भेरीको किनारमा बन्ने भयो अब आधुनिक दाहसंस्कार स्थल

काम अघि बढाउन सामाजिक अगुवाहरु पुनः सक्रिय, प्राविधिक उपसमिति पनि गठन

सुर्खेत । सुर्खेतमा रत्नराजमार्ग अन्तर्गत भेरी नदीको पुल नजिकै किनारमा अब आधुनिक दाहसंस्कार स्थल निर्माण गरिने भएको छ । समझिघाटमा आधुनिक दाहसंस्कार स्थल निर्माणका लागि सुर्खेतका समाजसेवीहरुले पुनः अग्रसरता देखाएका हुन्  । झण्डै दुई वर्षदेखि स्थगित भएको दाहसंस्कार स्थल निर्माणका लागि गठिन समिति पुनः सक्रिय बनेको हो ।

समितिले आधुनिक दाहासंस्कार स्थल निर्माणका लागि डीपीआर तयार गर्न प्राविधिक उपसमिति समिति गठन गरेको छ । वरिष्ठ इन्जिनियर ओमदत्त रेग्मीको संयोजकतत्वमा शेरबहादुर खड्का र हरि केसीसहितको तीन सदस्यीय प्राविधिक समिति गठन गरिएको हो ।

समितिले १५ दिनभित्र डीपीआरको विस्तृत योजना तयार गर्ने छ । प्राविधिक समितिले तयार पारेको योजना अनुसार वीरेन्द्रनगर नगरपालिले डीपीआर निर्माण गर्ने ‘भेरी मौक्षघाट धाम व्यवस्थापन समिति’ का महासचिव सिताराम कार्कीले जानकारी दिए ।

अब समझीघाटमा एउटा विद्युतीय शव दाहसंस्कार गृह तयार हुनेछ । जहाँ विद्युतबाट शव जलाइने छ । यस्तै अन्य चारवटा आधुनिक (दाउराबाट दाहसंस्कार गर्न मिल्ने) शव दाहसंस्कार स्थल निर्माण गरिने छ । वातावरण प्रदुषण न्यूनिकरण र दाहसंस्कार स्थललाई आधुनिकीकरण गर्नका लागि यो काम अगाडि बढाउन लागिएको हो ।

विद्युतीय शव दाहसंस्कार स्थल निर्माण गरिएको खण्डमा वातावरणीय प्रदुषण न्यूनिकरण हुने र दाउरा खोज्नुपर्ने बाध्यता हट्ने समाजसेवी गेहेन्द्रप्रसाद दहाल बताउँछन् ।

आधुनिक दाहसंस्कार स्थलले छिटो र छरितो तवरले दाहसंस्कार गर्न सकिने र विद्युतीय शवगृहका कारण वन विनाश रोकिने अपेक्षा छ । आधुनिक समझीघाट निर्माणका लागि समितिले २०७५ असोज ९ गतेदेखि १६ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा ‘समझीघाट साँस्कृतिक धार्मिक महामहोत्सव’ आयोजना गरेको थियो । महोत्सवबाट खर्च कटाएर पाँच लाख ६० लाख हजार रुपैयाँ नगद रकम संकलन भएको थियो ।

महोत्सवमा झण्डै ८० लाख रकम कबुल गरिएको थियो । वीरेन्द्रनगर–११ मा पर्ने भेरी किनारमा विगतदेखि नै वीरेन्द्रनगर, लेककेशी र भेरीगंगाका स्थानीयले शव दाहसंस्कार गर्दै आएका छन् । भेरी किनार अधिकांश नागरिकको पाएकपर्ने स्थान भएका कारण दाहसंस्कार स्थललाई आधुनिक बनाउने योजना अघि सारिएको हो ।

शव दाहसंस्कार स्थल निर्माणका लागि स्थानीय नागरिक, कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर, लेकबेशी र भेरीगंगा नगरपालिकाले लगानी गर्नेछन् । धार्मिक पर्यटकीय स्थल निर्माणका गर्ने उद्देश्यले स्मार्ट समझीघाट निर्माण गर्न लागिएको हो ।

