सेनेटरी प्याडमा कमिसन खेल

दैलेख, ११ साउन ।

जिल्लाको नारायण नगरपालिकाले कमिसनको आशामा नियमविपरीत सेनेटरी प्याड खरिद गरेको छ । सरकारी निकायले ५ लाखभन्दा माथिको कुनै पनि सामग्री खरिद गर्दा टेण्डर प्रक्रियामा प्रतिस्पर्धाका आधारमा जानुपर्ने कानुनी व्यवस्था छ । तर नगरपालिकाले लकडाउनलाई बहाना बनाउँदै प्याड खरिद गरेको पाइएको हो ।

नगरपालिकाभित्रका १७ वटा विद्यालयका छात्राका लागि प्याड खरिद कार्यक्रमअन्तर्गत २१ लाख ७१ हजार बराबर सामग्री नियमविपरीत मोटो कमिसनको आसमा खरिद गरिएको पाइएको हो । नगरपालिका शिक्षा शाखाले केही समयअघि लकडाउन देखाउँदै किशोरीका लागि तत्काल प्याड खरिद गर्न नसकिने र आफैं खरिद गर्नु भन्दै विद्यालयको खातामा पैसा पठाएको थियो । तर अहिले सहजीकरणबिना प्याड खरिद गरेपछि विद्यालयहरू अलमलमा परेका छन् ।

नगरपालिका शिक्षा शाखा प्रमुखले लकडाउन देखाउँदै प्रअहरूलाई बोलाएर रकम फ्रिज गर्नुभन्दा विद्यालयको खातामा रकम पठाइदिन्छौं, सामान खरिद गनुहोला भन्दै पैसा पठाएका एक शिक्षकले बताए । तर अहिले सामान कुन हिसाबले खरिद गरियो त्यसको केही जानकारी नभएको ती शिक्षकले बताए । विद्यालयको खातामा रकम गएपछि विद्यालयले खरिद गर्नुपर्ने हो ।

तर नगरपालिकाले खरिद नियमावलीविपरीत आफैंले खरिद गरेर सप्लायर्समार्फत विद्यालयमा पठाउने र बीचमा कमिसनको खेल भएको शिक्षकहरुले गुनासो गरेका छन् । नगरपालिका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले भने सामान खरिदमा एकरूपता र गुणस्तरीयता कायम होस् भनी एउटै कम्पनीबाट खरिद गर्नेबारे सहजीकरण गरिदिएको र यसमा कुनै कमिसनको खेल नभएको बताए ।

तपाईको प्रतिक्रिया