चौरजहारीमा नगर बस सञ्चालन

रुकुम पश्चिम  : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएपछि सर्वसाधरण खुसी भएका छन् ।

नगर क्षेत्रका सर्वसाधारणलाई आवातजावतमा सहजता ल्याउन नगरपालिकाले तीन महिनाअघि नगर बस सञ्चालनमा ल्याएको हो । यसअघि पैदल वा सार्वजनिक सवारीसाधानमार्फत महँगोमा यात्रा गरिरहेका स्थानीयहरु अहिले सहुलियत भाडामा यात्रा गर्न पाउँदा दंग छन् ।

नगरबस सञ्चालनपछि यात्रामा निकै सहजता भएको स्थानीय गोविन्द घर्तीले बताए । ‘पहिले नगरपालिकाका सवारी साधन सञ्चालनमा रहे पनि महँगो थियो’ उनले भने, ‘नगरले ठूला बस सञ्चालनमा ल्याएपछि हामीलाई सहज भएको छ ।’

नगरपालिकाले सहुलियत भाडा दर कायम गरी २६ र ३२ सिट क्षमता भएका तीन वटा बस सञ्चालनमा ल्याएको छ । यसअघि ५०० रुपैयाँभन्दा बढी भाडा तिरेर यात्रा गर्दै आएका यात्रुहरु अहिले १०० रुपैयाँमा यात्रा गरिरहेका छन् ।

त्यसमा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिइएको विद्यार्थी निराजन केसीले बताए । त्यस्तै, अपाङ्गता भएका, सहिद परिवार र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था छ ।
पाँच वर्षमुनिका बालबालिका तथा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था समेत मिलाइएको छ ।

तपाईको प्रतिक्रिया