क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक वानडे सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको जनाएको हो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग आगामी महिने हुने त्रिकोणात्मक वानडे अन्तर्राष्ट्रिय सिरिजको तयारीका २० खेलाडीलाई क्यानले बन्द प्रशिक्षणमा बनाएको हो।
तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आइसकेका छन्। उनी गत सोमबार काठमाडौं आइपुगेका हुन् । नेपालमा कोरोना नियन्त्रणका लागि लकडाउनले गर्दा क्रिकेट गतिविधि ठप्प भएपछि ह्वाटमोर श्रीलंका फर्किएका थिए ।
आइसिसी र नेपाल क्रिकेट संघले (क्यान) अधिकारिक सिरिज कहिलेबाट सुरु हुने भन्ने विषयमा घोषणा गरिसकेको छैन। तर, विश्वकप लिग–२ अन्तर्गतको आगामी सिरिज जुलाई २० वा २२ तारिखदेखि स्पेनमा सुरु हुने जनाइएको छ। सोही अनुरूपको क्यानले तयारी थालेको छ ।
यो सिरिज स्कटल्याण्डको घरेलु मैदानमा आयोजना हुने तय थियो। तर, स्कटल्याण्डले कोरोना महामारीका कारण गर्न नसकिने जनाएपछि स्पेनमा हुन लागेको हो। स्पेनमा नवनिर्मित एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा म्याचहरु आयोजना हुने सम्भावना बलियो रहेको छ।
२० खेलाडीलाई क्याम्पमा बोलाइएको हो। त्यसबाट १५ खेलाडीलाई समेट्दै त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा गरिनेछ ।आइसिसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरीसम्म चल्ने छ। सन् २०१९ देखि सुरु भएको विश्वकप लिग–२ सिरिजअन्तर्गत नेपालले हालसम्म एउटा सिरिज मात्र खेलेको छ। नेपालले २०२० मा ओमान र अमेरिकासँग सिरिज खेलेको थियो।
सो त्रिकोणात्मक सिरिजमा नेपालले ओमानसँग हार्दा अमेरिकासँगको दुवै खेलमा भने जित हासिल गरेको थियो। नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ। विश्वकप लिग–२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरू खेल्न बाँकी रहेको छ।
विश्वकप लिग–२ अंकतालिकाको शीर्ष–३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ। शीर्ष–३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्लेअफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।