न घोषित रुपमा लोडसेडिङ छ । न त नियमित रुपमा विद्युत आपुर्ती । हिजोआज सुर्खेतमा यही समस्याले सर्वसाधारण हैरान छन् । दिनमा दर्जनौं पटक विद्युत लाइन जान्छ । छिनमै आउने र छिनमै जाने विद्युतका कारण उपभोक्ताहरु सास्ती भोग्न बाध्य छन् । तर यसको समाधान खोज्नेतर्फ सम्बन्धीत निकायले खासै चासो दिएका छैनन् । अझै कति समय यहाँका नागरिकले भोग्नुपर्ने हो, त्यो भन्न सकिने अवस्था छैन । रातको समयमा कम मात्र जाने बत्ती दिउँसोमा अत्याधिक मात्रामा जाने गरेको छ । यसले सर्वसाधारण उपभोक्तालाई त समस्या भएकै छ । त्यो भन्द्या बढी समस्या उद्यागी र व्यवसायीलाई भएको छ । अझ मेसिनरी उपकरण प्रयोग गर्नेहरुको पीडा बयान गरी नसक्नु छ । झ्याप जाने र आउने बत्तीका कारण धेरै मेसिनरी सामानहरु बिग्रिएका छन् । यसको क्षतिपुर्ती कसले दिने ? विना सुचना विद्युत अनियमित भएका कारण गुमेको नोक्सान कसले वेहोर्ने ? आज सर्वसाधारण यही प्रश्नको उतर खोजिरहेका छन् ।
सुर्खेतमा सामान्य हावा चल्दा पनि दिनहुँसम्म विजुली नहुने समस्या नयाँ होइन । खडेरीको समयमा पहिलेबाटै यहाँका बासिन्दाले यो समस्या भोग्दै आएका हुन् । तर पछिल्लो समय अनियमित विद्युतले थप हैरान बनाएको छ । देश लोडसेडिङमुक्त भएको झण्डै दुईवर्ष भइसकेको छ । हाल केन्द्रीय विद्युत प्रशारणलाइन पुगेका ठाउँमा कुनै पनि ठाउँमा लोडसेडिङ छैन । हिजोआज वर्षाको समय भएका कारण पनि विद्युत उत्पादन झनै बढेको छ । तर पनि सुर्खेत लगायतका आसपासका जिल्लामा विद्युत नियमित छैन । सुर्खेतमा विद्युत नियमित नहुनुमा वर्षाैदेखि वीरेन्द्रनगरमा जडान भएका ट्रान्समिटर हरुको स्तरोन्नती अर्थात अपग्रेट नहुँदा यो समस्या आएको विद्युत प्राधिकरण भनाइ छ । यदी यसो हो भने, किन ट्रान्समिटरको स्तरोन्नती नगरेको ? अथार्त यो समस्या समाधान गर्न किन चासो नदिएको ? तर समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुको साटो प्राधिकरण सुर्खेत शाखाले पनि स्थानीयलाई दोष दिएर पन्छिने उपाय गरेको छ ।
वीरेन्द्रनगरका ट्रान्समिटरहरु वर्षाै पुराना छन् । जसकाकारण लोड धान्न नसकेर बारम्बार लाइन जाने गरेको हो । यसको तत्कालको समाधानको उत्तम उपाय भनेको ट्रान्समिटरहरु अपग्रेट गर्ने नै हो । तर विद्युत कार्यालय स्थानीयले ट्रान्समिटर राख्ने जग्गा नदिँदा नयाँ ट्रान्समिटर अपटेड गर्न नसकिएको बताउँछ । आखिर यो समस्या कहिलेसम्म भोग्ने ? स्थानीयलाई देखाएर प्राधिकरण कहिलेसम्म पन्छिने ? अनि नागरिकले कहिलेसम्म यसरी सास्ती भोगिरहने ? कुनै पनि वहानामा नागरिकलाई सास्ती दिने छुट प्राधिकरणलाई छैन । यदी स्थानीयका कारण नयाँ ट्रान्समिटर राख्न समस्या भएको हो भने स्थानीय तहसँग समन्वय गरेर निकास निकाल्नु पर्दछ । स्थानीयले के कारणले अवरोध गरेका हुन्, त्यसको कारण खोज्न जरुरी छ । स्थानीयले पनि व्यक्तिगत फाइदाका लागि विकासमा अवरोध गर्नु हुँदैन । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर हो । यसकारण यहाँ भौत्तिक सुविधाहरुको कमी हुनु प्रतिष्ठाको विषय पनि हो । यसकारण हालको समस्या समाधान गरौं । विद्युत सेवालाई नियमित गर्ने कार्यमा खेलाँची नगरौं ।
(२०७७ साउन १ गते बिहीबार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)
युग संवाददाता । । १ श्रावण २०७७, बिहीबार १०:३३