार गर्न विपन्न परिवारलाइ मुस्किल हुन्छ । ’सुर्खेत, जाजरकोट र हुम्ला अस्पताल उदाहरण मात्रै हुन् । तर कर्णालीका सबै अस्पतालको अवस्था उस्तै छ । जस्तो सुकै अवस्थामा विरामी अस्पताल धाउछन् । तर सेवा नपाएर फर्किनुपर्ने बाध्यता टरेको छैन । कर्णालीमा विशेषज्ञ चिकित्सक नै निकै न्यून छन् ।

कर्णाली प्रदेश लोकसेवा आयोगले समेत छैटौंं तह माथिका डाक्टर पदपूर्तीका लागि विज्ञापन नखुलाउँदा अस्पतालमा चिकित्सक दरबन्दी पूर्ती गर्न सकस परेको हो । यसअघि प्रदेश लोकसेवा आयोगले खुलाएको सातौ र आठौ तहका चिकित्सकको विज्ञापन पनि स्थगित भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पनि माथिल्लो तहका डाक्टर पठाउन सकेको छैन । तर यसअघि अस्थायीका लागि मन्त्रालयले खुलाएको आवेदनमा पनि माथिल्लो तहका चिकित्सक नआएको पाइएको छ ।

कुन अस्पतालमा कति चिकित्सक ?

सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा एक सय ४५ स्थायी चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेशभर एक सय ७५ स्थायी दरबन्दी रहेकोमा ३० जना मात्रै कार्यरत छन् । अन्य दरबन्दीमा स्थायी पदपूर्ति हुन सकेको छैन । हाल कर्णालीका अस्पतालहरुले करार चिकित्सकहरूको भरमा सेवा दिनुपर्ने अवस्था छ । चिकित्सकहरुको कूल दरबन्दीमध्ये ३० वटा मात्रै पदपूर्ति हुनु निकै कम हो । यस्तै ५३ जना चिकित्सक करार सम्झौतामा कार्यरत छन् । बाँकी ९७ जना छात्रवृत्ति करारअन्तर्गतका हुन् ।

जसअन्तर्गत पूर्वी सुर्खेतको मेहेलकुना अस्पतालले समेत चिकित्सक अभाव झेलिरहेको छ । ११ जना चिकित्सकको स्थायी दरबन्दी रहेको अस्पतालमा एक जना मात्र कार्यरत छन् । बाँकी तीन जना करारमा तथा छात्रवृत्ति र संघसंस्थाबाट ६ जना कार्यरत छन् । जिल्ला अस्पताल दैलेख पनि आवश्यक चिकित्सकविहीन बनेको छ । १३ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा दुई जना मात्र कार्यरत छन् ।

अस्पतालमा करार दरबन्दी पाँच जना, छात्रवृत्ति करार र संघसंस्थाबाट तीन जना चिकित्सक छन् । रूकुमपश्चिम अस्पतालमा एक जना स्थायी दरबन्दीका चिकित्सक कार्यरत छन् । अहिले करारकै भरमा जिल्ला अस्पताल धानिएको छ । अस्पतालमा करार दरबन्दीका दुई जना र छात्रवृत्ति तथा संघसंस्थाबाट आठ जना कार्यरत छन् । कालीकोट जिल्ला अस्पतालमा पनि पर्याप्त चिकित्सक छैनन् । नौ जनाको स्थायी दरबन्दी रहेकोमा दुई जना चिकित्सक मात्र कार्यरत रहेका छन् । त्यहाँ तीन जना करार र पाँच जना छात्रवृत्ति तथा संघसंस्थाबाट कार्यरत छन् ।

मुगु जिल्ला अस्पतालमा नौ जना चिकित्सकको दरबन्दी छ । हाल दुई जना चिकित्सक मात्र दरबन्दीमा कार्यरत छन् । पाँच जना करार र दुई जना छात्रवृत्ति करारबाट कार्यरत छन् । प्रदेशमा स्वास्थ्य सेवातर्फ नौ सय नौ जना कर्मचारीको दरबन्दी छ । तर त्यसमध्ये हाल तीन सय २७ जनाको मात्रै पदपूर्ति भएको छ, पाँच सय ८२ जनाको स्थायी दरबन्दी रिक्त छ । दरबन्दीअनुसार पदपूर्ति नहुँदा करार कर्मचारीकै भरमा सेवा प्रवाह भइरहेको छ ।

प्रदेशभर झन्डै आठ सयको संख्यामा अस्थायी र करार जनशक्ति भर्ना गरिएको छ । करार दरबन्दीमा दुई सय ५२ जना कार्यरत छन् भने अस्थायी र अन्य करारमा गरेर पाँच सय ४६ जना कर्मचारी छन् । कर्णालीका दशमध्ये आठ जिल्लामा जिल्ला अस्पताल छन् । त्यसबाहेक सुर्खेतमा प्रदेश अस्पताल, मेहेलकुना अस्पताल र जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । कर्णालीका अधिकांश जिल्ला अस्पतालमा चिकित्सक नै भेटिँदैनन् । दरबन्दीअनुसार सरुवा नहुने र भएका पनि काजमा सुविधायुक्त क्षेत्रमा जाने समस्या छ । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारबिच राम्रो समन्वय नहुदाँ पनि स्वास्थ्य क्षेत्रमा सुधार आउन नसकेको हो ।

