सुर्खेत : कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रथम अर्गानिक कृषि सम्मेलनको आयोजना गरेको छ । अर्गानिक कृषि प्रविधिहरुको अवलम्वन, अवसर, चुनौति, नीति तथा भावी कार्यदिशामा छलफल गर्ने उदेश्यले मन्त्रालयले सम्मेलनको आयोजना
गरेको हो ।
सम्मेलनको पहिलो दिनमा कर्णालीको पृष्ठभूमि, कृषि तथा नीतिहरू कर्णाली प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, भारतका कृषि, पर्यावरणीयका लेखक, सम्पादक तथा अभियान्ता भरत मन्सता, सुकदेव सिंह र मणिराम पुनिया, नेपालका अर्गानिक विज्ञ छवि पौडेल, लिवर्डका पीताम्बर श्रेष्ठ, मन्त्रालयका अधिकृत धनबहादुर कठायत, प्रकृति मानवकेन्द्रित जनअभियानका प्रतिनिधि माया गौतम केसी र विन्दुराज सापकोटाले आफनो अनुभव तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आज भारतका अर्गानिक अभियन्ता तथा विज्ञ घनश्याम डेमोक्रेट, नेपालका अभियन्ता तथा विज्ञ उद्धव अधिकारी, डिलाराम भण्डारी, डा.भानु पोखरेल, कृषि तथा वन विश्वविद्यालयका प्रतिनिधि, विज्ञ रामकृष्ण श्रेष्ठ, अर्गानिक विज्ञ डाक्टर कृष्ण पौडेलले कार्यपत्र प्रस्तुत गर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिए ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, पुर्व गृहमन्त्री जनार्दन शर्मा, २ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, राष्ट्रिय सभा सदस्य विमला राई पौडेल, कर्णाली प्रदेशका मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका पदाधिकारी, कृषकहरु, विभिन्न विज्ञहरु लगायतको सहभागिता छ ।
युग संवाददाता । । ८ फाल्गुन २०७६, बिहीबार ११:५४