चार महिनादेखि जारी लकडाउन हटेको छ । गत चैत ११ गतेदेखी सुरु लकडाउन हटाइएको घोषणा सरकारले गरेको छ । कोरोना महामारीका कारण लकडाउन गरिएको थियो । सुरुमा लकडाउन हुँदा काठमाण्डौमा केही व्यक्तिमा मात्र कोरोना भएको थियो । उनीहरु विदेशबाट आएका थिए । तर पनि देशभर कोरोना फैलने आशंकामा सरकारले लकडाउन जारी गरेको थियो । लकडाउनका कारण धेरै समस्याहरु सर्वसाधारणले भोगे । अर्थात गरी खाने बर्गलाई हातमुख जोर्न मुश्किल भयो । एसइई नै रोकियो । विद्यालयहरु बन्द हुँदा शैक्षिक शत्र नै अन्यौलमा भयो । देशको अर्थतन्त्र नै धर्मरायो । यति हुँदाहुँदै पनि लकडाउनकै कारण कोरोना महामारीका रुपमा फैलिन पाएन । भारतबाट आएका व्यक्तिहरुमा कोरोना देखिए पनि समुदाय स्तरमा जुन त्रास थियो, त्यस अनुसार संक्रमणको दर कमजोर नै भयो । यसकारण पनि लकडाउनले रोजोरोटी खोासिए पनि कोरोना संक्रमणका कारण ठूलो महामारी हुनबाट जोगाएकोमा कसैको दुइमत छैन । केही व्यवस्थापकिय पाटोमा भएका कमजोरीका कारण समस्याहरु देखिए पनि लकडाउनका कारण कोरोना संक्रमणको दरलाई नियन्त्रण गर्न सरकार सफल भएकै मान्नु पर्दछ ।
तर यतिबेला कोरोना समुदायमा पुगेको छ । हिजो एक दुई जना मात्र संक्रमित हुँदा लकडाउन थियो । तर आज हजारौं जना संक्रमति हुँदा लकडाउन हटेको छ । कोरोनाकै कारण हुने मृत्युदर कम भएका कारण पनि धेरैलाई कोरोनाको भय कम मात्र छ । सुरुवातमा जति त्रास थियो, अहिले सर्वसाधारणले कोरोनालाई त्यसरी नलिएको देखिन्छ । यही कारण पनि पहिलाको तुलनामा सर्वसाधारणले सावधानी अपनाएको देखिदैन । त्यसमा पनि लकडाउन खुलेपछि संक्रमणको दर थप बढ्ने देखिन्छ । सार्वजनिक यातायात संचालन र विद्यालयहरु संचालन भएमा थप जोखिम बढ्ने निश्चित नै छ । यसकारण पनि लकडाउन खुल्दा केही राहत त होला । तर कोरोना संक्रमण फैलने खतरा पहिलाको तुलनामा बढ्ने अवस्था छ । यस्तो अवस्थामा अब स्वयम् नागरिकहरुले आफ्नो सुरक्षाका लागि विशेष सावधानी अपनाउन जरुरी हुनेछ । लकडाउन खुल्दैमा कोरोना संक्रमण र महामारी अन्त्य भएको पक्कै होइन । लकडाउनका कारण कष्टकर बनेको सर्वसाधारणको दैनिकीलाई सहज बनाउने सरकारी सोच हो । तर संक्रमण रोकिएको भन्ने होइन ।
कोरोना नेपालको मात्र समस्या होइन । यसले विश्वलाई नै थला पारेको छ । त्यसमा पनि छिमेकी देश भारतमा कोरोना संक्रमणको दर उच्च छ । खुला सिमाना भएका कारण पनि भारतबाट संक्रमण भित्रिने जोखिम धेरै छ । हिजोका दिनमा पनि कोरोना भारतबाटै भित्रिएको हो । यसकारण राज्य वा सरकारलाई मात्र देखाएर कसैले पनि आफूलाई जोखिममा नपारौं । आफ्नो, परिवार र समाजको सुरक्षाका लागि पनि हरेकले सावधानी अपनाऔं । स्वास्थ्य सुरक्षा र सावधानी अपनाएर दैनिकी चलाउनेतर्फ ध्यान दिऔं । सामाजिक दुरी कायम राखौं । घर बाहिर निस्कदा मास्कको प्रयोग गर्ने र सेनिटाइजर र साबुन पानीले नियमित हात धुने संस्कार नभुलौं । यसो भएको खण्डमा कोरोनाबाट जोागिन सक्छौं ।
युग संवाददाता । । ८ श्रावण २०७७, बिहीबार १४:०२