आधुनिक दाहसंस्कार स्थल निर्माणका लागि विगत तीन वर्षदेखि जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, कर्णबहादुर सिंजाली, सिताराम कार्की, लिलाराम सुवेदी, नारायण कोइराला लगायतका समाजसेवीहरुले अग्रसरता देखाएका छन् ।

कबुल गरिएको ८० लाख रुपैयाँ उठ्न बाँकी

आधुनिक दाहसंस्कार स्थल निर्माणका लागि कबुल गरिएको झण्डै ८० लाख रुपैयाँ उठ्न बाँकी रहेको छ । भेरी मौक्षघाट धाम व्यवस्थापन समितिका अनुसार कर्णाली प्रदेश सरकारले मात्रै कबुल गरेको २० लाख रुपैयाँ उठ्न बाँकी छ ।

कर्णाली प्रदेश सरकार, स्थानीय सरकार, जनप्रतिनिधि, सामाजिक अगुवा र स्थानीयले नगद र जिन्सी गरेर कबोल गरेको झण्डै ८० लाख रुपैयाँ उठ्न बाँकी रहेको हो । निर्माण कार्य सुरु भएपछि रकम उठ्ने समितिको अपेक्षा छ ।

दाहसंस्कार स्थल निर्माणका लागि समितिले ०७५ असोज ९ गतेदेखि १६ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा ‘भेरीगंगा समझीघाट साँस्कृतिक धार्मिक महामहोत्सव’ लगाएको थियो । तत्काल आधुनिक स्मार्ट दाहसंस्कार स्थल निर्माण गर्ने योजना भए पनि संस्था दर्ताको प्रक्रिया र कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेको थिएन ।

यस्तो बन्नेछ दाहसंस्कार स्थल

वीरेन्द्रनगर–११ को भेरी किनारलाई पुस्तौदेखि वीरेन्द्रनगर, लेककेशी र भेरीगंगाका स्थानीयले शव दाहसंस्कार गर्ने स्थलका रुपमा प्रयोग गर्र्दै आएका छन् । सबैको पायक पर्ने स्थान र यातायातको सहज सुविधा भएका कारण अधिकांशले भेरी किनारमै शवको दाहसंस्कार गर्दै औका छन् ।

तर वीरेन्द्रनगरको जनसंख्या बृद्धि भएसँगै भेरी किनारमा दाहसंस्कार स्थलको व्यवस्थापन अभाव खट्कीएको छ । हिजोआज भेरी किनारमा आधुनिक दाहसंस्कार स्थलको अभाव छ । दाहसंस्कारका लागि पर्याप्त दाउरा नपाउने र यसले वन पनि विनास हुने समस्या छ । कतिपयले दाउरा किन्नसमेत नसक्ने अवस्था छ ।

कतिपयले दाउरा बिक्रीकै लागि बन फडानी समेन गर्दै आएका छन् । यही समस्यालाई मध्यनगर गर्दै सुर्खेतका समाजेसवीहरुले आधुनिक दाहसंस्कार स्थल निर्माण थालेका हुन् । समितिको परिकल्पना अनुसार दाहसंस्कार स्थललाई धार्मिक पर्यटकीय स्थलका रुपमा पनि विकाश गरिने छ ।

समितिका महासचिव कार्कीका अनुसार आधुनिक स्मार्ट दाहसंस्कार स्थलमा पाँच वटा शव दाहसंस्कार गृह निर्माण गरिने छ । जसमा एउटा विद्युतीय र चारवटा आधुनिक दाहसंस्कार गृह निर्माण हुनेछन् ।
दाहसंस्कार स्थलमै नेपालकै ठूलो शिवलिंङसमेत राखिने छ ।

आधुनिक श्रद्धाञ्जली स्थल, पृतिशाला (क्रियापुत्री बस्ने भवन) मन्दिर, धर्मशाला, धार्मिक तपोवन, गौशाला लगायतका पूर्वाधारहरु निर्माण परिकल्पना गरिएको छ । पृतिशालामा बाहिर जिल्लाबाट आएका तर आफन्तको मृत्युपछि गरिने धार्मिक संस्कार पुरा गर्नका लागि क्रियापुत्रीहरु बस्नेछन् ।

तपाईको प्रतिक्रिया