स्टाफनर्स र उपकरण अभाव

कर्णालीका अस्पतालहरुले स्वास्थ्य क्षेत्रका अन्य कर्मचारीसँगै स्टाफनर्स र उपकरणको पनि अभाव झेलिरहेका छन् । सल्यान अस्पताल त्यसैको चरम मारमा छ । अस्पतालमा विषेशज्ञ चिकित्सक त छैनन् नै । त्यसैमा स्टाफनर्सको दरबन्दी पनि पूर्ती नहुदाँ सेवा प्रवाहमा समस्या भएको छ । २०४१ मा स्थापना भएको सल्यान अस्पतालमा चिकित्सकको दरबन्दी रिक्त छ । अस्पतालमा १३ जनाको स्थायी दरबन्दीमध्ये एक जनामात्रै चिकित्सक दरबन्दीमा कार्यरत छन् । छात्रवृत्ति र करार गरी ६ जना र अन्य चिकित्सकले सेवा दिइरहेका छन् ।

अस्पताल प्रमुख अर्जुन बुढाका अनुसार ६१ जना कुल दरबन्दी रहेको यस अस्पतालमा हाल करार सेवासहित ३१ जना कार्यरत छन् । ‘अस्पतालमा विरामीको पाच बढ्दो छ, तर बाल रोग लगाएतका विषेशज्ञ डाक्टर छैनन्’ उनले भने, ‘दरबन्दी अनुसार स्टाफनर्स समेत नहुदाँ सेवा प्रवाहमा समस्या भएको छ ।’ उनका अनुसार अस्पतालमा इकोकार्डीयो ग्राफि र इन्डोसकपी उपकरण नहुदाँ समस्या भएको छ । बजेट अभावका कारण असपताल आफैले उपकरण किन्नसक्ने अवस्था छैन । प्रदेश तथा संघीय सरकारले उपकरण खरिदका लागि सहयोग गर्नुपर्ने देखिन्छ । हाल ५० सैयाको अस्पताल भवन निर्माण भइरहेको छ ।

सेवा दिन घुम्ती शिविर

डोल्पा जिल्ला अस्पतालले घुम्ती शिविर गरेर विरामीलाइ सेवा दिदै आएको छ । अस्पताल प्रमुख रत्नवीर सुनारका अनुसार भौगोलिक कठिनाइका कारण सजिलै अस्पताल पुग्न नसकेका विरामीलाइ अस्पतालले शिविर मार्फत सेवा दिने गरेको हो । ‘एक गाउँबाट अर्को गाउँ पुग्न ४–५ घण्टादेखि माथिल्लो डोल्पा आउजाउ गर्न एक दिन लाग्छ । त्यसैले सबै ठाउँमा सहज स्वास्थ्य सेवा दिन एकदम चुनौति छ’ उनले भने, ‘अस्पतालको पहुँचबाट कोही नछुटुन भनेर हामीले घुम्ती शिविर द्वारा विभिन्न पालिकामा सेवा दिने गरेका छौं ।’

अस्पतालमा नौ जना चिकित्सकको दरबन्दी रहेकोमा दुई जना मात्र कार्यरत छन् । अस्पतालमा एक जना करार र तीन जना छात्रवृत्तिका चिकित्सक छन् । चिकित्सक बाहेक सबैको दरबन्दी पूर्ण छ । बजार र अस्पताल जोड्ने पुल नहुँदा बजार बाट बिरामी आउन ३० मिनेट लाग्छ जुनकी पूल भएको खण्डमा २ मिनेटमा अस्पताल पुग्न सकिन्छ ।
हाल ५ जना मेडिकल अधिकृत, एउटा डेन्टल डाक्टर र एक जना एमडिजीपी डाक्टर कार्यरत छन् ।

अस्पतालमा आखाँ सम्बन्धी उपचार पनि हुन्छ जुन काम अप्थाल्मो असिस्टेन्टले गर्दछन् । यो अस्पतालमा आधारभूत उपचार र प्राथमिक सर्जरी (सिजरियन सेक्सन, एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, ल्यापारोटोमी ) जस्ता आकस्मिक सर्जरी हरू पनि हुन्छ । डोल्पामा बिशेष गरी दम, दमखोकी, न्यूमोनिया जस्ता स्वासप्रस्वास र पाठेघर सम्बन्धी समस्याका विरामी बढि आउँछन् ।

हेर्नुहाेस इपेपर ।