भारतमा प्रसाद झैं बाँडिदैछ अक्सिजन, अवस्था झन्‌ खराब

एजेन्सी । भारत सरकारले कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन पञ्चामृत झैं बाँडेको त्यहाँका चिकित्सकहरूले बताएका छन्। संक्रमितको अवस्था खराब हुँदै गइरहँदा अस्पतालहरूले अक्सिजन पठाइदिन तारन्तार आग्रह गरिरहेका छन्।

तर, झट्टै पठाइहाल्ने आश्वासन दिने गरेको सरकारले पूजाको प्रसाद जति पठाउने गरेको र सो परिमाण देखाउनका लागि मात्रै हुने गरेको चिकित्सकहरूले बताएका हुन्। अक्सिजन अभावकै कारण दिल्लीस्थित गंगाराम अस्पतालमा अप्रिल २३ तारिखका दिन २५ संक्रमितको मृत्यु भएको थियो। ६० जना संक्रमित गम्भीर अवस्थामा पुगेका थिए।

अन्य रातहरूमा झैं सो रात पनि अस्पतालका प्रमुख ७२ वर्षीय डा. डीएस राणाले सरकारी अधिकारीहरूसँग अक्सिजन पठाउन अनुनय विनय गर्दै थिए। तर, ‘अब पठाइहाल्छौँ’ भन्ने एकोहोरो जवाफमात्रै पाएको राणाले बताए।

गंगाराम अस्पतालको आइसीयूमा त्यतिबेला गम्भीर अवस्थाका ३० भन्दा धेरै बिरामीहरू भेन्टिलेटरमा थिए। राणाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘८/१० वर्ष पुरानो भेन्टिलेटरलाई अक्सिजनको जति दबाब चाहिन्छ, त्यो थिएन। हामीले आफ्नै तरिकाले अक्सिजन दिइरहेका थियौं, अक्सिजन अभावकै कारण १३ घण्टासम्म यस्तो गर्नुपर्‍यो।’

दिल्लीका गंगाराम, बत्रा, सरोज, मूलचन्द र पेन्टामेड लगायत अधिकांश अस्पतालमा अहिले पनि यही स्थिति छ। भारतका कयौं स्थानमा अक्सिजन अभावका कारण अन्य समस्यासँग जुधिरहेका र कोरोना संक्रमित गम्भीर अवस्थाका बिरामीहरूको ज्यान गइरहेको छ। अक्सिजन सिलिण्डरको कालोबजारी भइरहेको छ।
विद्युतीय सामाजिक सञ्जालमा मानिसहरूले रुँदै र चिच्याउँदै अक्सिजन मागिरहेका छन्। यस्तो दृश्यले नै भारतमा यतिखेर सार्वजनिक स्वास्थ्य प्रणाली कति धराशायी भएको छ भन्ने थाहा लाग्छ।

आधिकारिक भनिएको आंकडा हेर्दा भारतमा कोरोना संक्रमणपछि ज्यान गुमाएकाको संख्या २ लाख नजिक पुग्दैछ। गंगाराम अस्पतालका प्रमुख डा. राणाका अनुसार पुराना भेन्टिलेटर भएका अस्पतालमा कम्तिमा ३ हजार क्यूबिक मिटर अक्सिजन रिजर्भ हुनुपर्छ, तर, अहिले अभाव हुँदा बिरामी जोगाउन सकस परिरहेको छ।

अहिले अस्पताललाई ६४ वटा रिफिल सिलिण्डर दिइएको छ। तर, कोरोना संक्रमित बिरामीलाई कोभिड इमर्जेन्सीबाट आइसीयू वार्डमा लैजाँदा यी सिलिण्डरको प्रयोग हुन्छ।
अस्पताललाई तत्काल पर्याप्त मात्रामा अक्सिजन उपलब्ध नगराए एकसाथ हजारौं बिरामीको ज्यान जानसक्ने स्थिति रहेको चिकित्सकहरू बताउँछन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *