सुर्खेत, ९ साउन ।
जिल्लास्थित विभिन्न नागरिक संघ संस्थाका प्रमुख एवम प्रतिनिधीहरुले वीरेन्द्रनगर नगरपालिकाले आगामी दिनमा निर्माण गर्ने कानुनहरु मानव अधिकारमैत्री हुनुपर्ने कुरामा जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअलमार्फत शुक्रवार आयोजना गरेको वीरेन्द्रनगर नपाले तयार गर्दै गरेको मानव अधिकार कार्यान्वयन निर्देशिका मस्यौदाका लागि सुझाव संकलन कार्यशालामा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।
सहभागीहरुले कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नपाले भुमिहीन, सुकुम्वासी, धार्मिक अल्पसंख्यक, दलित, जनजाति, पिछडिएको वर्ग, हिंसा पीडित, गरीब किसान मजदुर, बृद्धबृद्धा, बालबालिका र सबैक्षेत्र तथा वर्गको अधिकार संरक्षित हुने गरी कानुन निर्माण गर्नुपर्ने उल्लेख गरेका थिए ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले वीरेन्द्रनगर नगरपालिकाको मानव अधिकार सुदृढिकरण गर्न र वीरेन्द्रनगर नपाले आगामी दिनमा निर्माण गर्ने कानुनहरु मानव अधिकारमैत्री निर्माण गर्न सहजताका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
मध्यपश्चिम विश्वविद्यालयका उप–प्रध्यापक ललितजङ्ग शाहीले वीरेन्द्रनगर नपाले तयार गरेको मानवअधिकार कार्यान्वयन निर्देशिका मस्यौदा प्रस्तुत गर्नुभएको कार्यक्रमको सहजीकरण इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले गरेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न नागरिक संघ संस्थाका प्रमुख एवम् प्रतिनिधी गरी २५ जनाको सहभागिता रहेको थियो ।
युग संवाददाता । । ९ श्रावण २०७७, शुक्रबार १८:३९