प्रदेश राजधानी वीरेन्द्रनगरकै ६८ हजार बासिन्दा बेरोजगार

सुर्खेत, १ पुस ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका ६८ हजारभन्दा बढी नागरिक बेरोजगार रहेको पाइएको छ । वीरेन्द्रनगरको कुल जनसंख्या मध्ये रोजगार उमेर समूहका अर्थात १५ वर्षभन्दा माथिका ६८ हजार सातसय १० जना नागरिक बेरोजगार छन् । ति मध्ये ३४ हजार २५ जना रोजगारी नै नपाएर बेरोजगार बनेका हुन् ।

यस्तै ३४ हजार ६ सय ८५ जना भने आफ्नो इच्छा नभएका कारण रोजगारीमा नजोडिएका हुन् । नेपाल इकनोमिक फोरमले गरेको अध्ययनअनुसार वीरेन्द्रनगरमा ९५ हजार तीनसय ३१ जना नागरिक रोजगार उमेर समूहका छन् । नेपाल इकनोमिक फोरम गरेको यो अध्ययन प्रतिवेदनलाई आधिकारिकता दिनेगरी वीरेन्द्रनगरभित्र छलफलमा ल्याइएको छ । हाल युएसएआइडीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाले सहजिकरण गरिरहेको आर्थिक पुनर्लाभ कार्यक्रमले यो तथ्याङ्कलाई आधिकारिकता प्रमाणित हुनेगरी जनप्रतिनिधि तथा अन्य निकायसँग छलफल गरिरहेको छ ।

बुधबार मात्रै आर्थिक पुनर्लाभ कार्यक्रमले वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र निजी क्षेत्रसँग छलफल गरेको छ । वीरेनन्द्रनगरमा कार्य क्षमता भएका धेरै नागरिकहरु बेरोजगार रहेका कारण निजी क्षेत्रका व्यवसायिहरुलाई जनशक्ति अभाव नहुने सहभागीहरुले औल्याएका थिए । सहभागीहरुले नगरपालिकाले रोजगार सिर्जना गर्न र सेवामूलक उद्योगहरुको विकासका लागि सहुलियत कर्जामा पहुँच बढाउनुपर्ने, सहुलियत ऋणका बारेमा आम नागरिकलाई जानकारी दिनुपर्ने, वित्तिय क्षेत्रमा नागरिकको पहुँच बढाउनुपर्ने लगायतका दीर्घकालिन योजनाहरु बनाउनुपर्ने सुझाव दिएका थिए ।

कोरोनाले ८१ प्रतिशत आम्दानीमा गिरावट

कोरोनाका भाइरसका कारण वीरेन्द्रनगरमा निजी क्षेत्रको आम्दानीमा ८१ प्रतिशत गिरावट आएको छ । अध्ययनअनुसार सामान्य अवस्था र मुख्य सिजनको तुलनामा बन्दाबन्दीको अवधिमा नगरभित्रका व्यवसायीहरु नराम्रोसँग प्रभावित भएका छन् । मासिक आम्दानीमा ८१ प्रतिशत गिरावट आउँदा खर्चमा ६९ प्रतिशत कमी आएको अध्ययनले देखाएको छ । सर्वेक्षण अनुसार झण्डै ३० प्रतिशतले कोरोनाका कारण रोजागरी गुमाउनु परेको छ ।

व्यवसायलाई माथि उठाउन कोरोनाका कारण तहसनहस भएका व्यवसायीहरुमध्ये करिव साढे दुई प्रतिशतले मात्रै कर्जा लिएका छन् । नगरका ५८ प्रतिशतभन्दा बढी व्यवसायीसँग कुनै न कुनै प्रकारको कर्जा लिएका छन् । त्यसमध्ये धेरैले लकडाउन अवधिमा कर्जा थप गरेका हुन् । त्यस्तै सरकारले दिने सहुलियत कर्जाका विषयमा पनि अधिकांश व्यवसायीहरु अनभिज्ञ रहेको पाइएको छ । अध्ययन अनुसार २० प्रतिशत व्यवसायीलाई मात्र सरकारले दिएको सहुलियत ऋणका बारेमा जानकार छैनन् । जसमा पनि महिला उद्यमीहरु सहुलियतपूर्ण कर्जा र पुर्नकर्जाका विषयमा बढी अनभिज्ञ छन् ।

उद्योगको संख्या पनि न्यून

यस्तै वीरेन्द्रनगरमा निजी क्षेत्रको उपस्थिति पनि न्यून रहेको पाइएको छ । आर्थिक क्षेत्रको मेरुदण्ड मानिने र रोजगारी सिर्जना गर्ने महत्वपूर्ण निजी क्षेत्रको सहभागीता न्यून रहेको पाइएको छ । वीरेन्द्रनगर नगरपालिकाको तथ्याङ्क अनुसार हालसम्म दुईहजार दुईसय ७० वटा उद्योगहरु मात्रै दर्ता छन् ।

तर नगरपालिकाभित्र दुई हजार तीनसय १५ वटा उद्योग व्यवसाय सञ्चालनमा छन् । जसमध्ये दुईसय २१ वटा उत्पादनमूलक, एकहजार दुईसय ६८ वटा सेवामूलक, ६ वटा पर्यटनमूलक, पाँचसय ३१ वटा कृषि तथा बनमा आधारित र दुईसय ८२ वटा उद्योगहरु निर्माणसँग सम्बन्धित छन् । बाँकी उद्योगहरु दर्ता विनै सञ्चालित छन् । उद्योग दर्ता प्रक्रिया झन्झटिलो भएका कारण बाँकी उद्योगहरु दर्ता प्रक्रियामा सहभागी नभएको वीरेन्द्रनगर पालिकाका वडा नम्बर ६ का वडाध्यक्ष मोतिप्रसाद कँडेलले तर्क गरे ।

यूएसआइडी र तयार नेपालको आर्थिक सहयोगमा सुन्दर नेपालले आयोजना गरेको निजी क्षेत्रको अवस्था लेखाजोखा प्रतिवेदन सम्बन्धी छलफल कार्यक्रममा उनले व्यवसाय गर्दा धेरै ठाउँमा दर्ता गर्नुपर्ने भएकाले व्यवसायीहरुले दता विना नै व्यवसाय सञ्चालन गरेको बताएका हुन् । यस्तै सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले नगरपालिकाले व्यवसायिक कर उठाउन नसकेको बताए । व्यवसायीहरुले पनि मापदण्ड अनुसार ट्याक्स नतिरेको उनको भनाइ छ । वीरेन्द्रनगरकी उपप्रमुख मोहनमाया ढकालले कोरोना भाइरसका कारण निजी क्षेत्रका व्यवसायहरु मारमा परेको बताइन् ।

कोरोनाका कारण धेरैको रोजगारी गुमेको भन्दै उनले नगरपालिकाको आगामी योजनामा रोजगारमुलक कार्यक्रम ल्याएको बताइन् । महामारीबाट प्रभावित हुनेमा बढी महिला रहेको उनको भनाइ छ । उनले रोजगारी मुलक कार्यक्रममा महिला सहभागितालाई जोड दिने बताइन् । यस्तै उनले नगरपालिकाले व्यवसायिक कर उठाउन नसकेको स्वीकार गरिन् । आगामी दिनमा योजना बनाएर काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । वीरेन्द्रनगरको आर्थिक समृद्धिका लागि व्यवसायिक क्षेत्रलाई अगाडी बढाउन जरुरी रहेको उनको भनाइ छ । कार्यक्रममा तयार नेपालका फिल्ड संयोजक नारायण विकले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कोरानाबाट प्रभावित दुईसय जनालाई रोजगारी दिइने

कोरोना महामारीबाट प्रभावित भएका दुईसय जनाले रोजगारी पाउने भएका छन् । कोरोनाबाट प्रभावित भएका दलित, आदिवासी, जनजाती, अपाङ्गता भएका व्यक्ति, विदेशबाट फर्केका नागरिकहरुले दिन कामका लागि नगद कार्यक्रममार्फत रोजगारी पाउन लागेका हुन् ।

विपद् जोखिम व्यवस्थापन परियोजना, आर्थिक पुनर्लाभ कार्यक्रमका संयोजक कृष्ण लम्सालले बुधवार पत्रकार सम्मेलन मार्फत कोरानाबाट प्रभावित दुई सयलाई रोजगारी र एकसय ५८ जनालाई ३२ हजार सहयोग गर्न लागिएको जानकारी दिए । यस्तै वीरेन्द्रनगर नगरपालिका १, २, ४ र १४ वडाका दुईसय तीन जनालाई काम गराएर रोजगारीमा आवद्ध गराउन लागिएको छ । यी वडाका नागरिकलाई वीरेन्द्रनगरको १ मा रहेको ल्याण्डफिल्ड जोड्ने सिमलचौर ग्रामीण सडक र खानेपानी आयोजना निर्माणमा उनीहरुलाई रोजगारी दिन लागिएको संयोजक कृष्ण लम्सालले जानकारी दिए ।

उनकाअनुसार वडा नम्बर १, २ र ४ का एकसय ६० जनाले उक्त योजनामा काम पाउनेछन् । १४ नम्बरका ४३ जना नागरिकले भने स्थानीय खानेपानी मुल संरक्षण निर्माणमा रोजगारी पाउने लम्सालको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाले तोकेको ज्याला मापदण्डअनुसार उनीहरुलाई २० दिनको रकम उपलव्ध गराइनेछ । तर उनीहरुले १८ दिन मात्रै काम गर्नु पर्नेछ । रोजगारीमा आवद्ध व्यक्तिहरु छनोट भइसकेकाले केही समयमै काम शुरु गर्न लागिएको लम्सालले बताए । काम सम्पन्न गरेपश्चात उनीहरुको खातामा सिँधै रकम पठाइनेछ ।

युएसएडआडीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाले सहजिकरण गरिरहेको आर्थिक पुनर्लाभ कार्यक्रम अन्र्तगत पाँच वडाका एक सय ५८ घरधुरीका लघु उद्यमीले विना शर्त प्रतिपरिवार ३२ हजार नगद सहयोग गरिएको छ । यो रकम वडा नम्बर १, २ र १४ का ३०÷३० जना, ३ का ३२ जना र ४ का ३६ जना छन् । उनीहरुले पाएको सहयोग रकमबाट खुद्रा पसल, टेलरिङ, व्युटीपार्लर, कृषि क्षेत्रमा खर्च गर्न पाउनेछन् । छनौट भएका व्यक्तिहरुले उनीहरुकै खातामा रकम पठाइसकिएको कार्यक्रम संयोजक लम्सालले जानकारी दिए । कार्यक्रम अन्र्तगत नगरपालिकामा सहायता कक्षसमेत स्थापना गरिएको लम्सालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया